कारागार मृत्यु प्रकरण : आफन्तले लगाए हत्या आरोप, अस्पताल र कारागारले यस्तो दियो काउन्टर जवाफ

सफल खबर संवाददाता

बुधबार, ०७ असोज २०७७, १७ : २५
कारागार मृत्यु प्रकरण : आफन्तले लगाए हत्या आरोप, अस्पताल र कारागारले यस्तो दियो काउन्टर जवाफ

काठमाडौँ । केन्द्रीय कारागारमा एक कैदीबन्दीको शनिबार राति शंकास्पद मृत्यु भएपछि आफन्तहरुको विरोध गर्दै हत्याको आरोप लगाएका छन् । मृतक ६३ वर्षीय रामलखन जैसवालको आफन्तले हत्या र अङ्ग झिकिएको आरोप लगाएका छन् । कारागारभित्रै हत्या भएको परिवारको आरोप छ । 

आँखा झिकिएको र शरिरको विभिन्न भागमा चोट रहेको उनकी छोरी रश्मी जैसवालले दावी गरेकी छन् । मंगलबार बिहान उनीहरुले वीर अस्पतालअघि प्रदर्शन पनि गरेका छन्।

‘कोरोना पोजेटिभको रिपोर्ट देखाएर हत्या लुकाउने र अङ्ग झिक्ने काम भएको छ। जेलमा उहाँको हत्या भएको हुनुपर्छ। मेरो बुबाको पोष्टमार्टम गरियोस्’, रश्मीले भनिन् । उनले मृतक जैसवालको शवलाई नजिकैबाटै खिचिएका तस्विर पनि सार्वजनिक गरेकी छिन्।

यता, केन्द्रीय कारागार कार्यालय र वीर अस्पतालले कैदीबन्दी रामलखन जैसवालको मृत्यु शंकास्पद नभएको दावी गरेको छ ।कारागार र अस्पतालले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै असोज ३ गते राति १०ः५५ बजे उपचारको क्रममा ६३ वर्षीय जैसवालको मृत्यु सामान्य ढंगबाटै भएको जिकिर दावी गरेको छ । 

पार्किडसन र उच्च रक्तचापबाट ग्रसित जैसवाललाई अचानक असोज ३ गते राति ९ः४५ बजे श्वास प्रश्वासमा समस्या आएपछि बन्दीगृहभित्रबाट केन्द्रीय कारागार अस्पतालमा पठाइएकोमा त्यहाँबाट उनलाई थप उपचारका लागि वीर अस्पताल पठाइएको विज्ञप्तिमा उल्लेख छ । थप उपचारका लागि उनलाई वीर अस्पताल पुर्‍याइए पनि उनी जीवितै रहेको कुनै संकेत नदेखिएपछि चिकित्सकहरुले उनलाई मृत घोषणा गरेको विज्ञप्तिमा उल्लेख छ ।

उपचाको क्रममा उनको मृत्यु भएपछि पोष्टमार्टमका लागि उनको कोरोना परीक्षण गर्दा असोज ५ गते रिपोर्ट पोजेटिभ आएको विज्ञप्तिमा भनिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार विगत तीन दिनदेखि मृतकको शव शवगृहमा रहेका कारण शव सड्ने प्रक्रिया सुरु भइसकेका कारण शवमा फोकाहरु देखिनु, सुन्निनु मुख र नाकबाट तरल पदार्थ निस्कनु सामान्य प्रक्रिया हो । 

मेडिकल अवस्थालाई नबुझी सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा कारागारभित्र वा अस्पतालमा उनको हत्या गरिएको, आँखा निकालिएको, चोटपटक लागेको, घाँटी काटिएको जस्ता समाचार आएको प्रति गम्भीर ध्यानाकर्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस