मंगल ग्रहमा यान पठाउने अभियानअन्तर्गत चीनले गर्यो रकेट प्रक्षेपण

पत्रपत्रिकाबाट

आइतबार, ११ साउन २०७७, ०८ : २३
मंगल ग्रहमा यान पठाउने अभियानअन्तर्गत चीनले गर्यो रकेट प्रक्षेपण

प्रतिकात्मक फोटो

काठमाडौं । चीनले मंगल ग्रहमा यान पठाउने अभियानअन्तर्गत रकेट प्रक्षेपण गरेको छ । सुरक्षात्मक आवरणयुक्त उक्त ६ चक्के रोबोट बोकेको ‘लङ मार्च–५’ रकेट शनिबार बिहान चीनको हैनान द्वीपस्थित वेनचाङ अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको बीबीसीले जनाएको छ ।

अभियानलाई ‘तियावेन–१ (स्वर्गलाई प्रश्न)’ नाम दिइएको छ । चिनियाँ अधिकारीका अनुसार उक्त रकेट फेब्रुअरीमा मंगल ग्रहको कक्षनजिक पुग्ने छ । त्यसको २ देखि ३ महिनासम्म मंगल ग्रहको सतहमा उत्रिने कोसिस नगर्ने जनाइएको छ । यसले इन्जिनियरहरूलाई मंगल ग्रहमा अवतरण हुनुपूर्व त्यहाँको वायुमण्डलको अवस्था पत्ता लगाउन सहयोग पुर्‍याउने ठानिएको छ ।

दुई साताभन्दा कम अवधिमा मंगल ग्रहमा प्रक्षेपण गर्ने भनिएका तीनवटा रकेटमध्ये यो दोस्रो हो । गत सोमबार युनाइटेड अरब इमिरेट्स (यूएई) ले ‘होप’ नामक यान प्रक्षेपण गरेको थियो । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एक साताभित्र आफ्नो नयाँ पुस्ताको वाहन मंगल ग्रहमा पठाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस