– डा. दीपेश केसी
नेपाल कम्युनिस्ट पार्टी फुटाउने षड्यन्त्र अझ प्रभावकारी बन्दै गएको छ । विभाजन जोगाउन पार्टीका दोस्रो पुस्ताका नेताहरु लागिपरेका छन् । तर, सत्ता र शक्ति म नै सबथोक हुँ भन्ने सोच हावी भएका नेताहरुका कारण फुटको षड्यन्त्र रच्नेहरु उत्साही भएका छन् । यो षड्यन्त्र केवल नेकपामाथि मात्र केन्द्रित छैन, कम्युनिस्ट शक्तिलाई नै नेपालबाट बढार्ने गरी योजनावद्ध तरिकाले आएको छ । जसलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा बढी नजरअन्दाज गरिरहेका छन् ।
प्रधानमन्त्री ओलीले म जत्तिको नेता यो देशमा जन्मिएकै छैन भन्ने भ्रम पाल्न थालेका छन् । आफूलाई देशमा अहिलेसम्म जन्मिएका नेपालीमध्ये ठुलो राष्ट्रवादी दाबी गर्न थालेका छन् । ओलीलाई यस्तो ‘ध्रुबे’ ठान्ने बनाउन निकटस्थहरुले भुमिका खेलिरहेका छन् । उनलाई दिग्भ्रमित पार्नेमा उनकै सल्लाहकारहरु लागिपरेका छन् । यतिसम्मकी ओलीले समकालीन विश्वमा म जत्तिको नेता अरु कोही छैन भन्नथालेको खबरहरु बाहिर आएका छन् । ओलीले लामो संघर्ष गरेर अहिलेको स्थान बनाएकोमा कुनै शंका छैन । सामान्य पारिवारिक पृष्ठभुमिबाट संघर्षको लामो कालखण्ड हुँदै जेलनेल भोगेका ओलीमा राजनीतिक परिपक्वताको आशा गरिएको थियो । उनी सत्तामा पुग्दा सामान्य जनताले पनि केही राहत मिल्ने महशुश गरेका थिए । उनले राष्ट्रियता र जनजीविकाको सवालमा महत्वपूर्ण योजनाहरु पनि अघि सारेका थिए । तर, जब देशमा संकट आइप¥यो, पार्टी संकटमा प¥यो तब ओलीको क्षमता र कार्यशैलीको परीक्षण भयो । संकट समाधान र चुनौतीमा संयमता अपनाउन ओली असफल देखिए । फलस्वरुप देश महामारीसँग जुधिरहँदा उनका कदमहरु देश र पार्टीको हितमा देखिएन । बरु आफ्नै सहकर्मीलाई अप्ठ्यारोमा पार्दै सत्ताको आयु लम्ब्याउनेतर्फ समय र चिन्तन खर्चिए ।
ओलीले शुरुमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललाई अप्ठ्यारोमा पार्दै लगे । यतिसम्मकी नेपालले आफूलाई ओलीले भित्तामा पु¥याएको महसुस गरे । त्यतिबेला ओलीले प्रचण्डसँग मिलेर नेकपा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र अर्का नेता बामदेव गौतमलाई निरिह बनाइदिए । शक्ति विस्तार गर्दै लगेपछि उनले प्रचण्डलाई पनि बेवास्ता गर्न थाले । यतिसम्मकी प्रचण्ड विगतमा आधा आधा प्रधानमन्त्री बन्न गरेको जेन्टलमेन्ट सहमतिबाट पछि हट्न वाध्य भए । दश वर्ष लामो जनयुद्ध लडेर राजनीतिक मुलधारमा आएका प्रचण्डले कम्युनिस्ट एकताका लागि जुन त्याग गरेका थिए, त्यसलाई उनको कमजोरी सम्झेर ओलीले प्रहार गर्न थाले । त्यसैले गत हप्ता प्रचण्डले सिमित पत्रकारहरुलाई डाकेर गरेको ब्रिफिङमा आफूमाथि ‘सरप्राइन्ड एट्याक’ भएको टिप्पणी गरे । जनयुद्धको अनुभव सुनाउँदै भने, ‘जनयुद्धका बेलामा एक दुईवटा मोर्चाहरु हारे पनि प्रायः लडाईँको ठूलो मोर्चा जितियो भने अब युद्ध जितियो भन्ने हुन्थ्यो र दुश्मनले घेरा हाल्छ भन्ने कुराप्रति ध्यान कम जान्थ्यो । र उसले घेरा हालेर ‘सरप्राइज्ड एट्याक’ गर्दा हामीले क्षति व्यहोर्नुपथ्र्यो ।’ प्रचण्डको यो भनाई आफैमा विचारणीय छ । उनले फेरि अगाडि भनेका छन्, ‘एक दुईवटा क्षति व्यहोरिसकेपछि फेरि हामी राम्रो तयारी गर्ने, राम्रो तालिम लिने, राम्रो रेकी गर्ने, राम्रो हातहतियार व्यवस्था गर्ने रणनीति कार्यनीति बनाउँथ्यौं र जित्थ्यौं ।’
