चितवनमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सफल खबर संवाददाता

बुधबार, २४ मंसिर २०७७, ०९ : ३३
चितवनमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन । पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका–९ मा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–६ का २२ वर्षीय अब्जल देवान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान साढे ६ बजे लोथरबाट नारायणगढतर्फ आउँदै गरेको लु १ ख ६५८१ नंको तेल बोकेको ट्याङ्करले ना ४१ प ९८६२ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाइते देवानको उपचारका क्रममा भरतपुर अस्पतालमा बिहान सवा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने ट्याङ्कर र चालकको खोजी भइरहेको छ ।