चितवन । भरतपुर महानगरप्रमुख रेनु दाहालले कुनै पनि यातायातका साधन कसैको लागि समस्या नभई नागरिकहरुको लागि सहयोगी बन्नु पर्ने बताउनु भएको छ । मध्य नेपाल यातायात ब्यवसायी संघ (मलमल) को दोस्रो वार्षिक साधारण सभालाई मंगलबार भरतपुरमा सम्बोधन गर्दै दाहालले यस्तो बताउनु भएको हो ।
साधारण सभा उद्घाटन समारोहकी प्रमुख अतिथि दाहालले भन्नुभयो, यातायातका साधन समस्याको रूपमा नभई नागरिकहरूको सहयोगी बन्नुपर्छ । यातायत ब्यवसायीहरू इमानदार र ब्यावसायिक हुनुपर्छ । सडकमा जथाभावी पार्किङ गर्ने, आफूखुसी भाडा असुलेर यात्रुलाई दुःख दिनेहरूलाई कारबाहीको दायरामा ल्याइने छ ।
महिला, ज्येष्ठ नागरिक, विद्यार्थी र अपांगता भएकाहरूलाई विशेष सहुलियतको ब्यवस्था गर्र्न आग्रह गर्दै महानगर प्रमुख दाहालले महानगरको पार्किङ ब्यवस्थापनमा नसघाउने यातायात व्यवसायीलाई महानगरले कारबाही गर्ने चेतावनी दिनुभयो । बजार ब्यवस्थापनका लागि पार्किङ ब्यवस्थापन आवश्यक रहेको बताउँदै उहाँले यसमा तीनपांग्रे साधन समस्याको रूपमा खडा भएको बताउनु भयो ।
तीनपांग्रे सवारीका चालक एवं व्यवसायीलाई महानगरको योजना अनुसार चल्न आग्रह गर्दै दाहालले महानगरले तोकेको ठाउँमा पार्किङ नगर्ने सवारी साधनहरू कारबाहीमा पर्ने बताउनु भयो । उहाँले तोकिएको ठाउँमा यात्रु ओराल्ने र चढाउने कुरालाई कार्यान्वयन गर्न सवारी चालकहरुलाई आग्रह गर्नुभयो । यातायात ब्यवसायीहरूले बालबालिकालाई श्रममा लगाउने गरेको पाइएको भन्दै दाहालले त्यस्तो कार्य तत्काल रोक्नुपर्ने बताउनु भयो ।
महानगरपालिकाभित्र पार्किङ ब्यवस्थापन जटिल बन्दै गएको बताउँदै महानगर प्रमुख दाहालले भन्नुभयो, पार्किङ व्यवस्थापनमा यातायात ब्यवसायीहरूले सहयोग गर्नुपर्छ । तपाइँहरुको सहयोगले बजार व्यवस्थापन गर्ने काममा सफलता प्राप्त हुने भएकोले बजारलाई सुन्दर र व्यवस्थित बनाउन पार्किङ व्यवस्थापनमा सहयोग गर्नुहोस् । यसका लागि यातायात व्यवसायीसँग सहकार्य गर्न महानगरपालिका तयार छ ।
मध्य नेपाल यातायात ब्यवसायी संघ (मलमल) का अध्यक्ष चिनीबहादुर बोहराको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्घाटन समारोहमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापा, चितवन अटोमोवाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष गोपाल भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस