अबदेखि जिल्लाभित्र सार्वजनिक सवारी साधन चल्ने, दोब्बर बनाइयो भाडा

सफल खबर संवाददाता

विहीबार, २५ असार २०७७, १७ : २६
अबदेखि जिल्लाभित्र सार्वजनिक सवारी साधन चल्ने, दोब्बर बनाइयो भाडा

काठमाडौं । सरकारले देशका सबै जिल्लाभित्र सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ । काठमाडौं उपत्यकाभित्रका सबै ३ जिल्लामा नै चलाउन दिइने निर्णय भएको छ । 

बिहीबारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सक्ने बताए ।

मन्त्री खतिवडाले ट्याक्सीहरु तत्कालै चल्न सक्ने भए पनि अन्य सार्वजनिक यातायातलाई तयारी गर्न समय लाग्न सक्ने बताए ।

ट्याक्सीमा चालकबाहेक २ जना मात्र चढ्न पाउनेछन् ।सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जनामात्र बस्न पाउनेछन् । ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ भने यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ ।

चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ । एक दिनमा एक पटक बस निसंक्रमण पनि गर्नुपर्नेछ ।

यसरी बसमा आधा मात्रै यात्रु चढाउन्जेल ५० प्रतिशत बढी भाडा लिन पाउने भएको छ । अब सार्वजननिक सवारीमा चढ्दा हालको भाडाको दोब्बर पैसा तिनु पर्नेछ ।