- श्रवण मुकारुङ
धेरै बर्ष पहिले
कुनै चिसो महिना
फुसफुस हिउँ परेको थियोे
हो,यहीँकहीँ
हाम्रो भेट भएको थियोे
यहाँका यी घर, मन्दिर, गुम्बा र फूलहरू
छिनभरमै सेताम्मे भएका थिए
तिम्रो ओठ काँपिरहेको थियो
मेरा दुवै कान ताता भएका थिए
शिशिर ऋतु मुस्काएको थियोे ।
सायद तिमी दोमनमा थियौ
जसरी
मानिस आफ्नो इच्छा र अतीतबीच तनावग्रस्त हुन्छ ।
निकैबेर
बाटोलाई नियालेर तिमीले
भिजेको छातालाई फनफनी घुमाउँदा
मेरो आँखा लेकको भीर भएको थियो
तिमी सुनाखरी भएकी थियौ
बतास सल्वलाएको थियोे
उमङ्गका पातहरू
हाम्फाल्दै झरेका थिए, यो माटोमा ।
तिमी त्यस दिन
जात्रामा हो या कतै जान निस्किएकी हुनुपर्छ
थाहा छ ?
त्यो क्षण
हामी हाम्रो हृदयको भीडमा अल्मलिएका थियौँ
उद्दार गरेका थिए एक हूल युवाहरूले
उनीहरूका गोरो र शान्त अनुहारभरि
खैरो वाफ फैलिएको थियोे ।
यहीँकहीँ
एउटा धूपीको रूख थियो
एउटा पाटी थियो
एउटा ढुंगेधारो थियो
गहुँको छ्वालीमाथि मस्त निदाएको
एउटा बिरालो थियो, समयको
तर ती सव छैनन् आज
ती युवकहरू पनि छैनन् आज ।
मैले भनेको थिएँ तिमीलाई
पृथ्वी गोलो छ
फेरि हाम्रो भेट हुनेछ ।
यसरी,
यतिका बर्षपछि भेट हुँदा पनि
तिमी उस्तै छ्यौ त
अहँ, तिमी एकरत्ति फेरिएकी छैनौ त
तिम्रो गोलो मौनता उहीँ छ
लामाझैं तिम्रा स्तन
उसरी नै ध्यानस्थ छन् छातीमा
तिमी सम्झनाजस्तै सदाबहार छ्यौ ।
आज पनि तिमी
कतै जान लागिरहेकी छ्याै सायद
जात्रा, जुलुस वा कहीँ
आज पनि तिमी दोमनमा छ्यौ सायद
सुन त,
साँच्ची,मेरो आँखा घोच्ने
खोइ तिम्रो शब्दको त्यो छाता ?
धेरै बर्षपछि , यसरी
फेरि हाम्रो भेट भयो
तर तिमीले त त्यो छातै बोक्न भुलिछ्यौ हगि ?
हेर यी चराहरू
कस्तरी हतार गर्दैछन् बेंसी झर्न
यी घरहरूबाट निस्केको धूपको सुगन्धले
फूलहरूको वास्ना बिर्साइरहेछ
यी मन्दिर र गुम्बाहरूबाट निस्केका घण्टका ध्वनिहरूले
मानिसहरूको आवाजलाई छोपिरहेछ ।
धेरै बर्षपछि
फेरि यहाँ हिउँ पर्लाजस्तो छ
फेरि तिम्रो ओठ काँप्छ होला
फेरि मेरो कान तातो हुन्छ होला
फेरि हामी
हाम्रो हृदयको भीडमा हराउँछौँ होला । (२०५१, काठमाडौं)
प्रतिक्रिया दिनुहोस