काठमाडौं। रौतहटमा भएको पुजारी हत्या अनुसन्धानमा जनकपुरबाट तालिमप्राप्त कुकुर झिकाइएको छ । रौतहटको माधवनारायण नगरपालिका २ का पुजारी श्रीराम साहको हत्यामा कुकुरको परिचालन गरिएको हो ।
उनी हनुमान मन्दिरको पुजारी थिए। गएराति उनी त्यही कुटीमा खाना खाँदै थिए। खाना खाइसक्नै लाग्दा उनीमाथि गोली प्रहार गरी हत्या गरिएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट अनुसार गोली लागेपछि पुजारी साह खाँदै गरेको ठाउँमा बायाँतर्फ लडेको अवस्थामा मृत फेला परेका थिए। प्रहरीको अनुसार हत्या अनुसन्धानमा जनकपुरबाट तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान गरिएको छ ।
पुजारीमाथि प्रहार भएको गोली बायाँ कानमाथि कन्चटमा गोली लागेको रहेछ र दायाँ कञ्चटबाट गोली निस्केको थियो । घटनाबारे प्रहरीलाई स्थानीयले फोन गरी जानकारी गराएका थिए। पुजारी साहको हत्या कसले गर्यो भन्ने हालसम्म खुलेको छैन। घटनास्थलबाट अपराधसँग जोडिएका केही पनि सबुत फेला नपरेको प्रहरीले जनाएको छ।
हाटबजार लाग्ने जस्तो ठाउँमा उक्त मन्दिर छ। प्रहरीका अनुसार त्यस क्षेत्रमा मानिसहरूको चहलपहल निक्कै कम हुने गरेको पाइएको उल्लेख गरेको छ। घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान थालेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ भदौ २०७७, १४ : ३०
लेखकबाट थप