काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अविश्वासको प्रस्तावको सामना गर्दै विश्वासको मत लिएर अगाडि बढ्ने बताउनुभएको छ ।
पौडेलले संसदीय प्रणालीमा अविश्वासको प्रस्ताव प्रस्तुत हुनुलाई सामान्यरुपमा लिनुपर्ने भए पनि हाल विकास र समृद्धि नचाहनेको गठजोडबाट आएको प्रस्ताव भएकाले यो घटनाले गम्भीर बनाएको बताउनुभयो ।
रासससँग आज कुराकानी गर्दै पौडेलले सरकारविरुद्ध सरकारमै रहेका मन्त्रीले अभिव्यक्त गरेको धारणाप्रति विरोध जनाउनुभयो । उहाँले सहकर्मी मन्त्रीकै अगुवाइमा आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिनुलाई दुःखद् परिघटनाको रुपमा लिएको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री पौडेलले दर्ता गरिएको अविश्वासको प्रस्तावको सदनमार्फत सानदार खण्डन गरेर विश्वासको मत प्राप्त गर्ने धारणा राख्नुभयो । पौडेलले मन्त्रीले राजीनामा पत्रमा आरोप लगाएजस्तो सरकार सुस्त नभएको दावी गर्नुभयो । मुख्यमन्त्री पौडेलले आफ्नो पक्षमा बहुमत पु¥याउन तयार रहेको बताउनुभयो ।
प्रदेशसभामा आज सरकारविरुद्ध प्रदेशसभा सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रस्तावमा प्रदेश सभाका ४५ जना सदस्यले हस्ताक्षर गरेका छन् । त्यस्तै आजै प्रदेशका तीन मन्त्रीले आफ्नो पदबाट राजीनामा दिएका थिए ।
प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलाल र आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पत्र दर्ता गराउनुभएको थियो । राजीनामा पत्रमा मन्त्रीले मुख्यमन्त्री पौडेलका कारण सरकारको कामकारवाही सुस्त भएको आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १० पुस २०७७, २० : ५७
लेखकबाट थप