प्रधानमन्त्री ओलीको बालहठका कारण नेपाल विद्युत प्राधिकरणमा छि¥र्यो ‘अमेरिकी’ चासो

सफल खबर संवाददाता

मंगलबार, ०२ मंसिर २०७७, १० : ०६
प्रधानमन्त्री ओलीको बालहठका कारण नेपाल विद्युत प्राधिकरणमा छि¥र्यो ‘अमेरिकी’ चासो

काठमाडौं । सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणमा अमेरिकी चासो छिरेको छ । पछिल्लो चार वर्षमा इमान्दार प्रयासका साथ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घाटामा गएको संस्थालाई झण्डै १० अर्ब बराबरको नाफा गराए । यस्तै देशबाट पूर्ण रुपमा लोडसेडिङको अन्त्य गराए । 

अन्य देशमा राम्रो काम गरेकालाई पुनः नियुक्ति दिइन्छ । थप राम्रो काम गर भनेर थप जिम्मेवारी दिइन्छ । तर ओली नेतृत्वको आफूलाई समाजवादी बताउने सरकारले प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः चार वर्ष म्याद थप गरेनन् ।  ओली जस्ता प्रधानमन्त्रीले एउटा सामान्य कर्मचारीलाई आफ्नो स्वार्थको जाँतोमा नराम्ररी पिँधे । विशेष गरी नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई सघाएको, साधन र स्रोत उनैलाई बुझाएको, सरकारलाई नटरेको र सरकारको काममा आफूले सफलता पाएको भन्दै हल्ला गरेको जस्ता आरोप लगाइयो । काम गर्ने इच्छाशक्ति भएका, इमान्दार कर्मचारीलाई पाखा लगाइयो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन पनि दबावमा परेर उनको पुनः नियुक्ति गर्न तयार भएका थिए । नेकपा अध्यक्ष प्रचण्डको आग्रह वा दबाव जे भनेपनि उनी कुलमानलाई पुनः नियुक्तिका लागि तयार थिए । तर, ओलीको बालहठका सामु उनको केही लागेन ।  प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीले गर्ने निर्णय नै मन्त्रिपरिषद्को निर्णय हुने परम्परा छ । ओली कुनै पनि हालतमा कुलमानलाई पुनः नियुक्ति दिने पक्षमा थिएनन् । विशेष गरी विष्णु रिमाल र उनका भान्जा मनोजराज पाण्डेलाई मोटो चन्दा नदिएको रिस थियो । किनकी ताइ न तुईका भिडियोलाई वृत्तचित्र भन्दै प्राधिकरणको पैसा दिनबाट कुलमानले रोकेका थिए । जनताको रगत पसिना काटेर जम्मा भएको पैसामा लुटपाट गराउनबाट कुलमानले रोकेका थिए । 

सोही कारण प्रधानमन्त्री ओली उनको विरोधमा रहे । राम्रो काम गर्ने कुलमानलाई प्राधिकरणबाट निकाल्नुमा नै उनले सफलता ठाने । नागरिक उनको नियुक्तिको पक्षमा थिए । व्यवसायी उनको पक्षमा थिए, तर ओली थिएनन् । विष्णु रिमाल, सूर्य थापाहरु थिएनन् । किनकी कुलमान काम गर्थे, ओलीहरुको चाकडी गर्देनथे । सोही कारण उनी खड्ग ओली र उनका किचन क्याबिनटेको प्रिय भएनन् । पछिल्लो पटक कुलमानलाई नियुक्ति नदिने अवस्था आएपछि सधैंको किचकिच खड्ग ओलीले गरिरहे । कारण प्राधिकरणका वरिष्ठ भनिएका उपकार्यकारी निर्देशकलाई निमित्त नबनाएको तथा कनिष्ठलाई दिएको आदि इत्यादी । 

पछिल्लो पटक ऊर्जा मन्त्री पुनले लाचार भएर प्राधिरकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई निमित्त कार्यकारी निर्देशक बनाए । यस्तै बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले उनलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ । किनकी यो सबै काम ओलीको निर्देशनमा भएको छ । पछिल्ला दिनमा खड्ग ओलीले ऊर्जामन्त्री पुनलाई पनि हटाउन खोजेका छन् । केही समय पहिले कर्णालीको विवादका सम्बान्धमा पनि मन्त्री पुन, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल र खानेपानीमन्त्री बिना मगरलाई हटाउन खोजेका थिए । कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको भए यी तीन जना मन्त्री वर्खास्तमा पर्नुपर्ने थियो । 

केही दिन अघि नै शाक्यलाई कायममुकायम बनाउने कुरा थियो । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले समेत कुलमान नहुने भएपछि लौ न त हुन्छ भनेका थिए । प्रचण्डको समेत साथ पाएपछि ऊर्जा मन्त्री पुनले प्राधिकरण सञ्चालक समितिको बैठक राखेर निर्णय गर्ने प्रयास गरेका थिए । तर प्रचण्डको समेत साथ रहेको भन्ने थाहा पाएपछि खड्ग ओलीले उक्त निर्णय गर्न पनि रोकेका थिए । तर, बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले शाक्यलाई कायममुकायम कार्यकारी निर्देशक तोकेको छ । जुन निर्णय हुनुपर्ने थियो, त्यो भयो । तर, जानकारहरुका अनुसार प्राधिकरणमा घुमाई फिराई अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन छिरेको छ ।

