चेल्सी र म्यानचेस्टर युनाइटेड आउँदो सिजनमा च्याम्पियन्स लिग खेल्ने

एजेन्सी

सोमबार, १२ साउन २०७७, ०८ : ४०
चेल्सी र म्यानचेस्टर युनाइटेड आउँदो सिजनमा च्याम्पियन्स लिग खेल्ने

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत यो सिजनको अन्तिम खेलमा जित निकाल्दै चेल्सी र म्यानचेस्टर युनाइटेडले शीर्ष चारमा स्थान पक्का गरेका छन् ।  यो जितसँगै चेल्सी र म्यानचेस्टर युनाइटेडले आउँदो सिजन च्याम्पियन्स लिग फुटबल खेल्ने भएका छन् ।

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै चेल्सी र म्यानचेस्टर युनाइटेडले शीर्ष चारमा स्थान पक्का गरेका हुन् । उपाधि विजेता लिभरपुल तथा दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगै तेस्रो र चौथो स्थानमा रहन सफल म्याानचेस्टर युनाइटेड र चेल्सी इंग्लिस प्रिमियर लिगबाट च्याम्पियन्स लिगका लागि स्थान बनाउन सफल भएका हुन् । 

शीर्ष चारको होडमा रहेको तर पछिल्ला खेलहरुमा लगातार खराब नतिजा निकालेको लेस्टर सिटीलाई यो सिजनको अन्तिम खेलमा पराजित गरेर म्यानचेस्टर युनाइटेड तेस्रो स्थानमा रहन सफल भयो । अवे मैदानमा भएको खेलमा युनाइटेडले लेस्टर सिटीलाई २–० ले पराजित गरेको हो । युनाइटेडका लागि ७१ औँ मिनेटमा पाएको पेनाल्टीमा ब्रुनो फेर्नान्डेस तथा इन्जुरी समयको  आठौँ अर्थात ९८ औँ मिनेटमा जेसी लिंगार्डले गोल गरेका हुन् ।

इन्जुरी समयको चौथो मिनेट अर्थात ९४ औँ मिनेटमा इभान्स सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि अन्तिमको केही समय लेस्टर सिटी १० खेलाडीमा सीमित भयो । पराजित भएको लेस्टर ६२ अंकसहित पाँचौँ स्थानमा रह्यो, यसको अर्थ उसले आउँदो सिजन युरोपा लिग खेल्ने छ । वुल्भ्सलाई पराजित गरेको चेल्सी चौथो स्थानमा रहेर च्याम्पियन्स लिगमा स्थान बनाउन सफल भएको हो ।

घरेलु मैदानमा भएको खेलमा उसका लागि पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा माउन्ट तथा पहिलो हाफकै इन्जुरी समयको चौथो मिनेटमा ओलिभर जिरउडले गोल गरेका हुन् । आइतबार राति भएका लिगका अरु खेलमा साउथह्याप्टनले शेफिल्ड युनाइटेडलाई ३–१, लिभरपुलले न्यूक्यासललाई ३–१, म्यानचेस्टर सिटीले नर्विचलाई ५–० तथा ब्राइटनले बर्नलीलाई २–१ ले पराजित गरेका छन् ।