– सुरेन कुँवर
चितवन (रत्ननगर) । भरतपुर–९ की अञ्जना जोशी उमेरले भर्खर २१ लाग्नुभयो । उहाँ भरतपुर सामुदायिक अस्पतालको इर्मेजेन्सी वार्डमा ‘हेल्थ असिस्टेन्ट’ का रुपमा काम गर्नुहुन्छ । अस्पतालको ड्युटीसँगै सहयोगापेक्षीका सेवामा जुट्ने उहाँको दैनिकी नै बनेको छ । विसं २०७२ मा गएको भूकम्पका बेला उहाँका अङ्कलले अमेरिकाबाट पीडितलाई सहयोग पठाउनुभयो । अङ्कलको यो कर्मसँगै उहाँमा समाजसेवाको भावना विकास भयो । “बजारको सडकमा कोही पल्टिएको देख्यो भने मन अमिलो हुन्छ । सहयोग गर्न पाए हुन्थ्यो भन्ने लाग्छ”, उहाँले भन्नुभयो ।
सामाजिक कार्यमा लाग्न दुई वर्षअघि उहाँ लियो क्लब अफ भरतपुर युथको सदस्य हुनुभयो । अहिले उहाँ आफ्नो जागिरसँगै नारायणी नदी किनारमा दैनिक ६ घण्टा सहयोगापेक्षी मानवलाई खाना खुवाउने कार्यमा लाग्नुभएको छ । “जागिरेलाई त लकडाउनले खाना धौ–धौ छ”, उहाँले भन्नुभयो, “दैनिक ज्याला मजदूरी गरेर हातमुख जोड्नेको अवस्था के होला ? साथीसँग छलफल गरी निःशुल्क खाना दिने निर्णयमा पुग्यौँ ।”
पहिलो चरणमा साथीहरुले रु तीन हजारदेखि पाँच हजार सङ्कलन गरेर अभियानमा लागेको उहाँको भनाइ छ । नारायणी किनारमा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रको सहकार्यमा दैनिक २०० भन्दा बढी बेसहारा तथा सहयोगापेक्षी मानवलाई दुई छाक खानाको व्यवस्था मिलाइएको छ । जोशी खाना बनाउन बिहानदेखि यसको तयारीमा जुट्नु हुन्छ । स्वास्थ्यकर्मी भएकाले सहयोगापेक्षीलाई सामाजिक दूरीमा राख्नेदेखि मास्क वितरणमा खटिने गर्नुहुन्छ । कोरोनाको जोखिम भएकाले सबैलाई एकै ठाउँमा खाना खुवाउने काम त्यतिकै जटिल पाटो रहेको उहाँ बताउनुहुन्छ ।
दैनिक रु २० हजारले २०० जनालाई खाना खुवाउँदै आएको छ । अहिले सोह्रश्राद्ध भएकाले पितृहरुको नाममा खाना खुवाउन आउनेको सङ्ख्यामा उल्लेख्य छ । देश विदेशबाट सहयोग आउने क्रम पनि छ । कोरोनाले सृजना गरेको सङ्कटमा सहयोगी मनहरुको सहभागिताले अभियन्तालाई हौसला मिलेको जोशी बताउनुहुन्छ ।
पत्रकार हिरालाल आचार्य उमेरले २० पुग्नुभयो । उहाँ अहिले अध्ययनसँगै सफल खबर डटकममा काम गर्नुहुन्छ । भरतपुर–२ क्षेत्रपुरमा बस्ने उहाँलाई परोपकारी समाचारहरु लेख्न खुबै मन पर्छ । “एक साथीले स्वास्थ्य शिविरको समाचार प्रकाशनका लागि पठाउनुभयो, यसले मलाई समाजसेवामा अभिप्रेरित ग¥यो”, उहाँले भन्नुभयो । परोपकारी समाचार लेख्न अलि बढी रुचि लाग्ने उहाँ बताउनुहुन्छ । हुँदाखानेलाई जीवनयापनमा निकै कष्टकर हुने भएकाले सानो सहयोगले उनीहरुलाई ठूलो राहत मिल्ने उहाँको भनाइ छ । “परोपकारी कामका लागि सधैँ तयार छुँ”, उहाँले भन्नुभयो, “यसले छुट्टै आन्नद प्रदान गर्दो रहेछ । यो कामलाई कहिले पनि छाड्दिनँ ।” हप्ताको चार दिन नारायणी नदी किनारको निःशुल्क खाना खुवाउने कार्यक्रममा पुग्नु हुन्छ । खानालाई चलाउनेदेखि खाना वितरणमा खटिने उहाँको काम हो । लियो क्लब अफ भरतपुर युथमा उहाँलाई साथीले सदस्य हुन सुझाएपछि २ वर्षदेखि यसमा आबद्ध हुनुहुन्छ ।
लियो क्लब अफ भरतपुर युथका अध्यक्ष दिपेश ज्ञवाली यहाँको बाबा फर्मेसीमा काम गर्नुहुन्छ । उमेरले २५ पुग्नुभएका उहाँले संस्थाको नेतृत्वसँगै कामलाई पनि निरन्तरता दिइरहनुभएको छ । ज्ञवाली दिनमा फार्मेसीमा काम गरेर पनि नारायणी नदीमा रहेको निःशुल्क खाना खुवाउने कार्यक्रममा सक्रिय हुनुहुन्छ । दैनिक १ घण्टा भए पनि उहाँ नारायणी नदी किनारमा पुगेर सहयोगमा जुट्नुहुन्छ । “इच्छा र चाहना भयो भने सबै हुन्छ”, उहाँले भन्नुभयो, “शुरुमा एक छाक खाना खुवाउन सकेका थियौँ । अहिले दुई छाक नै खुवाउन सफल भएका छौँ ।” सहयोगापेक्षीलाई सेवा गर्न अहिलेका युवा अग्रसर हुनुपर्ने उहाँको भनाइ छ । कुन संस्थामा छौँ भन्ने कुराले फरक पर्दैन, दुःखीको सेवामा युवा जुटे समाजसँगै राष्ट्रलाई परिवर्तन गर्न सकिने ज्ञवाली बताउनुहुन्छ ।
जिल्लामा पछिल्लो समय समाजसेवामा इच्छा देखाउने युवाको सङ्ख्या उल्लेख्य छ । विभिन्न संस्थाको स्थापना गरी समाजसेवाको काममा लाग्नाले सकारात्मक सन्देश प्रवाह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ३० भदौ २०७७, १५ : ३३
लेखकबाट थप