शाक्य तिनै मान्छे हुन्, जो अमेरिकी सहयोग परियोजनाको सबै काम गर्ने मान्छे हुन् । सो परियोजनाको विषयमा सत्तारुढ दलभित्र चर्को विवाद र विमती रहेको छ । आयोजनाको डिजाइन गर्नेदेखि एमसिसीको पक्षमा वकालत  गर्ने काम उनै शाक्यले गरेका थिए । पछिल्लो पटक राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा स्वर्णिम वाग्लेलगायतले कुलमानलाई एमसिसीको बारेमा बोल्न चर्को दबाव दिएका थिए । जतिसुकै दबाव आएपनि एमसिसीको बारेमा कुनै पनि धारणा कुलमानले सार्वजनिक गरेनन् । किनकी उनलाई थाहा थियो, अरिगांलको गोलामा ढुंगा हान्नु हुँदैन । कुलमानले धारणा नराखेपछि जान्ने भएर उनै शाक्य एमसिसीको पक्षमा बोल्न तयार भएका थिए । तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीले मोटो पैसा लिएर शाक्यलाई एमसिसीमा पठाएकी थिइन् ।

कुलमान आएपछि कि त प्राधिकरण छाड, कि त एमसिसी छाड भनेपछि शाक्यले एमसिसी छाडेका थिए । छाडेको भने पनि लुकी छिपी शाक्यले एमसिसीमा काम गरिरहेका थिए । किनकी, प्राधिकरणबाट विदा नै स्वीकृत नगराई उनी २०७५ भदौमा मा एक महिना अमेरिकाको भ्रमणमा गएका थिए । सो कामको सबै जिम्मा एससिसीले नै लिएको थियो ।  कुलमानका कारण प्राधिकरण एमसिसीका सम्बन्धमा कुनै पनि विवादमा नपरेको अवस्थामा अब भने पुनः विवादमा पर्ने देखिएको छ । त्यसो त प्राधिकरण आफैले निर्माण गर्न सक्ने, एकाध अर्ब लागतमा सकिने आयोजनाका लागि मोटो रकम खर्च गर्न खोजिएको छ । कूल ३१२ किलोमिटर प्रसारण लाइनका लागि झण्डै पाँच अर्ब रुपैयाँ मात्रै खर्च लाग्ने ऊर्जा क्षेत्रका जानकारहरु बताउँछन् । तर सो आयोजनाका लागि मात्रै ४५ अर्ब नेपाली रुपैयाँ खर्च गर्न लागिएको छ । 

काम नै नभएका झण्डै सय जना कर्मचारीलाई मासिक तीन लाखदेखि पाँच लाख बराबरको तलब दिएर ज्वाई पाले जस्तै पालिएको छ । सामान्य घर भाडामा लिएर कार्यालय राख्न सकिने भएपनि मासिक दशौं लाख भाडा तिरेर एमसिसीका लागि दरबारमार्गमा रहेको होटल याक एण्ड यतिमा कार्यालय राखिएको छ ।  नर्वेजियन कम्पनी स्टेटक्राफ्टको कर्मचारी रहेका डा खड्गबहादुर विस्टलाई मासिक पाँच लाख बढी तलब भक्ता खुवाइएको छ । त्यसो त प्राधिकरणको जिम्मा पाएका शाक्य खड्ग ओलीको नाता भने पर्दैनन् । उनी इलामका शाक्य हुन् । तर, पूर्व एमाले विशेष गरी खड्ग ओलीका आसेपासेहरुले भने उनको नाता सम्बन्ध ओलीसँग रहेको भन्दै भजाउन थालेका छन् । किनकी प्राधिकरणको नाममा धन्दा चलाउन उक्त प्रचार गराइएको जानकारहरुको भनाइ छ । 

त्यसो त पछिल्ला दिनमा प्राधिकरण पुनः समस्याको जञ्जालमा फसेको छ । अनियमित रुपमा विजुली काटिएको  छ । घुस तथा अनियमितता रोकिएको थियो, विगतमा । अहिले दशैंमा छाडा छाडिएको रागो जस्ता भएका छन् कर्मचारी । मनलाग्दी तवरले घुस लिन थालिएको छ । जसका कारण कुलमान हुँदाको प्राधिकरण र नहुँदाको प्राधिकरण आकाश जमिनको फरक देखिन थालेको श्रोतको दाबी छ । 

पछिल्लो दिनमा मात्रै अख्तियारले प्राधिकरणका कर्मचारीलाई मोटो रकम घुस लिँदै गरेको अवस्थामा पक्राउ गर्न थालेको छ । यसबाट पनि प्राधिकरणभित्र अराजकता बढ्दै गएको देखिन्छ । त्यसो त ऊर्जा मन्त्री पुनले जिम्मा दिएका शाक्य पनि कार्यक्षमता नभएका व्यक्ति हुन् । ढुकुरको जस्तो मुटु भएका भनिएका शाक्यले पनि प्राधिकरणलाई तह लगाउने अवस्था छैन । किनकी उनलाई प्राधिकरण सम्पूर्ण कर्मचारीले मान्ने अवस्था छैन । किनकी उनी आफै परीक्षण भइसकेका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस