किन आफ्नै अभिव्यक्तीले विवादमा पर्दैछन् प्रधानमन्त्री ओली ?

आफ्नै पूर्व सल्लाहकारले प्रधानमन्त्री ओलीलाई नै प्रश्न गरे, यो के बोलेको ? के भारतीय टेलिभिजन सँग प्रतिस्पर्धा गरेको ?

सफल खबर संवाददाता

मंगलबार, ३० असार २०७७, ०९ : ३६
किन आफ्नै अभिव्यक्तीले विवादमा पर्दैछन् प्रधानमन्त्री ओली ?

काठमाडौं । प्रधानमन्त्री केपी ओली फेरी एकपटक आफ्नै बोलीका कारण विवादमा तानिएका छन् । सार्वजनिक कार्यक्रममा उनले दिने अभिब्यक्ती पछिल्ला दिनमा एकपछि अर्काे गरी विवादमा तानिन थालेको छ ।  पार्टी बैठक देखि सार्वजनिक कार्यक्रममा पनि बालुवाटारबाट बाहिर ननिस्किएका प्रधानमन्त्री ओलीले केही रणनीतिक महत्वका कार्यक्रम बालुवाटारमै आयोजना गराउन थालेका छन् ।

त्यहाँ उनले दिने अभिब्यक्ती कुनै न कुनै रुपमा विवादमा तानिन थालेको छ । सरकारमा निक्कै आलोचित भएका र पार्टीभित्रै पनि उनले सरकार र पार्टी दुवै सञ्चालन गर्न नसकेको आरोप लागिरहेका बेला आफु माथीको संकट टार्नका लागि ओलीले अहिले आफुलाई राष्ट्रवादीको पगरी आफैले लगाउन निक्कै प्रयास गरिररहेको उनका अभिब्यक्तिबाट चित्रित हुन्छ ।  उनले प्रधानमन्त्रीको पदमा आसिन भएर कुन खालका अभिब्यक्ति दिने नदिने सम्मको हेक्का पाउन छोडेको विश्लेषण राजनीतिक वृतमा हुन थालेको छ । गत असार १४ गते मदन जयन्तीका दिन भारतले आफुलाई नक्सा सार्वजनिक गरेपछि हटाउन खोजेको र त्यसमा नेपालकै नेताहरु पनि लागि परेको भन्दै अभिब्यक्ती दिए ।

झण्डै दुई तिहाई जनमत सहित सरकारको नेतृत्वमा रहेका र सार्वभौम स्वतन्त्र देशका प्रधानमन्त्रीलाई भारतले त्यसरी हटाउनै खोजेको भएपनि सार्वजनिक कार्यक्रममा बोल्ने अभिब्यक्ती दिएन । सरकारको वागडोर हातमा रहेका ओलीले प्रशासनिक र कुटनीतिक एक्सन लिन सक्नु पर्दथ्यो । तर त्यसमा ओलीले केही गर्ने हिम्मत देखाएनन् । त्यही विवादास्पद अभिब्यक्तीका कारण ओलीको पार्टीभित्रै राजीनामा माग भयो । अहिलेसम्म उनको त्यही राजीनामाको विषय पार्टीको स्थायी समितिमा जहाँको त्यही छ । न विवाद साम्य भएको छ, न त चर्केकै छ । 

तर फेरि प्रधानमन्त्रीले हिजो बालुवाटारमै आयोजित कार्यक्रममा अर्काे विवादास्पद अभिब्यक्ती दिएका छन् । भानु जयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रममा उनले त्रेतायुगका रामको जन्म नेपालमै भएको, उनी नेपाली भएको र अयोध्या विरगन्जको पश्चिमपट्टी ठोरीमा रहेको र भारतले नक्कली अयोध्या जन्माएको भनी अभिब्यक्ती दिए । उनको यो अभिब्यक्तीले पनि उनलाई निक्कै आलोचित बनाएको छ । 

कलियुगमा नेपालको भूमि भारतले मिच्दा वास्तविक अर्थमा भूमि फिर्ताको कुनै कुटनीतिक पहल गर्न नसक्ने तर त्रेतायुगका राम नेपाली भएको र अयोध्या समेत नेपालमै रहेको जस्ता अभिब्यक्ती दिएर प्रधानमन्त्री आफुलाई अब्बल राष्ट्रवादी देखाउने कसरतमा छन् । तर त्यही अभिब्यक्तीले फेरि ओलीलाई निक्कै विवादित बनाउने निश्चित देखिएको छ । 

