सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्षबाट बाहिर निस्केको मकुना हात्तीले फेरि अर्का स्थानीय बासिन्दाको ज्यान लिएको छ । मकुनाले कोशी गाउँपालिका–५ श्रीपुर बस्ने २७ वर्षीय मोतीलाल कामतको सोमबार साँझतिर ज्यान लिएपनि शव भने मंगलबार बिहान सोही गाउँपालिकाको वडा ४ कोशीकटान क्षेत्रमा फेला परेका थियो ।
यसअघि मकुनाले आरक्ष आसपासको मध्यवर्ती क्षेत्रमा चारवर्षको अवधिमा एक्लैले १८ जनाको ज्यान लिएको र पछिल्लो समयमा गत मंसिर २९ गते बिहान सोही गाउँपालिकाको श्रीपुर बस्ने २८ वर्षीय प्रमोद यादवको ज्यान लिएको थियो । स्थानीय बासिन्दा र पीडित परिवारको दबाबपछि आरक्षको अनुरोधमा मकुनालाई नियन्त्रण गर्न राष्ट्रिय प्राकृतिक संरक्षण कोषबाट वन्यजन्तु चिकित्सक र वन्यजन्तु प्राविधिक आएर व्यवहार अध्ययन गर्दै उपचार गरिरहेका थिए ।
करिब २५ वर्ष उमेरको मकुना हिंस्रक र आक्रमक हुनुमा यौन ‘माद’ (हर्मोन) को मुख्य भूमिका रहेको निष्कर्ष निकाल्दै डार्ट विधि अपनाएर उपचार भइरहेको थियो । करिब दुईसातासम्म लगातार डार्ट विधिबाट पर्फेनाजिन र जोलाजिन औषधि दिइएको थियो । उक्त औषधिले हात्तीको शरीरमा माद उत्पादनमा कमी ल्याउने र शान्त पार्ने कोषका चिकित्सक डा. अमिर सडौलाले बताएका थिए । उनले मकुना शान्त हुन थालेको र नियन्त्रण उन्मुख रहेको बताएका थिए ।
तर उपचाररत अवस्थामै दिउँसै बाहिर निस्केर कामतको ज्यान लिएपछि स्थानीय बासिन्दाहरु आन्दोलित भएका छन् । उपचार पद्धति प्रभावकारी नभएको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले बताए । उनले भने, ‘मकुनाले यो पछिल्लो पटकको सहित २० जनाको ज्यान लिएको छ भने उपचाररत अवस्थामै रहँदा पनि दैनिक बस्तीमा छिरेर डेढ दर्जन बढीको घर भत्काइदिएको छ । यसर्थ हाल भइरहेको मकुनाको उपचार पद्धति प्रभावकारी देखिएन । अरु नै उपाय अवलम्बन गर्नुको विकल्प छैन ।’
स्थानीय जनप्रतिनिधि, पिडित परिवार र सरोकारवालाहरुले मकुना लगायत जंगली हात्तीको आतंकबाट दीर्घकालिन मुक्ति चाहेको बताएका छन् । यसै विषयलाई लिएर सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेल, पीडित परिवार, जनप्रतिनिधि र आरक्ष प्रशासनबीच वार्ता चलिरहेको छ । मकुनालाई के गर्ने भन्ने विषयमा मंगलबार दिउँसोदेखि आरक्ष कार्यालयभित्र सहमतिको प्रयास जारी रहेको प्रजिअ पोखरेलले बताए । हात्ती पीडित स्थानीयबासीहरुले मृतकको शव राजमार्गमा राखेर प्रर्दशन गरेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १५ पुस २०७७, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आठ महिनामा एक हजार २५५ युवाले विदेशी भूमिमा ज्यान गुमाए