भदौ १ देखि नयाँ शैक्षिक सत्र शुरु गर्न सरकारको ७ बुँदे निर्देशन, विद्यालयहरुमा धमाधम तयारी

सफल खबर संवाददाता

विहीबार, १५ साउन २०७७, १२ : ४०
भदौ १ देखि नयाँ शैक्षिक सत्र शुरु गर्न सरकारको ७ बुँदे निर्देशन, विद्यालयहरुमा धमाधम तयारी

काठमाडौं । सरकारको निर्देशनसँगै स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुनेगरी  भदौ १ गतेदेखि विद्यालयहरु खुल्ने भएपछि नयाँ शैक्षिक सत्रको काम शुरु भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएसंगै कोभिड–१९ का कारण बन्द रहेका विद्यालयहरु मापदण्ड पालना हुनेगरी विद्यालयका शैक्षिक क्रियाकलापलाई अगाडी बढाउन योजनामा केन्द्रित भएका छन् ।

मन्त्रिपरिषद्ले निर्णय गरेर प्रमाणित गरी शिक्षा मन्त्रालयलाई पठाएको निर्देशनमा भदौ १ गते देखि नयाँ शैक्षिक सत्रका कामहरु गर्नुपर्ने उल्लेख छ । मन्त्रिपरिषद्ले पठाएको प्रमाणित निर्णयहरुमा शिक्षकहरु अनिवार्यरुपमा विद्यालय पुग्नुपर्ने तथा भाद्र १ गते देखि नयाँ भर्ना, कक्षागत विद्यार्थीको संख्या यकिन र भर्ना भएका विद्यार्थीको तथ्यांक भर्न निर्देशन दिइएको छ ।यस्तै, विद्यालय सञ्चालनको लागि तत्काल शिक्षा मन्त्रालयले विद्यालय पुनःसञ्चालन सम्बन्धी कार्यढाँचा जारी गर्नुपर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

विद्यालयको शैक्षिक क्रियाकलाप सञ्चालनार्थ शिक्षकहरु भदौ १ अगाडि नै विद्यालय पुगिसक्ने व्यावस्था मिलाउने, नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन बाँकी भए तत्काल उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।

विद्यालय भवन तथा परिसरमा क्यारेन्टिन र आइसोलेशन सम्बन्धी कार्यहरु सञ्चालन नगर्ने तथा क्यारेन्टिन र आइसोलेशनको रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनलाई तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउन पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यस्तै, विद्यालय र विद्यालय परिसरभित्र तथा विद्यार्थी आवागमनमा प्रतिकूल असर पर्ने गरी या विद्यालय क्षेत्रको निकट हुने गरी कोभिड–१९ रोकथाम र नियन्त्रण सम्बन्धी संरचनाहरु नराख्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

विद्यालय संचालनका लागि मन्त्रिपरिषदले गरेको निर्देशन यस्तो छ :
क. शैक्षिक सत्र २०७६ को नतिजा प्रकाशन गर्न बाँकी रहेको भए नतिजा प्रकाशन गर्ने
ख. २०७७ भाद्र १ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्ने र कक्षागत रुपमा विद्यार्थीको सख्यात्मक विवरण यकीन गर्ने, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्याङ्क भराउने ।
ग. नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन बाँकी भए उपलब्ध गराउने ।
घ. विद्यालयको शैक्षिक क्रियाकलाप सञ्चालनार्थ विद्यालय, शिक्षकहरु विद्यालय पगिसक्ने व्यावस्था मिलाउने ।
ङ. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालन सम्बन्धी कार्यढाँचा जारी गर्ने ।
च. विद्यालय भवन तथा परिसरमा क्यारेन्टिन र आइसोलेशन सम्बन्धी कार्यहरु सञ्चालन नगर्ने । क्यारेन्टिन र आइसोलेशनको रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनलाई तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउने ।
छ. विद्यालय र विद्यालय परिसरभित्र तथा विद्यार्थी आवागमनमा प्रतिकूल असर पर्ने गरी या विद्यालय क्षेत्रको निकट हुने गरी कोभिड–१९ रोकथाम र नियन्त्रण सम्बन्धी संरचनाहरु नराख्ने ।

प्रतिक्रिया दिनुहोस