के भनेका थिए, हिजो बालुवाटारमा ओलीले ?
झण्डै ५० मिनेट लामो भाषण गरेका ओलीले जम्माजम्मी ४ मिनेटमा बोलेका भनाई विवादमा आएका हुन् । ओलीले सहभागीका बीचमा हाँसोको फोहोरा नै छुटाउने गरी दोहो¥याई तेस्याई अयोध्या नेपालको विरगन्ज पश्चिमको ठोरीमा रहेको बताएका थिए । यसैले ओलीलाई फेरि विवादमा ल्याएको हो ।   ‘हामी अलिकति सांस्कृतिक हिसाबमा मिचिएका छौं, थिचिएका छौं । तथ्यहरुमा अतिक्रमण भएको छ । हामी अहिले पनि ठानिरहेका छौं, हामी अहिले सीता भारतका राजकुमार रामलाई दियौं भनेर ठानिरहेका छौं । भारतका हैन, अयोध्याकालाई दिएका हौं ।

अयोध्या भनेको वीरगन्ज भन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन । हाम्रोमा विवाद नै गर्न पर्दैन । जनकपुर त्यहाँ, अयोध्या विरगञ्जको पश्चिमपटटी ठोरीमा, बाल्मिकी आश्रम त्यहा (नेपाल) र दशरथबाट सन्तान नभएपछि पुत्रष्टी यज्ञ लगाउने पण्डितजी रिडीका । त्यसकारण दशरथका सन्तान पनि भारतीयका हुँदै होइनन्, ठाउँ पनि भारतीयको होइन । नेपालकै हो । समय समयमा आएर शिक्षादिक्षा दिने वाल्मिकी आश्रम पनि त्यही छ । जनकपुर त्यही छ । यहाँको जनकपुर उहाँको अयोध्या (भारत) हुन्थ्यो भने कँहाको छोरीको बिहे गर्न खोजेको छ, कहिले के गरेको छ, त्यसबेलाको जमानामा न टेलिफोन न मोबाइल ।

कताबाट थाहा होस् । थाहा हुन पनि सम्भव थिएन । नकिजकै अयोध्या (नेपालको) थियो र सजिलैसँग कुरा भयो । र सम्भव भयो । तर त्यो इतिहास बहस गरी साध्य छैन ।  यति भनिसकेपछि फेरी के खतराको घण्टी विद्धानहरुले बजाउने हुन् ? रामले सीतालाई अयोध्या (भारतको) बाट त्यत्रो दिन लगाएर वाल्मिकी आश्रममा छोडेको होइन् । जंगलमा यसो परतिर लगेर छोडिदिनु भनेको ठाउँमा लक्ष्मण भाउजु लिएर महिनौं हराएका होइनन् । खुर्रर वाल्मिकी आश्रम पु¥याइदिए, फर्किए । दुई दिन चार दिन हुन सक्ला तर महिनौ लाग्छ, महिनौं हराएका होइनन ।’

ओलीले बोलेपछिको तरंग 
उनकै पार्टीका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजालले पदमा बसेर बेतुकका र असान्दर्भिक कुरा बोल्दा राष्ट्रकै शीर झुक्छ भन्दै समाजिक सन्जालमै प्रधानमन्त्री ओलीलाई ब्यङग्य कसेका छन् । रिजालले लेखेका छन्, अप्रमाणित, पौराणिक र विवादास्पद कुरा बोलेर विद्वान भइन्छ भन्नु ठूलो भ्रम हो । फुकीफुकी पाइला चालेर भूमि फिर्ता ल्याउनुपर्ने बेलामा विरोध र उत्तेजनाका लागि एकपछि अर्को मसला दिइनु दुर्भाग्यपूर्ण मात्र होइन, रहस्यमय छ । 


