धर्म र संस्कृतिको संरक्षणले सामाजिक सद्भाव बढ्छ : प्रमुख दाहाल

सोमबार, २१ फागुन २०७४, १४ : ०४
धर्म र संस्कृतिको संरक्षणले सामाजिक सद्भाव बढ्छ : प्रमुख दाहाल

चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले धर्म र संस्कृतिको संरक्षणले सामाजिक सद्भाव बढ्ने बताउनु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर २०, माइली चोक, चन्द्रनगरमा सोमबार आयोजित न्ये जाम्बूलिङ गुम्बाको छ्योर्तेन उद्घाटन तथा समीक्षालय भवन शिलान्यास एवं साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख दाहालले यस्तो बताउनु भएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगर प्रमुख रेनु दाहालले भन्नुभयो, सबै धर्म र संस्कृतिको संरक्षण र बिस्तारले सामाजिक सद्भाव, आपसी मेलमिलाप र भाइचाराको सम्बन्ध वृद्धि गर्छ । धर्मले मानिसलाई मिलेर बस्न र आपसी सद्भाव कायम गर्दै सबैलाई सहयोग गर्ने संस्कारको सिर्जना गरेको छ । 

नेपाल बहुसाँस्कृतिक, बहुधार्मिक र बहुभाषिक देश भएकोले यो सबैको साझा फूलबारी रहेको भन्दै दाहालले आआफ्ना संस्कृति र धर्मको संरक्षणमा लाग्नु सबै समुदायको बराबर दायित्व भएको धारणा व्यक्त गर्नुभयो । महानगरपालिकाले सबै धर्म र सँस्कृतिको संरक्षण र प्रवद्र्धनमा बराबर महत्व दिने बताउँदै उहाँले यसको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।

भरतपुर महानगरपालिकाले विकास निर्माण कार्यलाई गतिशील रूपमा अगाडि बढाउने प्रकृयामा रहेको बताउँदै महानगर प्रमुख दाहालले सडक कालोपत्रे गर्ने कामलाई प्राथमिकतामा राखिएको बताउनु भयो । रणनैतिक महत्वका रिङरोड र लिंकरोडको निर्माणका लागि टेन्डर प्रकृयामा रहेको जानकारी दिँदै उहाँले छिट्टै कामले गति लिने बताउनु भयो ।

विकास, निर्माण र सुशासन कायम गर्न सबैको सामुहिक प्रयास जरूरी हुने भन्दै दाहालले नगरबासीको सहयोगको अपेक्षा गर्नुभयो । दाहालले १० लाख रूपयाँको लागतमा बन्न लागेको समीक्षा भवनको शिलान्यास समेत गर्नुभयो । कार्यक्रममा तामाङ सँस्कृति सम्बन्धी विविध साँस्कृतिक कार्यक्रम र झाँकी प्रस्तुत गरिएको थियो ।

गुम्बाका अध्यक्ष एवं महानगरपालिका वडा नं. २० का समेत अध्यक्ष मणिलाल तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी आशबहादुर तामाङ, वडा नं. १९ का अध्यक्ष कर्णबहादुर गुरूङ, जाम्बूलिङ गुम्बा आमा समूहकी सदस्य सुशिला तामाङ लगायतका वक्ताहरूले आआफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस