धरहरा पुनर्निर्माण : २० औँ तला निर्माणको काम सकियो

सफल खबर संवाददाता

विहीबार, ०९ पुस २०७७, १५ : ५९
धरहरा पुनर्निर्माण : २० औँ तला निर्माणको काम सकियो

काठमार्डौ । २०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको धरहराको २० औं तलाको पुननिर्माणको काम सम्पन्न भएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको २० औं तलाको पुननिर्माण गर्ने काम सम्पन्न भएको बताएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशिल ज्ञवालीले २० औं तलामा बन्ने बारदली बनाउने काम भइराखेको बताए । यही बारदलीबाट सर्वसाधारणले उपत्यका अवलोकन गर्न पाउनेछन् । धरहरा कुल २३ तला रहने पनि ज्ञवालीले बताए ।

यस्तै धरहरा परिसर भित्र एक हजार भन्दा बढी सवारीसाधन पार्किङ गर्न मिल्ने तीन तलाको पार्किङ स्थल निर्माणको काम पनि द्रुत गतिमा भइरहेको सिइओ ज्ञवालीले बताए । त्यसबाहेक टक्सार संग्राहलय, भूकम्प संग्राहलय लगायतको संग्राहलय रहने भवनको निर्माण कार्यपनि तिब्र गतिमा भइराखेको छ ।

जमिन मुनीको दुईतलाबाट लिफ्ट प्रयोग गरी २० औं तलासम्म जान मिल्ने गरी तयार पारिएको ढाँचामा धरहराको पूनर्निर्माण भइरहेको छ । प्राधिकरणका सिइओ ज्ञवालीले यसै आर्थिक वर्ष भित्रैमा काम सम्पन्न गर्ने गरी निर्माण कार्य अगाडि बढेको बताए । आगामी असार मसान्त सम्म मुलभुत कामहरु सम्पन्न गरी सम्बन्धित निकायलाई हस्तान्तरण गरिने ज्ञवालीले बताए ।

प्राधिकरणको समयावधि आगामी वर्षको पुष १० गते सम्म भएकाले आगामी असार मसान्त सम्म सबै क्षेत्रको पुनर्निर्माणको आधारभूत काम सम्पन्न गर्ने र बाँकी काम सम्बन्धित निकायलाई जिम्मा लगाउने बताए । असार मसान्त पछिको समय भने अहिलेसम्म प्राधिकरणले गरेका कामहरुको अडिट गर्न लाग्ने पनि सिइओ ज्ञवालीले बताए ।

धरहराको कुल लागत भ्याट सहित ३ अर्ब ४५ करोड रुपैयाँ छ । धरहराको कूल क्षेत्रफल ४२.२ रोपनी रहेको छ ।

प्रतिक्रिया दिनुहोस