‘पञ्चायती शैलीमा सडकमा ओलीको जयजयकार’

काठमाडौंको कमलादीमा रहेको मार्काेपोलो र ठमेलमा रहेको मनाङ होटेलमा बन्छन् ओलीका सडक प्रर्दशनका योजना

सफल खबर संवाददाता

विहीबार, २५ असार २०७७, ०९ : ०५
‘पञ्चायती शैलीमा सडकमा ओलीको जयजयकार’

काठमाडौं । हुन त, प्रधानमन्त्री केपी ओलीले बुधबार प्रचण्डसँगको छलफलमा झण्डै दुई तिहाई मतका साथ राज गरिरहेका प्रधानमन्त्रीलाई फाल्न खोजेपछि जनता स्वःस्फूर्त सडकमा आउदैनन् त ? भन्दै आफनो प्रतिरक्षा गरेपनि अचेल सडकमा उनले योजनाबद्ध रुपमा सरकारी श्रोतसाधन दुरुपयोग गर्दै मान्छेहरु उतारिरहेका छन् ।

आफ्नै पार्टीका शीर्ष सबै नेताहरु उनको स्वेच्छाचारिता र अहंकारवादी नीतिको विरुद्दमा एकगठ भएर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदवाट राजीनामा दिन माग गरेपछि उनले अहिले सडकमा पञ्चायत शैलीमा प्रर्दशन गर्न लगाएका छन् ।  मध्यरात ११ बजेपछि आफु निकट युवा र विद्यार्थी संगठनका नेतालाई बालुवाटार बोलाएर ओलीले सडक प्रर्दशन गर्न निर्देशन गरेपछि ओलीको पक्षमा उनकै निकटहरुे सडकमा उत्रेका छन् ।

राजा महाराजाका पालामा जनताले गुणगान नगाई दिएपछि आफ्नै समर्थकको हुलहुज्ज्तलाई सडकमा उतारेर जयजयकार गर्न लगाउने र आफुसँग जनता साथ रहेको भ्रम छरेर दरबारमा रमाएर बस्ने दरबारको पञ्चायत शैली थियो । अहिले प्रधानमन्त्री ओलीले ठिक त्यस्तै गरेका छन् । सडकमा उनले विद्यार्थी संगठनका संयोजक ऐन महर र युवा संगठनका रमेश पौडेललाई आफनो पक्षमा जनमत देखाउन र प्रर्दशन गर्न मध्यरात बालुवाटार बोलाएर निर्देशन दिएका थिए । त्यसपछि ८ लाख पार्टी सदस्य भएको नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको पक्षमा मुश्किलले सय, पचास जनाको जुलुस निकाल्न लगाएर जयजयकार गराउन लगाएका छन् । 

आफुलाई निक्कै राष्ट्रवादी देखाउन खोजेर ओली आफैले राज्यको स्रोत साधन निकट नेताहरुलाई दिएर अहिले सडकमा प्रर्दशन गर्न लगाएका छन् । यसका लागि काठमाडौंभित्र कमलादीमा रहेको मार्काेपोलो होटेल र ठमेलमा रहेको मनाङ होटेलमा लाखौं खर्चेर बैठक गर्ने, मान्छे परिचालनका योजना बनाउने लगायतका काम गर्दै आईरहेका छन् । प्रचण्डले प्रधानमन्त्रीको पक्षमा सडकमा देखाउन थालेको पञ्चायत शैलीको प्रर्दशन रोक्न बुधबार ओलीसँगको भेटमा आग्रह गर्दा ओलीले जनमत भएको प्रधानमन्त्रीको पक्षमा स्वतस्फूर्त प्रर्दशन हुने र अझ यो उर्लेर आउने बताएका थिए । 

तर कोभिड १९ को महामारीका बेला पनि आफनो ब्यक्तीगत स्वार्थका लागि सडकमा सय, पचास जना उतार्नका लागि पनि प्रधानमन्त्रीले राज्यकोषको ढुकुटीबाट दोहोन गरिरहेको खुलेको छ । मार्काेपोलो होटेल हाइड्रो ब्यापारी दिपक भट्टका दाई शुसिल भट्टको लगानी रहेको होटेल हो । भट्टलाई ओली सरकारले योजना आयोगको सदस्यका रुपमा नियुक्ती दिएका छन् ।  ओलीले सडकमा आफ्नो पक्षमा मान्छे उतार्न दिएको निर्देशनलाई नेकपाकै केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले त लाजलाग्दो प्रर्दशन देखाएको भन्दै ब्यङग्य नै कसेकी थिइन् ।

विधि विधान नमान्ने, पार्टीको बैठकमा नजाने र आफनो ब्यक्तिगत स्वेच्छाचारिताका लागि सडकमा आफनो पक्षमा जनमत रहेको देखाउन पर्दा पछाडी बनाईरहेको योजना र गरिरहेको प्रर्दशन काठमाडौंको हकमा मार्काेपोलो होटेल र मनाङ होटलमै बसेर बनाइने योजनामा केन्द्रीत रहेको खुलेको छ ।  ओली समुहले आजका लागि होइन भोलिका लागि पनि ओली भन्दै ओलीको जयजयकार गराउन खोजेको प्रर्दशनले ओलीकै मजाक उडाईरहेको छ ।

पार्टीका नेताहरुलाई कथित आरोप लगाउदै आफुलाई अब्बल नक्कली राष्ट्रवादी चित्रण गर्दै उनको पक्षमा गरिएको प्रर्दशन ओलीले पार्टी विभाजनका लागि गरेको रिर्हशलका रुपमा पनि लिन थालिएको छ । ओलीको फोटो सहितको टिर्सट बनाउने, ओलीका नाममा ब्यानर र प्लेकार्ड बनाएर अहिले प्रर्दशन गराउन लाखौं रुपैया प्रधानमन्त्रीको नीजि सचिवालय मार्फत परिचालन गरिएको स्रोतहरुले बताएका छन् । यसमा खेलकुदमा नियुक्ति लिएका ब्यक्तीहरु, युवा र विद्यार्थीका आफु निकट नेता कार्यकर्तालाई परिचालन गरिरहेको खुलेको छ ।  

प्रतिक्रिया दिनुहोस