रोल्पाका विद्रोही नेता वर्मन बुढाको निधन

जो कछाड बाँधेर संसद भवन छिर्थे, दौरा सुरुवाल लगाउन भन्नेलाई उल्टै प्रश्न गर्थे, के मैले विदेशी कपडा लगाएको छु र ?

सफल खबर संवाददाता

बुधबार, ०७ साउन २०७७, ०९ : ३६
रोल्पाका विद्रोही नेता वर्मन बुढाको निधन

काठमाडौं । वर्मन बुढा कम्युनिष्टहरुका लागि एउटा आर्दश पात्र । उनै बुढाको बुधबार बिहान निधन भएको छ । पाटन अस्पतालमा उपचारका क्रममा ९० वर्षिय बुढाको निधन भएको परिवारले पुष्टि गरेको छ । उनी २०४८ सालका सांसद पनि हुन् । तत्कालिन संयुक्त जनमोर्चाले ०४८ सालमा देशभर ९ सिटमा चुनाव जितेको थियो ।

त्यसैमध्येका एक सिट बुढाले नै जितेको थिए, रोल्पा क्षेत्र नम्बर १ बाट । देशमा प्रजातन्त्र भर्खर उदाएको थियो । बहुदलीय व्यवस्थाको राप बिस्तारै बढ्दै गरेको समय थियो, त्यही बेला उनले रोल्पाको भूमिबाट चुनाव जितेका थिए । एकातिर कृष्णबहादुर महरा र अर्काेतिर वर्मन बुढाले चुनाव जितेका थिए । 

आफ्ना प्रतिद्वन्द्वी राप्रपाका बालाराम घर्ती मगरलाई २ हजार बढी मतले पराजित गरेर उनी संसदमा प्रवेश गरेका थिए । रोल्पामा पञ्चायतकालभरी उनले जितेको स्थानमा सधै बलराम घर्तीमगरले नै चुनाव जित्दै आएको थियो, तर उनले ३० वर्षसम्म राज गरेका घर्तीमगरलाई हराएर संसद छिरेका थिए ।  छातीमा दुबैतर्फ छड्के पारेर लगाउने खाडीको कपडाको भाङ्ग्रो र कछाड बाँधेर उनी सिंहदरबार छिर्थे ।  

अरू सांसद दौरा, सुरुवाल, कोट, पाइन्टमा ठाँटिएर जाँदा उनी भने सधैँ आफ्नै मौलिक पोसाकमा संसद भवन पुग्थे । संसदमा राजा आउँदा उनलाई संसदको महासचिवले दौरासुरुवाल लगाउन भने पनि उनले दौरा सुरुवाल लगाएनन् ।  मैले विदेशी लुगा लगाएको हो र ? भनेर उल्टै उनले त्यसबेला उनलाई दौरा सुरुवाल लगाउनेलाई प्रश्न गर्ने गर्थे । 

विद्रोही गाउँको रूपमा परिचय बनाएको थवाङमा २०३८ सालमा भएको राष्ट्रिय पञ्चायतको शून्य मतदान अभियानका उनी अगुवा नेतासमेत थिए । त्यो बेला प्रधानपञ्चसमेत रहेका उनलाई शून्य मत खसेपछि राजकाज मुद्दामा पक्राउ गरी जेल चलान गरिएको थियो । बुढामगर रोल्पाकै पहिलो कम्युनिस्ट पार्टी सदस्य र २०४८ सालमा जिल्ला सचिव रहेका थिए । उनी छोरीको कुसुन्तीस्थित घरमा बस्दै आएका थिए केही समय देखि ।

माओवादी युद्दका बेला राज्यले उनकै छोरी ज्वाईको घरमा केही माओवादी नेताहरुसँग गोप्य भेटघाट पनि गरेका थिए । पछि संकटकाल लागेपछि भने उनको ज्वाँईलाई तत्कालिन राज्यले प्रक्राउ गरेर लगेर बेपत्ता बनाएको थियो । वर्मनलाई रोल्पाको मात्र नभई अन्य स्थानका कम्युनिष्टहरुले पनि आर्दश पात्रका रुपमा चिन्छिन् । केही दिन अगाडी मात्रै उनको स्वास्थ्य अवस्था बुझ्न उपराष्ट्रपति नन्दबहादुर पुन कुसुन्ती पुगेका थिए ।
 

प्रतिक्रिया दिनुहोस