नेपालमा फागु पूर्णिमा दुई दिन मनाईन्छ । भौगोलिक हिसाबले फागु पर्वलाई मनाउने चलन बर्षै देखि चल्दै आईरहेको छ । विषेश गरि पहाडी भेगमा फागु पूर्णिमाको दिनमा र तराईमा त्यसको भोलिपल्ट मनाउने गरिएको छ । फागु खेल्नु पनि यसको आफ्नो पैराणिक महत्व छ । असत्य माथि सत्यको विजय भएको खुशीयालीमा फागु खेल्ने चलन रहि आएको छ । त्यस्तै यस पर्वमा अपासी मनमुटावलाई पाखा लगाएर नयाँ सम्बन्ध सुरुवात गर्ने अवसरको रुपमा लिईन्छ । फाल्गुण पूर्णिमापूर्व अष्टमी तिथिका दिन चीर ठड्याइएपछि होली सुरु हुन्छ र यसलाई जलाएपछि सम्पन्न गरिन्छ । तराईमा फागुन पूर्णिमामा होलिका दहन गर्ने प्रचलन छ । जहाँ जसरी होली मनाइए पनि यस पर्वको सन्देश भनेको धर्म र सत्यको विजय तथा प्रेम र सद्भाव अभिवृद्धि नै हो ।
हिन्दु संस्कृतिमा यो पर्व विभिन्न प्रसङ्गमा जोडिने गरेको छ । हिरण्यकशिपुले आफ्ना छोरा प्रह्लादलाई मार्न बहिनी होलिकाको काखमा राखेर आगोमा जलाउने प्रयास गरे । आगोले नजल्ने वरदान पाएकी होलीका अग्निकुण्डमा जलेकी तर विष्णुभक्त प्रह्लाद नजलेको खुशियालीमा यो पर्व मनाउने प्रचलन रहेको विश्वास गरिन्छ । अर्काे धार्मिक प्रसङ्ग अनुसार द्वापर युगमा कृष्णलाई आफ्नो विषयुक्त दूध चुसाएर मार्ने प्रयास गर्ने पूतना नामकी राक्षसीको मृत्यु भएको सुखद सम्झनामा रङ खेलेर मनाउने गरिएको मान्यता छ । फाल्गुण शुक्ल अष्टमीका दिन काठमाडौँको वसन्तुपरमा चीर (विशेष रूपले सजाइएको लिङ्गो) गाडेपछि होली सुरु हुन्छ र फागुन पूर्णिमाका दिन रङ र पानी प्रयोग गरेर होली मनाइन्छ भने राति लिङ्गो ढालेर जलाएपछि सम्पन्न भएको मानिन्छ । रङ्गीचङ्गी ध्वजापताकाले सजाइएको लिङ्गो उठाउनुलाई सत्यको विजयका रूपमा लिइन्छ । वसन्त ऋतुमा मनाइने यो पर्व रङको पर्व हो । एक अर्कालाई रङ दलेर मनोरञ्जन गरिन्छ । होलीको दिन पुरानो कटुता र शत्रुता बिर्सिएर आपसी प्रेम, सद्भावना र मेलमिलापलाई बलियो बनाइन्छ ।
होलीमा प्रयोग गरिने रङको छुट्टै महत्व छ । रातो रङलाई सौभाग्य र भाग्यको प्रतीकका रूपमा मनिन्छ भने पहेँलो शुभ र सुखको रङ्ग हो । यस्तै हरेक रङका अलग, अलग महìव छन् । यी रङको प्रयोगले जीवनमा खुशियाली आउने र छालाका रोग निको भई सुन्दरता बढ्ने आयुर्वे्दिक शास्त्रमा उल्लेख पाइन्छ । प्रेम र सद्भावका लागि मनाइने होलीमा पनि केही विकृति र विसङ्गति भित्रिएका छन् । रङको सट्टा फोहोर पानी छ्याप्ने, मोबिल, हिलो र स्थायी खालका रङ लगाइदिने तथा मादकपदार्थ सेवन गरी अभद्र व्यवहार गर्नेहरू पनि देखिन्छन् । होलीको दिन आउनु अघिदेखि नै पानी भरिएका बेलुन (लोला) हान्ने विकृति दुःखद छ । यसपटक लोला हान्ने क्रममा कमी देखिएको छ । यसलाई स्वागतको कुरो मान्नुपर्छ । नत्र यही कारणले गर्दा धेरै दुर्घटना भएका र ज्यानै गएका उदाहरण पनि छन् । यसलाई नियन्त्रण गर्नेतर्फ सम्बद्ध निकाय चनाखो हुनैपर्छ । यसमा विभिन्न जातजाति, धर्म र सम्प्रदायका मानिस उत्तिकै रमाइलो मानेर रङ्ग खेल्ने गर्छन् । यसले जातिगत, धार्मिक र साम्प्रदायिक भावनाको अन्त्य गरेको छ र यसबाट एक अर्काको धर्म र संस्कृतिको सम्मान गर्ने परम्पराको पनि थालनी भएको छ । यस पर्वले सामाजिक सद्भाव बढाउन सहयोग गरेको छ । त्यसैले प्रेम र सद्भाव अभिवृद्धि गर्ने यो पर्वलाई मर्या्दित र अनुशासित भएर मनाऔँ ।
प्रतिक्रिया दिनुहोस