भारतीय सत्तारूढ पार्टी भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले प्रधानमन्त्री ओलीको भनाईप्रति निन्दा गरेका छन् । उनले भगवान राम आस्थाको विषय हुन् र मानिसहरूले त्योसँग खेल्न कसैलाई पनि छुट दिएको छैन्, चाहे त्यो नेपालका प्रधानमन्त्री होउन् वा अन्य कोही भन्दै अभिब्यक्ती दिएका छन् । 
राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्रीको स्तरबाट यस्ता उटपट्यांग, अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त नभएको भन्दै भारतसंग सम्बन्ध सुधार्ने भन्दा बिगार्ने तर्फ प्रमको ध्यान गए जस्तो लागेको बताएका छन् । नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनाबश्यक विवाद सिर्जना गर्नु राम्रो होईन भन्दै थापाले ओलीको अभिब्यक्ती दुई देशको सम्बन्ध बिगार्ने खालको भएको बताएका छन् ।

 
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ओलीको नयाँ रामायण श्रवण गरौं भनेर सामाजिक सन्जालमा ब्यङग्य गरेका छन् ।  


पूर्व परराष्टमन्त्री तथा कुटनीतिज्ञ रमेशनाथ पाण्डेले अंग्रेजीमा ट्विट गर्दै भने, धर्म राजनीति र कूटनीतिभन्दा माथि छ । यो निकै भावनात्मक विषय हो । बेतुकका अभिव्यक्तिले लज्जित मात्र बनाउँछ । अयोध्या वीरगञ्ज नजिकै भए सरायु नदी कहाँ छ ? 


यति सम्मकी ओलीकै पूर्व प्रेस सल्लाहकार कुन्दन अर्यालले समेत ओलीलाई के बोलेको भन्दै के यो भारतीय टेलिभिजन सँग प्रतिस्पर्धा गरेको ? भनी प्रश्न गरेका छन् । 


ओलीको यस्तो विवादास्पद अभिब्यक्ती उनले आफनो सत्ता माथी पार्टीभित्रैबाट परेको दबाब हटाउन र आफुलाई राष्ट्रवादी देखाएर सत्ता संकट टार्न खेलेको खेलमात्र भएको बुझाई थप विकसित गराईदिएको छ । यस अगाडी पनि उनले मदन जयन्तीका बेला यस्तै विवादास्पद अभिब्यक्ती दिएका थिए । जसकाकारण उनको पार्टीभित्रै राजीनामा माग भएको थियो । 

मदन जयन्तीमा भने यस्तो बोलेका थिए ओलीले.....
तपाईंहरुले सुन्नु भएको होला, हप्ता–१५ दिनमा प्रधानमन्त्री परिवर्तन हुँदै छ भन्ने । बहस चलेको छ, अहिलेको अहिल्यै केपी ओलीलाई नहटाई हुदैन् । पहिले यहाँहरुलाई सम्झाना होला, चीनतिरको पारवाहन सम्झौता गरेर फर्किएपछि सरकार ढालिएको थियो, किनभने हामीसँग बहुमत थिएन् । अहिले त्यही सपना देखेर, संविधान संसोधन भएर नक्सा सार्वजनिक भएपछि यस्तो अपराध गर्ने केपी ओलीलाई अब भित्रभित्रको कुरा हो त्यो, बाहिर बाहिर भन्न नसक्ने, तर भित्रभित्र यस्तो अपराध गर्नेलाई दिल्लीका सञ्चारमाध्यम सुन्नुहोस्, त्यसैले निर्देश गरिहाल्छकी कँहा कँहा के के भईरहेको छ । यहाको होटलहरुमा भईरहेका गतिविधिहरु हेर्नुहोस, त्यसले पनि देखाईरहेको छ । 

एम्बेसीको सक्रियता त्यसले पनि देखाईरहेको छ । तर म तपाईहरुलाई यति भन्छु, नेपालको राष्ट्रियता त्यति कमजोर छैन, संविधानमा नक्सा सामेल गरेबापत यस देशको प्रधानमन्त्रीलाई हटाउछु भन्ने कसैले सपना देखेको छ भने आजको राष्ट्रियता त्यस्तो कमजोर छैन । यो नसोचेपनि हुन्छ । त्यसकारण यो भ्रम कोसिस गर्नेलाई गर्न दिउ, तर हिजोको जस्तो होइन, कसैले हतारो नगरे हुन्छ र कसैले विभिन्न आग्रहहरु नपालेपनि हुन्छ ।

प्रतिक्रिया दिनुहोस