प्रचण्डसँग ओलीले राखे यस्ता विकल्पै विकल्प

सफल खबर संवाददाता

विहीबार, ०१ साउन २०७७, १० : ३३
प्रचण्डसँग ओलीले राखे यस्ता विकल्पै विकल्प

काठमाडौं । सरकार र पार्टी दुवैको नेतृत्व गर्न असफल भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टीभित्रै राजीनामा माग भएपछि त्यसबाट कसरी जोगिने ? भन्नेमा प्रधानमन्त्री ओलीले अनेक उपायहरु अपनाउन थालेका छन् ।  

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै नछोड्ने अडानमा रहेका ओलीले सुरुको चरणमा आवश्यक परे बरु पार्टी विभाजन गर्ने तर आफू इतर नेताहरु प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायत नेताहरुसँग नझुक्ने रणनीति बनाएका ओलीले अहिले भने दुबै पद नछोडी सहमतिका लागि अनेक विकल्प आफू र आफू निकट नेताहरुमार्फत अध्यक्ष प्रचण्डसामु राख्न थालेका छन् । 

उनले अध्यक्ष प्रचण्डलाई ४ मंसिरमा भएको सहमतिलाई थप ब्याख्या गर्ने गरी नै अगाडि जान बारम्बार प्रस्ताव गरिरहेका छन् । तर प्रचण्डले उक्त सहमति गरेर आफूले गल्ती गरेको र सहमति प्रधानमन्त्रीले तोडेपछि पार्टी एकताको अघिल्लो दिनको सहमति जेठ २ मा नै फर्किनुपर्ने प्रस्ताव गरिरहेका छन् । जसका कारण दुई अध्यक्षले स्थायी समिति बैठक रोकेर १३ दिनसम्म ७ पटक वार्ता र सम्वाद गर्दा पनि समस्याको समाधान कसरी गर्ने भन्ने कुनै सहमति जुटाउन सकेका छैनन् । 

ओलीले छलफलका क्रममा अनेक विकल्प राखे पनि त्यसमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहले सहमति जनाइसकेका छैनन् । उनीहरुले ओलीमाथि दुई मध्ये एक पद छोड्न नै दबाब बढाइरहेका छन् । 

ओलीले प्रचण्डसामु राखेका विकल्प यस्ता छन् :

१) चार मंसिरमा भएको सहमति थप ब्याख्या 

नेकपाका दुई अध्यक्ष रहेपछि कार्य विभाजन गरेर जानुपर्ने प्रस्ताव पटक पटक उठ्यो । एकताको अघिल्लो दिन अढाइ-अढाइ वर्ष सरकारको नेतृत्व समेत आलोपालो गर्ने लिखित समझदारी दुई नेताका बीचमा भएको थियो । त्यसलाई पनि एउटा समझदारीमा निष्कर्षमा पु-याउनु पर्ने उद्देश्यका साथ ओलीले ५ वर्ष नै सरकार चलाउने र प्रचण्डले पूर्ण अधिकारसहित पार्टी कार्यकारी अध्यक्षका रुपमा चलाउने समझदारी २०७६ मंसिर ४ गते भयो । 

तर त्यो सहमति अनुसार प्रचण्डले एउटा स्थायी समिति र केन्द्रीय समितिको बैठक राखेलगत्तै ओलीले फेरि स्वतन्त्र रुपमा पार्टी सञ्चालन गर्न दिएनन् । उनले पार्टी गतिविधिमा अनेक अडचन ल्याउने काम गरिरहे । प्रचण्डले अध्यक्षको रुपमा पार्टी काम गर्न पाएनन् । सरकार पनि आपसी सहमतिमा चलाउने सहमति विपरीत ओलीले स्वेच्छाचारी ढंगले चलाएका थिए । तर अब त्यसो नहुने र स्थायी समितिवाट थप त्यही सम्झौताको व्याख्या गरेर लिखितरुपमै जाने प्रस्ताव ओलीले प्रचण्ड सामु गरेका छन् । 

