सरकारी गाडीको दुरूपयोग : सचिवहरु रातै प्लेटमा

पत्रपत्रिकाबाट

विहीबार, ०१ चैत्र २०७४, ०७ : ५८
सरकारी गाडीको दुरूपयोग : सचिवहरु रातै प्लेटमा

अधिकांश सचिवले सरकारबाट सुविधास्वरूप पाएको सवारीसाधनको सेतो (सरकारी) नम्बर प्लेट फेरेर रातो (निजी) बनाउन गृह मन्त्रालयमाथि दबाब दिन थालेका छन् ।

परराष्ट्र सचिव शंकरदास वैरागीले आफूले प्रयोग गरिरहेको सरकारी गाडीको रातो प्लेटको समय ६ महिना बढाउन गृहमन्त्री रामबहादुर थापाको सचिवालयको शक्ति प्रयोग गर्दै दबाब दिएका छन् । सचिव वैरागीले गृहमन्त्री थापाको स्वकीय सचिवालयमार्फत छिटोभन्दा छिटो रातो प्लेटको आफ्नो गाडीको म्याद थप्न गृहको आन्तरिक व्यवस्थापन शाखामाथि तीव्र दबाब दिन थालेको गृहले जानकारी दिएको छ । परराष्ट्र सचिव वैरागी सरकारले सुविधास्वरूप दिएको गाडीको नम्बर बा १५ च ७११ नम्बरको रातो प्लेट बनाएर चढिरहेका छन् । नियमअनुसार उनको सरकारी गाडीमा बा २ झ २२७ नम्बरको सेतो प्लेट हुनु पर्नेमा फेरेर रातो प्लेट बनाएर प्रयोग गरिरहेका छन् ।

वैरागीले चढिरहेको गाडीको रातो (निजी) प्लेटको अवधि गत पुसमा सकिएपछि उनले रातो प्लेटको अवधि ६ महिना थप्न माग गर्दै गृहमा गत माघको पहिलो साता नै पत्र पठाएका थिए। गृहले उनको पत्र त्यसै थन्क्याएको थियो । अहिले उनले गृहमन्त्री थापाको सचिवालयमार्फत आन्तरिक व्यवस्थापन शाखामाथि बारम्बार दबाब दिइरहेको गृहस्रोतले बताएको छ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस