-विस्साव शिम्बोस्र्का
प्रत्येक युद्धपछि
कसैले त गर्नुपर्ने हुन्छ सरसफाई
हुन पनि सब आफै नै
ठीक भइहाल्ने त होइन ।
कसैले त हटाउनुपर्ने हुन्छ भग्नावशेष
गर्नुपर्ने हुन्छ सडकहरूलाई सफा
कि बाटो पाउने छ
लासले भरिएका गाडीहरूले ।
कोही त पस्नुपर्ने हुन्छ
हिलोमा र खरानीमा
सोफाहरूको स्प्रिङ्गमा
सिसाको टुक्रामा
रगत लतपतिएका चिथडाहरूमा ।
कसैले त तानेर ल्याउनुपर्ने हुन्छ अडिलो
ढलिरहेको पर्खाललाई सहारा दिनलाई
कसैले त जडान गर्नुपर्ने हुन्छ झ्यालमा सिसा
ढोकाहरू फेरि लगाउनुुपर्ने हुन्छ ।
यी सब यसरी नै चल्ने छन् धेरै वर्षसम्म
खिच्न लायकका तस्बिर पनि छैनन्
अहिले सारा क्यामराहरू गइसकेका छन्
कुनै अर्को युद्धको खोजीमा ।
अब फेरि चाहिने होला हामीलाई
पुल र नयाँ रेलवे स्टेशनहरू
अब फेरि च्यातिन थाल्ने छन्
माथि चढ्दा बाहुलाहरू ।
हातमा झाड बोकेर, याद गर्छ कसैले
कि पहिले सबथोक कस्ता थिए
कोही सुनेर बस्छ, र स्विकार्दै
आफ्नो नकाटिएको टाउको हल्लाउँछ
र वरिपरि उभिएका अन्य मानिसहरू
पहिल्यै नैराश्य बनेका छन् यी सबथोकसित ।
कहिले झाडी मुन्तिरबाट
कसैले खनेर निकाल्छ
खिया लागेका बहसहरू
र मिल्काउँछन् तिनलाई
फोहोरको डुङ्गुरमाथि ।
उनीहरू जसलाई
यहाँ के भइरहेको थाह थियो
उनीहरूले पालो दिनुपर्ने हुन्छ तिनीहरूलाई
जो धेरै थोरै बुझ्छन्
थोरै भन्दा पनि थोरै
यत्ति कि केही नहुनु भन्दा नि थोरै ।
यस हुर्किसकेको घाँसमा
कुनै कारण र मतलबहरूले गर्दा पनि
कोही पल्टेको हुनसक्छ खुट्टा पसारेर
मुखमा घाँसको सिन्को चपाउँदै
बादलहरूलाई नियाल्दै ।
अनुवाद : चन्द्र गुरुङ
(विस्साव शिम्बोस्र्का सन् १९९६ को नोबेल साहित्य पुरस्कारबाट सम्मानित प्रसिद्ध पोलिस कवि हुन् ।)
प्रतिक्रिया दिनुहोस