काठमाडौँ । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ सुरु हुनासाथ अधिवक्ता उभिएर बहस गर्ने ठाउँ (पोडियम) को दायाँपट्टि बसेर बहस सुनिरहने महान्यायाधिवक्ता अग्नि खरेल बिहीबार चिया ब्रेकपछि एकाएक हराए । चिया ब्रेकपछि जारी भएको सुनुवाइमा न्यायाधीश अनिलकुमार सिन्हाले ‘खोइ महान्यायाधिवक्ताज्यू रु’ भनेर सोध्दा उनी त्यहाँ थिएनन् ।
उनको साटो नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेय उभिएर उपस्थिति जनाए । महान्यायाधिवक्ता सुनुवाइ छाडेर हिँड्नुअघि सर्वोच्च अदालतमा बहसका दौरान अधिवक्ता टीकाराम भट्टराईले ‘प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशित भएको खोइ ?’ भनी प्रश्न गरेका थिए ।प्रतिनिधिसभा विघटन भएको महिना दिनभन्दा बढी समय बित्दासमेत सरकारले राजपत्रमा त्यसको सूचना निकाल्न सम्भवतः ‘भुलेको’ थियो । इजलासमा एकाएक यो प्रश्न उठेपछि चिया समयमा उठेर आफ्नो कार्यालय गएका महान्यायाधिवक्ता खरेल फेरि संवैधानिक इजलासमा फर्केनन् ।
‘जर्साब (महान्यायाधिवक्ता अर्थात् अटर्नी जनरललाई सरकारी वकिलहरू जर्साब भन्छन्) चिया समयमा आउनुभयो, त्यसलगत्तै राजपत्रबारे सोधखोज गरेर कानुन समूहका सचिव धनराज ज्ञवालीलाई डाक्नुभएको थियो,’ महान्यायाधिवक्ता कार्यालय स्रोतले भन्यो, ‘तुरुन्तै सचिवज्यू आउनुभयो र हतारमा फर्किनुभयो ।’ सचिव ज्ञवाली अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत छन् ।
प्रतिनिधिसभा विघटन भएको सूचना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कानुन मन्त्रालय हुँदै मुद्रण विभागमा पठाएर राजपत्रमा सूचना प्रकाशन गर्नुपर्ने हो । यसअघि प्रतिनिधिसभा विघटनका सूचना राजपत्रमा प्रकाशित हुन्थे तर पुस ५ गते विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको भनी इजलासमा प्रश्न उठेपछि सरकारी निकायहरूमा खैलाबैला मच्चिएको हो । सचिव ज्ञवालीले त्यो विषय आफूहरूसँग नभई राष्ट्रपति कार्यालयको सरोकारको विषय रहेको बताए । उनले भने, ‘आइसकेको होला, मुद्रण विभागको वेबसाइट हेर्नु न ।’ मुद्रण विभागको वेबसाइटमा हालसम्म प्रकाशित सबै राजपत्रहरूको अभिलेख छ, जहाँ बिहीबार राति अबेरसम्म पुस ५ को प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्र भने थिएन किनभने त्यो प्रकाशन नै गरिएको छैन ।
सचिव ज्ञवालीले बिहीबार आफूले महान्यायाधिवक्तासँग भेटघाट नगरेको दाबी गरे । तर जानकार स्रोतहरूले बताएअनुसार, उनले महान्यायाधिवक्ता खरेलसँगको बैठकलगत्तै प्रधानमन्त्री कार्यालय फर्केर बैठक डाकी राजपत्रमा निकाल्ने सूचनाको मस्यौदा गर्न लगाएका थिए । त्यसलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट कानुन मन्त्रालय हुँदै त्यो सूचना राष्ट्रपति कार्यालय पुर्याउनुपर्छ । अनि राष्ट्रपति कार्यालयले फिर्ता पठाएर मुद्रण विभागमार्फत राजपत्रमा विघटनको सूचना प्रकाशन गर्ने गरी तयारी भइरहेको छ ।
सामान्यतया हरेक सोमबार राजपत्र प्रकाशित हुन्छ । अरू दिन प्रकाशन गर्नुपरे अतिरिक्तांक छापिन्छ । २४ घण्टाभित्र त्यस्तो अतिरिक्तांक प्रकाशित नभए मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराई प्रकाशन गराउने प्रचलन छ । ‘बिहीबार रातभरमा सबै काम सकिन्छ,’ स्रोतले भन्यो, ‘शुक्रबार बिहान इजलासमा राजपत्रको प्रिन्टकपी बुझाउने गरी तयारी भइरहेको छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
चारवटा अध्यादेश राजपत्रमा प्रकाशित
थप दुई हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित
२०८१ का बिदाको सूची राजपत्रमा प्रकाशित