गाडीको ठक्करले एक जनाको मृत्यु भएपछि विराटनगर आईसीपी क्षेत्रमा तनाव

सफल खबर संवाददाता

शुक्रबार, १८ असोज २०८१, १३ : ५७
गाडीको ठक्करले एक जनाको मृत्यु भएपछि विराटनगर आईसीपी क्षेत्रमा तनाव

विराटनगर ।  मालबाहक गाडीको ठक्करले साइकलमा सवार एक जनाको मृत्यु भएपछि विराटनगर – १८ आइसीपी रोडमा तनाव सिर्जना भएको छ । सवारी चलाउने चालकलाई कारवाही र परिवारलाई क्षतिपूर्ती दिनुपर्ने भन्दै मृतकका आफन्तले आन्दोलन सुरु गरेका हुन् ।

उनीहरुले सवारी साधन आवतजावतमा अवरोध गरेका छन् । आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेका छ । भिडलाई नियन्त्रणमा लिन प्रहरीले १० राउन्ड अश्रु ग्यास प्रहार गरेको मोरङ प्रहरीका डीएसपी बेद जोशीले बताए ।

आन्दोलनको भिड आइसिपी क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको उनले बताए ।  बिहीबार बेलुका ६ः४५ बजे आइसीपी जाँदै गरेको ना ४ ख २४८३ नम्बरको ट्रकले सोही दिशा तर्फ गइरहेका साइकलयात्री विराटनगर १८ लवाघाटका ६० वर्षीय श्याम साहलाई ठक्कर दिएर घाईते बनाएको थियो ।

घाइते उनलाई उपचारको लागि बिराट नर्सिङ होम पठाइए पनि चिकित्सकले चेक जाँच गर्ने क्रममा बेलुका साढे सातमा उनलाई मृत घोषणा गरेका थिए । प्रहरीले ट्रक चालक सुनसरीको बर्जु गाउँपालिका ५ का ३० वर्षीय दिपक यादवलाई नियन्त्रणमा लिएको छ । ट्रक र चालकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस