काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा प्रचण्ड–माधव समूहले बहुमतको नाममा आफ्नो निजी स्वार्थका लागि पार्टीको विधि, विधान र सहमतीय संस्कारविपरीत गएकाले प्रधानमन्त्रीसँग संसद् विघटन गरी जनतामा जानुको विकल्प नभएको बताउनुभएको छ ।
लमजुङको मध्यनेपाल नगरपालिका–६ भोर्लेटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मध्यनेपाल नगर कमिटिद्वारा आज आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले पार्टीको अन्तरिम विधानमा सहमतिका साथ अघि बढ्ने भने पनि बहुमतका नाममा ओलीलाई प्रधानमन्त्री पदबाट हटाएर मुलुकमा सरकारविहीन बनाउँदै अराजकतातर्फ धकेल्ने खेल खेलेपछि प्रधानमन्त्रीसँग जनतामा जानुको विकल्प नभएको स्पष्ट पार्नुभयो ।
मुख्यमन्त्री गुरुङले भन्नुभयो, “अर्को प्रधानमन्त्री बनाउन सक्ने वातावरण थिएन । मुलुक सङ्कटमा जान्थ्यो । यस्तो अवस्थमा प्रधानमन्त्रीसँग जनतामा जानुको विकल्प थिएन ।” उहाँले सरकारलाई काम गर्न नदिने र प्रधानमन्त्रीलाई थाहै नदिई अविश्वासको प्रस्ताव दर्ता गर्न खोजेपछि प्रधानमन्त्रीसँग संसद् विघटनको विकल्प नभएको स्पष्ट पार्नुभयो ।
मुख्यमन्त्री गुरुङले भन्नुभयो, “सुखी नेपाली र समृद्ध नेपाल’को यात्रामा जबर्जस्त अवरोध सिर्जना गरेको कारण अहिलेको अवस्था आएको हो ।” नेकपाका स्थायी कमिटीका सदस्य तथा प्रदेश इञ्चार्जसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले सरकारले घोषणा गरेको मध्यावधि चुनावको लागि सबै एकजुट भएर अघि बढ्ने बेला प्रचण्ड–नेपाल समूहले निर्वाचनमा जान डराइरहेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, “हिम्मत भए चुनावमा आएर निर्वाचन जितेर प्रधानमन्त्री चलाउनुस् ।” “सहमति र पार्टी एकताका लागि आगामी फागुनमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने गृहकार्य भइरहेको थियो”, मुख्यमन्त्री गुरुङले भन्नुभयो, “सरकार बनेको फागनुमा तीन वर्ष पुग्थ्यो । पार्टीमा ६०÷४० झैँ सरकारमा पनि त्यही आधारमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुरा थियो तर त्यो पनि उहाँहरुले मान्नु भएन ।”
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०७ माघ २०७७, २१ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रमुख दलहरुको सहमतिमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ
आइटी उद्योगमार्फत रोजगार सिजर्ना गर्न सकिन्छः सञ्चारमन्त्री गुरुङ
एमाले यही पाराले चले ८४ ले हावा खान्छ : पृथ्वीसुब्बा गुरुङ
पर्यटन क्षेत्रको विकासबाट मुलुकलाई समृद्धितर्फ उन्मुख गर्न सकिने
डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा : सञ्चारमन्त्री गुरुङ
मानवता नै सर्वोच्च धर्म हो : सञ्चारमन्त्री गुरुङ