यो उनको भनाइ अब ओलीले गरेको घेराबन्दी तोड्ने भन्ने नै हो । ओलीले घेराबन्दी अझ मजबुत पार्न उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादलको साथ लिएका छन् । छ बुँदे एकताको प्रस्ताव बामदेवमार्फत् ओलीले नै सार्वजनिक गर्न लगाएका हुन् । यो चार्तुयताबारे प्रचण्डलगायतको समुह जानकार भएकैले गत हप्ता सिधै भैंसेपाटी पुगेर कित्ता स्पष्ट पार्न भनेका थिए । जवाफमा गौतमले आफू कुनै सानो ठुलो गुटमा नभएको जवाफ दिए । वास्तवमा बामदेव, ओलीले देखाएको लोभमा फेरि फसिसकेका छन् । भविष्यमा ओलीले प्रधानमन्त्री बनाइदिने र एकीकरणपछिको महाधिवेशनमा अध्यक्ष बनाइदिने आश्वासनमा गौतम मख्ख परेका छन् । तर, अडानमा टिक्न नसक्ने र स्वार्थ पूरा भयो कि गुट परिवर्तन गरिहाल्ने बामदेवको स्वभाव अझ खुलेको छ । ओलीलाई राजीनामा दिन वाध्य पार्ने गरी तयार भएको समुहमा बामदेव गौतम जोडिएपनि वरिष्ठ नेता नेपालले उनको विश्वास गर्न नसकिने भन्दै आएका थिए । केही राजनीतिक लेनदेनकै कारण बामदेव अहिले छ बुँदे अगाडि सारेर ओलीसँग नजिक भएका छन् ।
प्रचण्डले माओवादी छाडेर गएका र पुनः फर्किएका रामबहादुर थापा ‘बादल’लाई बढी महत्व दिंदाको झड्का व्यहोरेका छन् । असजिलो समयमा बादलले प्रचण्डलाई साथ दिएनन् । उनी पनि ओलीकै नजिक पुगेका छन् । यो घटनाक्रम विकास भएसँगै नेकपाभित्र ओलीमाथि बढिरहेको दबाब कमजोर बनेको छ । एकता कायमै रहने गरी सबैले केही न केही त्याग गर्नैपर्ने अवस्था सृजना भइसक्नेमा त्यसमा लगभग पूर्णविराम लागेको छ ।
कम्युनिस्ट पार्टीमा व्यक्ति विशेष भन्दा पनि पार्टी नीति, पद्धति र अनुशासन प्रधान हुनुपर्नेमा व्यक्तिलाई सर्वेसर्वा बनाउने परिस्थिति विकासमा जिम्मेवार नेताहरु नै सक्रिय भएका छन् । यसले नेकपामाथि षड्यन्त्र गर्नेहरुको हात माथि परेको छ । षड्यन्त्रकारीहरु सबैभन्दा बढी ओलीलाई नै साथ दिइरहेका छन् । राज्य संयन्त्र मेरो कब्जामा छ र मलाई राज्यको मुख्य संयन्त्रका प्रमुखहरुले साथ दिइरहन्छन् भन्नेमा ओली ढुक्क छन् । तर, उनले साथ पाउनुको पछाडिको कारणतर्फ ध्यान दिएका छैनन् ।
कम्युनिस्ट पार्टी शक्तिशाली बनेर सत्तामा रहँदा अन्तगत्वा बढारिनुपरेको सँसारका धेरै उदाहरणहरु छन् । यसमा कम्युनिस्ट सिद्धान्त कारण नभई नेतृत्वको असक्षमता र आफ्नै पार्टीका कमरेडहरुलाई सिध्याउन खोज्नु मुख्य कारण रहेको छ । रुसमा दशकौं एकछत्र शासन गरेको रुसी कम्युनिस्ट पार्टी मिखायल गोर्वाचोभ आफ्नै कारण पतन भयो । पूर्वी युरोपका कम्युनिस्ट पार्टीहरु पनि नेतृत्वकै कार्यशैलीका कारण बडारिए । छिमेकी भारतको पश्चिम बङ्गालमा झण्डै चार दशक शासन गरेका कम्युनिस्टहरु अहिले इतिहासकै कमजोर अवस्थामा छन् । बंगालको सत्ता उनीहरुका लागि धेरै टाढाको विषय बनेको छ । यसमा पनि नेतृत्वको कमजोरी नै कारण बन्यो । कम्युनिष्ट विरोधीले योजनावद्ध तरिकाले षड्यन्त्र गर्दा षड्यन्त्रकारीकै लहलहैमा लाग्दा गोर्वाचोभले रुसलाई इतिहासकै संकटमा पु¥याएका थिए । शुरुमा उनले अमेरिकाको सामना गरेको देखिन्थ्यो । तर अन्ततः अमेरिकाको हितका सारथी बन्न पुगे । गोर्वाचोभ शैली ओलीमा पनि हावी देखिएको छ । उनको कार्यशैलीले देश, जनता र पार्टीलाई नै संकटमा पार्न उद्धत रहेको देखिन्छ ।
सत्ताका लागि ओलीको कदम प्रतिगामी र दक्षिणपन्थी देशी विदेशी षड्यन्त्रकारीको सहयोगी बनिरहेका छन् । यो यथार्थ समयमै चिरिएन र संकटमोचन भएन भने कम्युनिस्ट पार्टी मात्र नभई देश नै गम्भीर संकटमा धकेलिनबाट कसैले रोक्न सक्नेछैन । (दृष्टिबाट)
प्रतिक्रिया दिनुहोस