अब त्यस बेलाको सहमतिबाट धेरै अगाडि पार्टी गइसकेको र पटक पटक ओलीको विश्वासघातका कारण उक्त सहमतिको व्याख्यामा मात्र सहमति नहुनेमा प्रचण्ड सहितका नेताहरु छन् । उनीहरुले पार्टी एकताको अघिल्लो दिन महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मालाई साक्षी राखेर गरेको आलोपालो सरकारको नेतृत्वको सम्झौताकै आधारमा मात्र अब सहमति हुने बताउन थालेका छन् । वरिष्ठ नेता झलनाथ खनाल भन्छन्, ‘सहमति खोज्ने हो भने अब एकताको अघिल्लो दिन जेठ २, २०७५ मा भएको सम्झौता प्रधानमन्त्रीले कार्यान्वयन गर्नुपर्छ । त्यहीबाट समाधान खोज्न सकिन्छ भन्नेमा हामी नेताहरु छौं ।’ 

२) ‘अर्ली’ महाधिवेशन गरेर एकल अध्यक्ष बन्न प्रस्ताव 

प्रधानमन्त्री ओलीले ‘अर्ली’ महाधिवेशनको प्रस्ताव यसपटक प्रचण्डसँग पनि गरेका छन् । उनले मंसिर, पुससम्म ‘अर्ली’ महाधविशेन गरौँ, त्यसपछि एकल अध्यक्ष बन्नुहोस् भन्ने प्रस्ताव प्रचण्डसँग राखिरहेका छन् । आउने महाधिवशेनबाट आफू नउठ्ने र त्यसमा आफूले सहयोगसमेत गर्ने तर अहिले दुबै पद नछोड्ने भन्दै ओलीले प्रचण्डलाई छिटो महाधिवशेन गरेर जान प्रचण्डसँग प्रस्ताव गरेका छन् । 

छिटो महाधिवशेन गर्न नेकपा सम्पूर्ण रुपमा एकता एकीकरणको प्रक्रिया टुग्गिएको छैन । सदस्यताको अभिलेख छैन । नवीकरण छैन । गाउँ, नगर जिल्ला, प्रदेश हुँदै केन्द्रीय महाधिवशेन प्रधानमन्त्री ओलीले भनेजस्तो मंसिरमै गर्न सम्भव छैन । ओलीले आफनो संकट टार्नका लागि अहिले ‘अर्ली’ महाधिवशेनको प्रस्तावको चारो मात्र हालेका हुन् भन्नेमा प्रचण्ड र माधव नेपाल दुबै सहमत देखिन्छन् । ओलीलाई पनि महाधिवेशन अबको डेढ वर्षमा पनि सम्भव छैन भन्ने जानकारी राम्रोसँग छ । त्यही कारण पनि उनले यो प्रस्ताव राखेको हुन सक्ने बुझाइमा प्रचण्ड र नेपाल पक्ष देखिन्छन् । 

३) सचिवालय हेरफेर गर्ने

प्रधानमन्त्री ओलीले आवश्यक पर्दा आफनो सचिवालय हेरफेर गरेर जाने प्रस्ताव पनि प्रचण्डसामु राखेका छन् । आफनो सचिवालयका कारण पनि पार्टी एकता र अन्य प्रक्रियामा अवरोध उत्पन्न भए सचिवालय हेरफेर गर्न तयार रहेको प्रस्ताव उनले छलफलका क्रममा प्रचण्डसँग राखेका छन् । ओलीको सचिवालयमा अहिले असहिष्णु स्वभावका र एकपक्षीय आफ्नै गुटका मात्र नेताहरु छन् । जो निक्कै विवादित मात्र छैनन, आफ्नै पार्टीभित्रका नेताहरुको हुर्मत लिने, सुराकी लगाउनेजस्ता काममा प्रयोग भइरहेका छन् ।

पार्टी नेताहरुका फरक विचारलाई अपराधीकरण गराउन खोज्ने हदमा ओलीको किचेन क्याबिनेटका नेताहरु लागेका छन् । प्रमुख सल्लाहकार विष्णु रिमालदेखि प्रेस सल्लाहकार सूर्य थापासमेतका ब्यक्तिहरु अहिले आफ्नै पार्टीका नेताहरुको सत्तोसराप गर्ने र षडयन्त्रको तानाबानामा मात्र केन्द्रित देखिएको आरोप प्रचण्ड नेपाल समूहले लगाउँदै आएका कारण ओली आफनो संकट टार्न सचिवालय समेत हेरफेर गर्न तयार रहेका छन् । यो प्रस्तावले मात्र समस्याको समाधान नगर्ने र यी सामान्य प्राविधिक विषयमात्र भएको बुझाइ प्रचण्ड नेपाल समूहको छ । 

