कविता : देश दुखेको दिन

Safal khabar

विहीबार, ०८ असोज २०७७, १६ : २५
कविता : देश दुखेको दिन

– विवेकी

आज असोज ४ गतेको दिन
स्वाभिमानमा दाग लागेको दिन
समग्रमा, 
मेरो अस्मिता भाग लागेको दिन ।

व्यथित मन लिएर
बर्षौंदेखिको त्यो घाउ
चाहेरै पनि पुर्न सक्दिन म
स्वाधीनताको पखेटा नहुनुको बोधसँगै
मनभित्रै उब्जन्छन् हजारौँ प्रश्नहरु
जो बर्षौंदेखि अनुत्तरित छन्
उत्तरका पुलिन्दा बोक्नेहरु
मौनता साँधिरहेछन् एकोहोरो
मानौँ, जिज्ञासारहित बनाउनुको अर्थ
निम्ता दिनु हो सङ्कटलाई ।

यही बेला
सकृय भएका छन्
स्वागतको अँगालोे फैलाएर
पिठ्युँमा छुरा धस्नेहरु
श्रद्धाको शिखर चढेर
आँखाबाट खस्नेहरु 
जसले बनाएका छन्
उज्यालोको सुगन्ध
फिका र रङ्गहीन
जीवनको रङ्ग
बेरङ्ग र कुरुप
सावधानीपूर्वक झेल्नु छ तिनलाई
र किनारा लगाउनु छ विवेकले
खोसिएको खुशी निखन्नलाई ।

जतिजति बिलम्ब हुँदैछ शासकीय क्यालेन्डरमा
स्वाधीनताको स्पन्दन सुन्ने गम्भीरता
सडक छेउछाउ फिँजिदैछ
निर्बन्ध हिँड्ने रहर 
र बढ्दा छन् आहत बनाउने चालहरु
तैपनि डगमगाएका छैनन् पाइलाहरु
दुसाध्य दिनहरुको कठिन यात्रामा
विजयको मोहर लगाउने चाहना ।

म पर्खिरहेछु —
समयचेत फर्केर कहिले बेदाग बन्छ स्वाभिमान ?
जोडिएर सम्पूर्णतामा प्राप्त हुन्छ अस्मिता ?
हेरौँ —
कहिले स्वाधीन भएर बाँच्छन् मान्छेहरु ?
कहिले गर्विला पाइला चाल्छन् शासकहरु ?

लाग्छ, समय अलिकति म भएर बाँचेको छ
अलिकति जगत भएर बाँचेको छ
प्रत्येक दिन
एउटा अमरसिंह थपिने उपक्रम
आज पनि जारी छ
सपना कुल्चँदै
जीवनको मूलबाटोमा । 

आज असोज ४ गतेको दिन
देश दुखेको दिन
संसदबाट महाकाली सन्धि ‘पास’ भएको दिन
सांसदहरु ‘फेल’ भएको दिन ।

प्रतिक्रिया दिनुहोस