डढेलो गाउँमा पस्दा तेह्रथुमको सोल्मामा आगलागी, ६ घर ध्वस्त

पत्रपत्रिकाबाट

बुधबार, २३ फागुन २०७४, ०८ : ०४
डढेलो गाउँमा पस्दा तेह्रथुमको सोल्मामा आगलागी, ६ घर ध्वस्त

फोटो : नयाँ पत्रिका दैनिक

तेह्रथुम । वनमा लागेको डढेलो गाउँमा पस्दा तेह्रथुमको लालीगुराँस नगरपालिका –८, सोल्माका ६ वटा घर जलेर नष्ट भएका छन् ।

स्थानीय गोविन्द अधिकारी, लक्ष्मी अधिकारी, नरेन्द्र अधिकारी, लोकनाथ न्यौपाने, गुरुप्रसाद लुईंटेल र एकराज तिम्सिनाको घर जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
गाउँसँगै रहेको हात्ती आहाल सामुदायिक वनमा दिउँसो करिब ३ बजे सल्किएको आगो हावाहुरीका कारण गाउँमा पसेको थियो । साढे ३ बजेबाट घरमा सल्किएको आगोले फुसको छानो भएका, पालीसहितका ६ वटा घर, लत्ता कपडा, नगद र गरगहनासमेत जलेर नष्ट भएको वडाध्यक्ष तुलसीराम खनालले बताए ।

उनका अनुसार आगलागीबाट ४४ लाख २७ हजार रुपैयाँबराबरको धनमाल जलेर नष्ट भएको छ । आगो सल्किएपछि तुरुन्तै आगो निभाउने जनशक्ति र पानी अभाव भएकाले ठूलो क्षति भएको प्रमुख जिल्ला अधिकारी खनालले बताए ।

६ वटै घरमा आगो सल्किएपछि मात्रै प्रहरी घटनास्थलमा पुगेको थियो । जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित स्थानीयबासीले स्याउलाले हिर्काएरै साँझ ६ बजे आगो नियन्त्रणमा लिएका थिए ।

लालीगुराँस नगरपालिकासँग दमकल भए पनि सडक नभएका कारण आगो निभाउन समस्या भएको हो । वनमा आगो कसले लगाएको भन्ने खुल्न नसकेको वडाध्यक्ष खनालले बताए ।

वनमा आगो कसले लगाएको हो भन्नेबारे सूचना प्राप्त भए मुद्दा दर्ता गरी कारबाही गर्ने प्रजिअ खनालले बताए । जलेका ६ वटामध्ये दुई वटा घरमा मान्छे थिएनन् । गुरु लुईंटेल र एकराज तिम्सिना जमिन बाँझै र घर खाली नै छाडेर गतवर्ष नै बसाईं सरेका थिए ।

गोविन्द अधिकारीको भने ४ जना, लक्ष्मी अधिकारीको ६ जना, नरेन्द्र अधिकारीको ५ जना र लोकनाथ न्यौपानेको ५ जनाको परिवार आगलागी बिचल्लीमा परेको छ । अहिले उनीहरू छिमेकीको घरमा शरणमा छन् ।

प्रतिक्रिया दिनुहोस