कविता : मलाई त यहीँ रहनु छ

मंगलबार, १६ असार २०७७, १७ : ५९
कविता : मलाई त यहीँ रहनु छ

 

- नवीन प्यासी

जाने भए जाऊ तिमी 
मलाई त यहीँ रहनु छ
छोएर आऊ 
हरेक सेकेन्ड बोथिलिइरहने समुद्र 
उँटले युगदेखि नाप्न खोजिरहेको मरुभूमि 
अझैसम्म पनि शाषण गरिरहेको सम्राटको सालिकमा 
एक सेल्फी लिएर आऊ 
प्रिय मान्छे,
मलाई त यहीँ रहेर प्रश्न गरिबस्नु छ, 
हाम्रो मुठ्ठीमाथि राजनीति गरिरहने को हो ?
को हो त्यो 
माफियालाई मुलुक दिएर 
आँखैअघि ढलेको साथीलाई सहीद घोषणा गर्ने ? 
हाम्रो मृत्युमा मुनाफा देखिहिँड्ने आँखा कसको हो ? 
मलाई त यहीँ उभिएर गाइबस्नु छ, हाम्रो सम्बन्धको गीत 
यहीँ बसेर खोजिबस्नु छ 
फ्रस्टेसन र डिप्रेसनले ठुँगिरहनुको कारण 
खोजिबस्नु छ उत्तर  
कसले थुनिरहेछ आँधीलाई पुर्स्थापना केन्द्रमा ?
को हो त्यो नेपथ्यमा बसेर
आधुनिक हिप्पी हुन मोटिभेट गरिरहने ?
निराशाको मन्दविष पिलाइरहने को हो ? 
जाने भए जाऊ तिमी 
मलाई त यहीँ बसेर पूरा गर्नु छ
तिमी र मैले देखेको बाँकी सपना
हेरेर आऊ स्वतन्त्रताको महानाटक - "स्टाच्यु अफ लिबर्टी" 
छोएर आऊ लासमाथि उभिएको प्रेमको प्रतीक - ताज महल 
हिँडेर आऊ पसिनाको नुनिलो नहरजस्तो - ग्रेट वाल
भेटेर आऊ बन्दुक बोक्नुको अर्थ नबुझिरहेको - अफगानी बालकलाई
सुनेर आऊ राष्ट्रवादले घाँटी अठ्याएको -
कुनै मुलुकको अनागरिक सुस्केरा 
बोलेर आऊ 
घरको ठेगाना भुलेकी सिरियन बालिकासँग
सुमसुम्याएर आऊ
भर्खरै खाग काटिएको एक सिंगे गैँडालाई 
तस्करले बाँकी राखेको एक मात्र सेतो जिराफलाई 
प्लास्टिकको थुप्रोमाथि लम्पसार परेको ह्वेललाई
सुस्तरी चिहाएर आऊ 
अमेजनको डढेलोमाथि खसिरहेको आदिवासी आँसुलाई 
प्रिय मान्छे 
जाने भए जाऊ तिमी
मलाई त यहीँ रहनु छ  र गाउनु छ हाम्रो समयको गीत !
कुनै दिन 
संसार घुमिसकेर या बुझिसकेर यहीँ फर्कनेछौ 
त्यो दिन म यहाँ नहुन सक्छु  
तिम्रो एक मुस्कानका लागि बाँचिहिँड्ने कोही नहुनसक्छ 
तिम्रो एक चोटमा हजारपटक दुखिहिँड्ने कोही नहुनसक्छ 
तिम्रो उपस्थितिमा आफूलाई बिर्सिहिँड्ने कोही नहुनसक्छ 
तिमीले यहाँ टेक्दै गरेको दिन 
यो माटो या यो बाटो तिम्रो नहुनसक्छ 
यो देश तिम्रो नहुनसक्छ  
केही केही नहुन सक्छन् तिम्रो आफ्नो भन्नू 
जाने भए जाऊ तिमी 
मलाई त यहीँ रहनु छ 
र संसार डुल्न निस्कनुअघि जसरी पनि पत्तो लगाउनु छ 
को हो त्यो मान्छे, जो आफूलाई मात्र मान्छे भन्ठान्छ ?

प्रतिक्रिया दिनुहोस