तराईमा शुरु भयो शितलहरको कहर

पत्रपत्रिकाबाट

सोमबार, ०५ माघ २०७७, ०७ : ४५
तराईमा शुरु भयो शितलहरको कहर

जनकपुर । तापक्रम घट्दै जाँदा प्रदेश २ मा शीतलहरको कहर सुरु भएको छ । लुगलुग कमाउने ठन्डीले जनजीवन प्रभावित बनेको छ । सहरी क्षेत्रमा मानिसको चहलपहल पातलिएको छ भने दाउरा, काठ र पराल बालेर चोकचोकमा आगो ताप्ने क्रम बढेको छ ।

प्रदेश २ प्रहरी कार्यालय जनकपुरका अनुसार पुसयता शीतलहरले ४ जनाको मृत्यु भएको छ । सिरहामा ५ दिनयता मात्रै ३ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ८ वर्षीय बालक पनि छन् । प्रदेश प्रहरी कार्यालयका एसएसपी मसरुद आलम खानले सिरहामा ३ जना र सर्लाहीमा १ जनाको मृत्यु भइसकेको पुष्टि गरे ।

पुस ५ गते सर्लाहीको हरिपूर्वा–४ का ५४ वर्षीय रोजाइ शेखको ठन्डीकै कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सिरहा प्रहरीका अनुसार कर्जन्हा–३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो, बरियारपट्टी–१ का ८५ वर्षीया प्रयागीदेवी साह र मिर्चैया–७ मोरहाका ८ वर्षीय बालक जाविर राइनको मृत्यु भएको छ ।

प्रदेश २ का मुख्य सहरहरूको तापक्रम लगातार ओरालो लागेको छ । जनकपुर, वीरगन्ज, राजविराज, कलैया, मलंगवा र जितपुर सिमरामा अत्यधिक चिसो भएको छ । जनकपुरको मुख्य चोकहरूमा दाउरा बालेर आगो ताप्ने र न्यानो खाना उपलब्ध गराउने अभियान थालिएको छ । धनुषाको ग्रामीण क्षेत्र र विपन्न बस्तीमा शीतलहरको कहरले झन् सताएको छ । ‘ग्रामीण र विपन्न बस्तीमा तीनै तहका सरकारले न्यानो लुगा, खानेकुरा र दाउराको प्रबन्ध मिलाउनुपर्छ,’ जनकपुरका सामाजिक अभियन्ता अमरचन्द्र अनिलले भने ।

दुई महिनायता घुर ताप्ने क्रममा जलेका २ महिलाको जनकपुर प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रका अनुसार धनुषा विदेह–१ की ६५ वर्षीया रिझनी पासवान र महोत्तरीको जलेश्वर–५ की ८४ वर्षीया भुलो देवीको मृत्यु भएको हो । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस