कृष्णसारको आहाराका लागि संरक्षण क्षेत्रभित्रै मौसमी खेती

सफल खबर संवाददाता

शनिबार, १३ पुस २०८१, १५ : ५७
कृष्णसारको आहाराका लागि संरक्षण क्षेत्रभित्रै मौसमी खेती

बर्दिया। कृष्णसारको आहारा सङ्कट टार्न बर्दियाको खैरापुरमा मौसमी खेती थालिएको छ । वन्यजन्तु संरक्षण ऐन, २०२९ले संरक्षित वन्यजन्तुको सूचीमा कृष्णसारलाई सूचीकृत गरेको छ ।

हिउँदमा कृष्णसारको आहारा मासिएपछि कृष्णसार संरक्षण क्षेत्रमा मौसमी खेती गर्नुपरेको कृष्णसार संरक्षण क्षेत्रका संरक्षण अधिकृत भोजराज पन्थले बताए । संरक्षण क्षेत्रभित्रै कृष्णसारको बासस्थान परिसरको आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको छ ।

 

 

 

 

उनले भने, 'पहिलो चरण गरिएको खेतीमा गहुँ, मकै, केराउ, मसुरोलगायत अनाज छरेका छौं । यसले केही दिनलाई कृष्णसारको आहाराको जोहो हुन्छ ।' पहिलोपटक छरेको अनाज कृष्णसारले खाएर सकेपछि पुनः दोस्रो चरणमा छर्ने तयारी कार्यालयको छ । वन्यजन्तु संरक्षण ऐनले सूचीकृत गरेको वन्यजन्तु कृष्णसार प्राकृतिक बासस्थानमा लोप हुने खतरा बढेपछि सरकारले संरक्षण क्षेत्र घोषणा गरी यसको संरक्षण थालनी गरेको हो ।

 

 

 

कृष्णसारको प्राकृतिक बासस्थान खैरापुरमा सिरुलगायत दुबो पनि लगाइएको हो । कृष्णसारले  यस्तो दुबोको टुसा खान मन पराउने बताइएको छ ।  कृष्णसारलाई हिउँदमा आहारा सङ्कट पर्ने गर्छ ।

गुलरिया नगरपालिकाको खैरी पटाहा क्षेत्रको प्राकृतिक वासस्थानमा भाले, पोथी बच्चा गरी दुई सय १७ वटा कृष्णसार रहेको कृष्णसार संरक्षण क्षेत्र कार्यालयको तथ्यांक छ ।​

कृष्णसारको बासस्थान अतिक्रमण, चरीचरण क्षेत्रमा पार्थेनियमलगायत मिचाहा प्रजाति, छाडा पशुको खुला चरीचरण कृष्णसार संरक्षणको प्रमुख चुनौती रहेको संरक्षण अधिकृत पन्थ बताउँछन् । 

यथेष्ट आर्थिक अभावका बीच पनि संरक्षणमा चुनौती रहेको छ । हिउँदमा कृष्णसारको चरीचरण क्षेत्रका आहारा घाँस सुक्ने भएकाले पनि समस्या पर्ने गरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस