काठमाडौं । जिल्ला प्रशासन कार्यालय झापामा नयाँ नागरिकता र नागरिकताको प्रतिलिपि लिनेको दैनिक भीड हुने गरेको छ ।
भीड बढेसँगै काममा ढिलासुस्ती हुँदा सेवाग्राही आक्रोशितसमेत हुने गरेका छन् । गाउँगाउँमै परिचयपत्रको विवरण सङ्कलन गर्न टोली गएपछि अन्य जिल्लाबाट बसाइँ सरेर आउनेहरुले नागरिकता आद्यावधिक गर्ने, प्रतिलिपि निकाल्ने र नयाँ नागरिकता बनाउनेको समेत चाप बढेको कारण भीड बढेको हो ।
दैनिक सात सयदेखि आठ सय जनालाई नागरिकताको प्रतिलिपि र नयाँ नागरिकता पनि सोहीको हाराहारीमा वितरण भइरहेका कारण भीडभाड बढेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शाहीले बताउनुभयो । उहाँका अनुसार वंशजका आधारमा चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा छ हजार ३३७ जनाले नयाँ नागरिकता, वैवाहिक अङ्गीकृत लिने ५१ र प्रतिलिपि लिनेमा चार हजार ६६२ जना रहेका छन् ।
उहाँले अन्य जिल्लाबाट बसाइँ सरी आएकाहरुले अनिवार्य जिप्रका झापामा नागरिकता आद्यावधिक गराउनुपर्ने र कतिपयको नागरिकता पुरानो र नबुझिने हुँदा प्रतिलिपि लिनुपर्ने भएको कारण कार्यालयमा भीड बढ्नु र ढिलो हुनु स्वाभाविक भएको बताउनुभयो ।
“परिचयपत्रका लागि नागरिकता अनिवार्य छ”, सहायक प्रजिअ शाहीले भन्नुभयो, “तीन महिनासम्म कोडिभ–१९ का कारण प्रतिलिपि र नयाँ नागरिकता वितरण गर्न सकिएन । जसका कारण असर अहिले परेको छ । सकेसम्म व्यवस्थित र चाँडो दिने वातावरण बनाउन पहल गरिरहेका छौँ ।” जिल्लामा परिचयपत्रको विवरण सङ्कलन गर्ने कार्य अन्तिम चरणमा पुगिसकेको छ ।
अन्य जिल्लामा बनाएको नागरिकताको विवरण मगाउनु पर्ने, अभिलेखीकरण धेरै पुरानो हुँदा खोज्न समय लाग्ने हुँदा प्रतिलिपि वितरणमा केही ढिलो हुने गरेको उहाँको भनाइ छ । उहाँले एकजना व्यक्तिको नागरिकता बनाउन या प्रतिलिपि लिनका चारजनाभन्दा बढी व्यक्ति आउने हुँदा पनि प्रशासनमा भीड बढेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०३ माघ २०७७, १८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफलको प्रस्ताव स्वीकृत
मोरङमा भोलिदेखि अनलाइनमार्फत नागरिकताको सिफारिस
काठमाडौंमा पनि नागरिकताको अनलाइन सिफारिस सेवा
अनलाइनबाट नागरिकता सिफारिस
जुम्लामा अनलाइनबाटै नागरिकता सिफारिस
संविधान र कानुन बमोजिम नागरिकता प्राप्तिमा सहजता बनाउँछौ: गृहमन्त्री लेखक