४)  मन्त्रिमण्डल हेरफेर 

प्रधानमन्त्री ओलीले सरकार प्रभावकारी बनाउन आवश्यक परे मन्त्रिमण्डल हेरफेर गर्न तयार रहेको बताएका छन् । उनले सम्पूर्ण रुपमा हेरफेर गर्ने, केही आंशिक हेरफेर गर्ने दुवै विकल्पमा आफू खुल्ला रहेको भन्दै सहमतिमा नेताहरु आए त्यसमा  लचिलो हुने प्रस्ताव पनि प्रचण्डसँगको छलफलमा राखेका छन् । उनले केन्द्रका मन्त्रिमण्डल मात्र होइन, प्रदेशका मुख्यमन्त्रीसहित अन्य मन्त्रीहरुमा हेरफेर गर्न सकिने प्रस्ताव पनि राखेका छन् ।

वरिष्ठ नेता माधव नेपाल समूहमै रहेका आधारमा वाग्मति प्रदेशमा अष्टलक्ष्मी शाक्य, प्रदेश १ मा भीम आचार्यलगायतलाई मुख्यमन्त्री बन्न नदिन ओली समूहले साम, दाम , दण्ड भेद सवै प्रयोग गरेका थिए । अहिले त्यसमा पनि पुनर्बिचार गर्न सकिने प्रस्ताव ओलीले नेताहरुसामु राखेका छन् । सरकारलाई केन्द्रदेखि प्रदेशसम्मै प्रभावकारी बनाउन यो अन्य सहमति भए नभए पनि पुनर्गठन गर्नुपर्नेमा प्रचण्ड र नेपाल पनि देखिएका छन् । 

५) उपाध्यक्ष वामदेव गौतमलाई राष्टिय सभामा लैजाने

गत माघमै उपाध्यक्ष वामदेव गौतमलाई सरकारले गर्ने सिफारिसमा राष्टपतिले मनोनित गर्ने राष्ट्रिय सभाको रिक्त पदमा लैजान पार्टी सचिवालयले प्रधानमन्त्री ओलीलाई निर्देशन गरेको थियो । ओलीसहित भएर बसेको बैठकको निर्णय उनले पार्टी नेताहरु बैठक सकेर आ आफ्नो निवास नपुग्दै तोडिदिए । त्यसलाई उनले अहिलेसम्म पनि कार्यान्वयनमा लगेनन । तर अहिलेको संकट टार्न उनले उक्त निर्णय अहिले कार्यान्वयन गर्न आफू तयार रहेको प्रस्ताव पनि प्रचण्डसँगको छलफलमा गरेका छन् । गौतमलाई ओलीले यस अगाडि प्रधानमन्त्री बनाउनेसम्मको अस्त्रका रुपमा प्रयोग गरेका थिए  । यसमा प्रचण्ड नेपाल सकारात्मक देखिएका छन् । 

६) सरकार सञ्चालनका लागि संयन्त्र निर्माण गर्ने 

ओलीले सरकार सञ्चालनमा पनि संयन्त्र बनाउन सकिने पनि बताएका छन् । ओली सरकारले कुनै निर्णय पार्टीसँग  नगरे पछि निक्कै आलोचना खेप्न परेको छ । अब भने सरकार सञ्चालनमा सहयोगी हुने संयन्त्र बनाउन तयार रहेको बताएका छन् । सम्वैधानिक नियुक्ति, ऐन कानुन निर्माण र सरकारका कतिपय महत्वपूर्ण नीतिगत विषयमा छलफलका लागि सन्यत्र बनाएर जान सकिने प्रस्ताव पनि ओलीले गरेका छन् । 

ओलीले अहिले जसरी हुन्छ पार्टीभित्र देखा परेको अन्तरविरोध हल गर्ने र आफनो संकट टार्ने उद्देश्यले यस्ता प्राविधिक विषयमा सहमतिको खोजी गरिरहेका छन् । तर प्रचण्ड नेपाल समूहका नेताहरु भने प्रधानमन्त्री ओलीको वोली र ब्यवहारमा कहिल्यै तादाम्यता नदेखिएको र ओलीलाई अझै पनि सरकारमा राखिरहनु भनेको नेकपा सखापको वाटोमा जानु भएकोले उनले दुईमध्ये एक पद छोडनु नै पर्ने अडानमा छन् ।