हवाई इन्धनको मूल्य घटाउन माग

पत्रपत्रिकाबाट

आइतबार, ०४ असोज २०७७, ०८ : ४९
हवाई इन्धनको मूल्य घटाउन माग

काठमाडौं । आन्तरिक हवाई सेवा कम्पनीहरूले हवाई इन्धनकोे मूल्य घटाउन माग गरेका छन् तर नेपाल आयल निगमले भने तत्काल घटाउन नसकिने जनाएको छ ।

कोरोनाका कारण हवाई क्षेत्र अति प्रभावित भएको र इन्धनका कारण हवाई सेवा अरू महँगो हुन पुगेको दाबी वायु सेवाहरूको छ । निगमले भने अन्तर्राष्ट्रिय बजारअनुसारकै मूल्य निर्धारण हुँदै आएको जनाएको छ । हवाई यात्रुको एउटा टिकटमा ३० प्रतिशत हिस्सा इन्धनले ओगट्ने कम्पनीको दाबी छ । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने, “हवाई इन्धन महँगो भएका कारण टिकट महँगो हुन गएको छ । हामीले पटकपटक हवाई इन्धन महँगो भयो भनेका छौँ तर सरोकारवाला निकायले ध्यान दिएको छैन । ”

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति नै बनाएर हवाई भाडाबारे अध्ययन गरेको थियो । सो अध्ययनले भाडा घटाउनुपर्ने सुझाव दिएको थियो ।  मन्त्रालयले निगमलाई केही हप्ताअघि पनि हवाई भाडा घटाउन पत्र पठाएको थियो तर कर छुटलगायत सकिनेजति सुविधा प्रदान भएको र अन्तर्राष्ट्रिय मूल्य तथा भारत नेपालको स्वचालित मूल्य सूची प्रणालीअनुसार तत्काल घटाउने सम्भावना नरहेको निगामका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए। गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस