काठमाडौं । राष्ट्रिय जनमोर्चाले भारतले नेपालका विरुद्ध लगातार ठूला षड्यन्त्रहरु गर्दै आएको भन्दै भारतीय मिडियाले त्यही हर्कतलाई अनर्गल प्रचार गरिरहेको बताएको छ । जनमोर्चाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भारतीय टेलिभिजनहरुले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध भ्रामक, अतिरञ्जित, अनर्गल र आपत्तिजनक सामग्री प्रशारण गरेकोपनि कडा विरोध पनि गरेको छ ।
‘केपी शर्मा ओली र चिनियाँ राजदूतको बीचमा नक्कली कुराकानी भएको देखाइएको छ । नक्कली कुराकानीको रचना र प्रशारण गरिनु पत्रकारिताको नाममा अपराधिक तहको दुरुपयोग हो’, जनमोर्चाकी प्रवक्ता दुर्गा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘मोदीसत्ताले नेपालका विरुद्ध लगातार ठूला षड्यन्त्रहरु गर्दै आएको छ र भारतीय मिडियाले मोदीको त्यही हर्कतलाई अनर्गल प्रचार गरिरहेका छन् ।’
विज्ञप्तिमा भारतीय टेलिभिजन च्यानलहरुले नेपाल र नेपालीहरुको अस्मितामाथि प्रहार गरेको ठहरसहित सार्वभौमसत्तासम्पन्न मुलुक र जनताको लागि यो असह्य भएको उल्लेख छ । नेपालका विरुद्ध मोदीसत्ताको वास्तविक स्वरुप भारतीय मिडियाबाट छताछुल्ल भएको पनि जनमोर्चाले जनाएको छ । ‘भारतीय टेलिभिजन च्यानलहरुले लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्रको विषयमा नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका विरुद्ध भारतव्यापी रुपमा ठूलो अभियान चलाएका छन् । चीनलाई समेत मुछेर लगातार गलत सामग्री दिएका छन् ।
नेपालको संसदले जारी गरेको नक्साका विषयमा छिमेकी मुलुक चीनलाई समेत मुछ्नु गम्भीर आपत्तिको विषय हो’, विज्ञप्तिमा भनिएको छ, ‘भारतीय मिडियाको चरित्रहत्या, पितपत्रकारिता र नेपालविरुद्धको षड्यन्त्रका विरुद्ध एकजुट हुन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा देशभक्त नेपालीहरुमा अनुरोध गर्दछौं ।’ जनमोर्चाले भारतीय मिडियाको हर्कतका विरुद्ध देशव्यापी रुपमा नागरिक तहबाट प्रतिकार हुन जरुरी रहेकोमा पनि जोड दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ असार २०७७, १२ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ पर्नु सही छ : चित्र बहादुर केसी
सरकारको चरम लापरबाही देखियो : राष्ट्रिय जनमोर्चा
गणतन्त्र फलाउन, फुलाउन र जोगाउन लागौँ : अध्यक्ष केसी
राष्ट्रको चाबी समातेको नेतृत्व नै भ्रष्ट छ : चित्रबहादुर केसी
सत्ता र शक्तिमा बस्नेहरूबाट देश बर्बाद भयो : चित्रबहादुर केसी