ओली क्याम्पमा गृहमन्त्री थापा (बादल) को किन बढ्दै छ अर्थपूर्ण उपस्थिती ?

सरकारमा रहदा सम्म आन्तरिक गुटबन्दीमा सहभागी नहुने भनेपनि ओलीले बोलाएको गुटमा सहभागी

सफल खबर संवाददाता

मंगलबार, ०६ साउन २०७७, ०९ : ०२
ओली क्याम्पमा गृहमन्त्री थापा (बादल) को किन बढ्दै छ अर्थपूर्ण उपस्थिती ?

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र बढेको किचलो समाधान के ? पार्टीभित्रका शक्तिशाली तीन समुह ओली, प्रचण्ड र माधव नेपाल समुह आ–आफना निकट नेताहरुसँग दिनहुँ छलफलमा छन् । कहिले बिहानै त, कहिले साँझ आफु निकट नेताहरुलाई जमघट गरेर छलफल गर्न छाडेका छैनन् । तर केही नेताहरु विवादमा अहिले तटस्थताको निति लिने भन्दै निकट नेताहरुको छलफलमा सहभागीता जनाईरहेका छैनन् । 

त्यसमध्येका एक पात्र हुन्, गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा (बादल) । अध्यक्ष प्रचण्डले एकल भेटघाटका लागि बोलाए जाने तर सरकारकै गृहमन्त्रीमा रहदा सम्म ओली विरुद्धका आन्तरिक छलफलमा सहभागी नहुने भन्दै उनले केही दिन यता समुहगत छलफलमा सहभागिता जनाउनै छोडेका छन् । पार्टीभित्र प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधव नेपाल दबै पक्षबाट महाधिवशेन सम्म छलफलका लागि स्थगित राखिएको जनताको बहुदलीय जनवाद (जबज) अब बहसमा लैजानुपर्ने र महाधिवशेनबाट समाजवादको यात्रासम्म पनि जबज लाई नै पार्टीको राजनीतिक कार्यदिशा बनाउनु पर्ने बताउन थालेपछि प्रचण्डले आफु निकट नेताहरुलाई छलफलका लागि बोलाएका थिए । 

तर उक्त बैठकमा गृहमन्त्री थापा सहभागी भएनन् । उनले प्रचण्डलाई आफु नियमित कार्यक्रममा रहेकोले आउन नसक्ने जानकारी दिए । स्थायी समिति सदस्य जर्नादन शर्मा पनि प्रचण्डसँगको छलफलमा पुगेनन् । लेखराज भट्ट त पहिले देखि नै ओलीकै क्याम्पमा डेरा सरिसकेका थिए । कुनै पनि समुहको आन्तरिक गुटबन्दीमा सरकारमा रहदा सम्म सहभागी नहुने जनाएका बादल अन्ततः फेरि साँझ ओलीले बोलाएको गुटको बैठकमा भने सहभागी भएका छन् । दिउँसो ४ बजे बोलाईएको क्याबिनेट बैठक पछि ओलीले आफु निकट मन्त्रीहरुसँग मात्र बालुवाटारमै परामर्श गरेका थिए ।

उक्त छलफलमा बादल र लेखराज भटट पूर्व माओवादी धारका नेताहरुको पनि सहभागीता रहेको बालुवाटार स्रोतको दाबी छ । मन्त्री परिषद् सकेपछि ओली निकट मन्त्री बाहेक अन्य मन्त्रीहरु बालुवाटारवाट निस्केका थिए । तर बादल र भट्ट भने त्यही भित्रै थिए । उनीहरुले त्यसपछि ओलीले पार्टी बैठकका सवालमा गरेको आन्तरिक छलफलमा सहभागी भएको जनाईएको छ । तर बादलको सचिवालयले भने उनी उक्त गुटको छलफलमा सहभागी नभएको बताएको छ ।

 क्याबिनेट सकेपछि प्रधानमन्त्रीले गृहमन्त्रीज्यूलाई छुट्टै भेटन बोलाएको सही हो, तर त्यसमा अन्य मन्त्री र उनी निकट मन्त्रीहरु सहभागी भएर पार्टीको विषयमा छलफल गरिएको विषय सही होइन, बादलको सचिवालयका एक सदस्यले सफलखबरसँग भने, उहाँले हिजै क्याबिनेटबाट निर्णय गरेको देशब्यापी बाढीपहिरोको उद्धार र राहतमा जुट्न भएको निर्णयका विषयमा सम्बन्धित मन्त्रालय भएकोले थप छलफल मात्र भएको हो, त्यहाँ कुनै गुटको छलफलमा सहभागी भएको भन्ने होइन । 

उनले गृहमन्त्री त्यसपछि तुरुन्तै निवास फर्केको पनि बताए । हामी फर्केपछि उहाँहरुले आफु निकटहरुसँग छलफल गरेको भए थाहा छैन, तर हामी त्यस्तो समुहगत छलफललमा सहभागी भएनौं, बादलको सचिवालयका ति सदस्यले भने । तर बालुवाटार निकट नेताहरुका अनुसार, बादल हिजो बेलुकी क्याबिनेट पछि बसेको ओली निकट मन्त्रीहरुको आन्तरिक छलफलमा सहभागी भएका थिए ।

यस विषयमा केही ओली निकट मन्त्रीहरुलाई जिज्ञासा राख्दा खास टिप्पणी गर्ने चाहेनन् । प्रधानमन्त्रीसँग मन्त्रीहरुका आन्तरिक भेटघाट, छलफलहरु भईरहन्छन, यो स्वभाविक पनि हो, तर त्यसरी गुटगत रुपमै बसेको भन्ने होइन, ओली निकट एक मन्त्रीले भने । वादल अहिले दुई अध्यक्ष मिलेर जानुपर्ने पक्षमा देखिन्छन् । उनले प्रचण्डलाई अनुभूति हुने गरी पार्टीको कार्यकारी अधिकार दिनुपर्ने र सरकार ओलीकै नेतृत्वमा चल्नुपर्ने मत राख्दै आएका छन् । बीच धारमा रहेर धारणा राख्दै आएका बादलको भूमिका अर्थपूर्ण देखिन थालेको छ । 

प्रतिक्रिया दिनुहोस