काठमाडौं । वायु प्रदूषणका कारण सन् २०१९ मा नेपालमा ४२ हजार एक सयजनाको मृत्यु भएको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । वायु प्रदूषणसम्बन्धी बुधबार सार्वजनिक प्रतिवेदन ‘स्टेट अफ ग्लोबल एयर–२०२०’ मा यस्तो तथ्य समावेश गरिएको छ । अध्ययन अनुसार सन् २०१८ मा नेपालमा वायु प्रदूषणका कारण ४१ हजार चार सयजनाको मृत्यु भएको थियो ।
अमेरिकाको इनभाइरोमेन्टल प्रोटेक्सन एजेन्सी र अन्य अन्तर्राष्ट्रिय निकायको सहयोगमा अनुसन्धानमूलक संस्था हेल्थ इफेक्ट्स इन्स्टिच्युटले बर्सेनि यो प्रतिवेदन तयार गर्छ । हावामा हुने अतिसूक्ष्म कण अर्थात् पिएम २।५ प्रदूषण, ओजोन ग्यास प्रदूषण र घरायसी वायु प्रदूषणको समष्टि वायु प्रदूषण मानिन्छ ।
प्रतिवेदनअनुसार हावामा हुने अति सूक्ष्म कण अर्थात् पिएम २।५ प्रदूषणका कारण सन् २०१९ मा १७ हजार नौ सय र ओजोन ग्यास प्रदूषणका कारण ६ हजार ३० जनाको मृत्यु भएको अनुमान गरिएको छ । सन् २०१८ मा पिएम २।५ प्रदूषणका कारण १६ हजार ७ सय र ओजोन ग्यास प्रदूषणका कारण ५ हजार ८ सयजनाको मृत्यु भएको थियो । यसैगरी सन् २०१९ मा घरायसी वायु प्रदूषणका कारण नेपालमा २१ हजार ६ सयजनाको मृत्यु भएकोे प्रतिवेदनमा जनाइएको छ । घरायसी वायु प्रदूषणबाट हुने मृत्युदरमा सन् २०१८ को तुलनामा २०१९ मा केही कमी भएको छ । सन् २०१८ मा घरायसी वायु प्रदूषणका कारण २२ हजार २ सयजनाको मृत्यु भएको अनुमान गरिएको थियो ।
प्रतिवेदनका अनुसार विश्वमा वायु प्रदूषणका कारण बर्सेनि ६७ लाख मानिसको मृत्यु हुने गरेको छ । जसमध्ये दक्षिण एसियाको संख्या २१ लाख छ । वायु प्रदूषण मापन गर्दा प्रतिघनमिटर वायुमा २।५ माइक्रोमिटर तथा सोभन्दा सानो व्यासका अति सूक्ष्म कणलाई पिएम २।५ मा मापन गरिन्छ । यी कण मानिसको कपालको रौंभन्दा ३० गुना साना व्यास भएका हुन्छन् ।
यसैगरी प्रतिवेदनका अनुसार सरदर वार्षिक पिएम २.५ प्रदूषणले प्रभावित हुनेमा नेपाल विश्वमा दोस्रो स्थानमा छ । पिएम २.५ को वार्षिक सरदर अंक ८३ दशमलव १ माइक्रोग्राम प्रतिघनमिटरसहित नेपाल दोस्रो स्थानमा परेको हो । हावामा हुने अति सूक्ष्म कण पिएम २.५ का हिसाबले विश्वमा सबैभन्दा बढी प्रदूषित देश भारत रहेको छ । सन् २०१९ मा विश्वको ९० प्रतिशत जनसंख्या विश्व स्वास्थ संंगठनले तोेकेको पिएम २.५ को मापदण्डभन्दा बढी प्रदूषणमा बाँच्न बाध्य रहेको प्रतिवेदनमा उल्लेख छ । नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०६ कार्तिक २०७७, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वायु प्रदूषण बढेको भन्दै वातावरण विभागले दियो यस्तो सुझाव
वायु प्रदूषणको गम्भीर असर नियन्त्रण गर्न पाकिस्तानमा लकडाउन
दिल्लीका कयौँ क्षेत्रमा खतराको स्तरमा पुग्यो वायु प्रदूषण
दिल्लीमा झन् खराब बन्यो वायु प्रदूषण
वर्षासँगै घट्यो काठमाडौंको प्रदूषण, आज ५० औं स्थानमा
डढेलोका कारण प्रदूषण: बिरामीकाे चाप बढ्दाे