अर्थमन्त्रीले ‘अनुत्पादक’ भन्दा सेयर बजार ४१ अंकले घट्यो

पत्रपत्रिकाबाट

सोमबार, २१ फागुन २०७४, ०८ : ४७
अर्थमन्त्रीले ‘अनुत्पादक’ भन्दा सेयर बजार ४१ अंकले घट्यो

वाम गठबन्धनले बहुमत ल्याएदेखि नै अस्थिर रहेको सेयर बजार अर्थमन्त्री डा. युवराज खतिवडाको पछिल्लो अभिव्यक्तिको शिकार बनेको छ ।

अर्थमन्त्रीले सेयर बजारमा हुने लगानीलाई ‘अनुत्पादक’ भनेकैले साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से १३ सय हाराहारीमा झरेको छ ।

आइतबार एकै दिन सेयर बजार ४१.५६ अंकले घट्दा लगानीकर्ताले ४७ अर्ब गुमाएका छन् । नेप्से परिसूचक पछिल्ला दिनहरुमा न्यून बिन्दुको खोजीमा देखिएको छ ।

‘बियरिस ट्रेन्ड’ मा रहेको सेयर बजारलाई सरकारको नीतिगत सहयोग नहुने त्रासमा लगानीकर्ताले सेयर बिक्री गर्दा बजार सूचक थप प्यानिक हुने अवस्थामा पुगेको हो । आइतबार सेयर बजार परिसूचक निरन्तर घटेर १३ सयको लाइनमा आइपुगेको छ ।

नेप्से घट्ने क्रमले निरन्तरता पाएपछि आइतबार एक दिनमा नै करिब १३ महिनायताकै न्यून बिन्दुमा झरेको छ । यसअघि नेप्से २०७३ माघ २३ मा १२९६ अंकसम्म झरेको थियो । त्यसपछि बढेको बजार सूचक पुन १८ सयभन्दा माथि पुगेपछि घट्न थालेको हो ।, आजको कारोवार दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस