काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ नाफा भएको दाबी गरेको छ । सूचनाको हकअन्तर्गत प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार, विद्युत बिक्री, ब्याज तथा अन्य स्रोतबाट ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको हो ।
यस अवधिमा विद्युत खरिद, प्रशासनिक खर्च तथा विभिन्न आयोजना सञ्चालनमा गरी कुल ५९ अर्ब ८ करोड रुपैयाँ खर्च गरिएको छ । सोहीअनुसार, साउनदेखि पुस मसान्तसम्मको अप्रशोधित नाफा (करकट्टी नगरी गणना गरिएको) ११ अर्ब ३६ करोड रुपैयाँ रहेको छ ।
२०७२/७३ मा ८ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको नेपाल विद्युत प्राधिकरण त्यसपछिका वर्षहरूमा निरन्तर नाफामा रहेको प्राधिकरणले दाबी गरेको छ ।
पछिल्लो आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको थियो । आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५० करोड, २०७४/७५ मा ३ अर्ब ४४ करोड, २०७५/७६ मा ९ अर्ब ८१ करोड, २०७६/७७ मा ११ अर्ब ७५ करोड, २०७७/७८ मा ६ अर्ब ९ करोड, २०७८/७९ मा १३ अर्ब ३७ करोड, २०७९/८० मा ९ अर्ब ४१ करोड नाफा गरेको प्राधिकरण चालू आर्थिक वर्षमा पनि उच्च नाफा आर्जन गर्ने अवस्थामा रहेको देखिन्छ ।
प्राधिकरणले गरेको दाबीअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा विद्युत बिक्रीबाट ५३ अर्ब १८ करोड रुपैयाँ आम्दानी भएको छ ।यस अवधिमा प्राधिकरणले सहायक तथा सम्बन्धित कम्पनीहरूबाट १ अर्ब १५ करोड रुपैयाँ बराबरको विद्युत खरिद गरेको छ ।
त्यस्तै, निजी उत्पादक कम्पनीहरूबाट ५ अर्ब १६ करोड रुपैयाँ बराबरको विद्युत खरीद गरिएको छ । विद्युत खरिदका लागि प्राधिकरणले ३४ अर्ब ८४ करोड रुपैयाँ खर्च गरेको छ भने भारतबाट २४ करोड २० लाख युनिट विद्युत आयात गरी १ अर्ब ६५ करोड रुपैयाँ भुक्तानी गरिएको छ ।
भारतलाई विद्युत निर्यातबाट पनि प्राधिकरणले आम्दानी गर्न सफल भएको छ । साउनदेखि पुससम्ममा १ अर्ब ७७ करोड १८ लाख युनिट विद्युत भारत निर्यात गरी १३ अर्ब ९ करोड रुपैयाँ आम्दानी गरिएको छ । निर्यात आम्दानी बढ्दै गएकाले आर्थिक अवस्था थप मजबुत हुने प्राधिकरणको दाबी छ ।
चालू आवको पहिलो ६ महिनामा सरकारले विनियोजन गरेको विकास बजेटअन्तर्गत विभिन्न आयोजनाहरू तथा विद्युतीकरणमा प्राधिकरणले १३ अर्ब ३५ करोड रुपैयाँ खर्च गरेको छ । त्यस्तै, वैदेशिक सहायता अन्तर्गत १० अर्ब ४९ करोड रुपैयाँ विभिन्न आयोजनाहरूमा खर्च भएको छ । भारतलाई निर्यातबाट आम्दानी बढ्दै गएको हुँदा आगामी दिनमा थप सुधार हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ फागुन २०८१, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्युत प्राधिकरणमा खुल्यो १०८३ जनालाई स्थायी रोजगारी
उद्योगमा तत्काल लाइन नकाट्ने प्राधिकरणको निर्णय
उद्योगमा विद्युतको लाइन जोड्ने सरकारको निर्देशनप्रति प्राधिकरणका कर्मचारीको चेतावनी
लेखा समितिमा कुलमानले पठाए २९ पोका प्रमाण
उद्योगहरूको बिजुली जोड्ने प्राधिकरणको तयारी, दुईजनाले राखे फरक मत
प्राधिकरणले थप दुई उद्योगको लाइन काट्यो