भीड नियन्त्रण गर्न अब पानीको फोहोरा

मंगलबार, १६ असार २०७७, ११ : ३३
भीड नियन्त्रण गर्न अब पानीको फोहोरा

२९ जेठ २०७७ मा प्रधानमन्त्री निबास बालुवाटर घेर्न पुगेका प्रर्दशनकारीलाई पानीको फोहोराले हान्दै नेपाल प्रहरी । तस्वीर: विक्रम राई

प्रजु पन्त : खोज पत्रकारिता केन्द्र

२९ जेठ २०७७ मा प्रधानमन्त्री निवास बालुवाटर घेर्न पुगेका प्रदर्शनकारीलाई नेपाल प्रहरीले भाटभटेनीबाट अघि बढ्न दिएन । घम्साघम्सी भएपछि प्रहरीले प्रदर्शनकारीलाई लखेट्यो । भागदौडको क्रममा भीड नियन्त्रण गर्न भनेर प्रहरीले गैह्रीधारामा ‘टियर ग्याँस’ हान्यो ।

सरकारले कोरोना प्रकोप विरुद्ध प्रभावकारी काम गर्न नसकेको, गुणस्तरहीन क्वारेन्टाइन बनाएको, पीसीआर टेष्टको दायरा नबढाएको भनेर असन्तुष्ट युवाहरू स्वस्फूर्त सडकमा निस्किएका थिए । उनीहरूलाई तितरवितर पार्न प्रहरीले ११ सेल ‘टियर ग्याँस’ हानेको थियो ।

प्रहरी प्रवक्ता निरजबहादुर शाहीले भीड नियन्त्रणका लागि प्रहरीले पानीको प्रयोग गर्न थालेको बताए । तर २९ जेठको प्रदर्शनमा किन टियर ग्याँस प्रयोग गरिएको भन्ने प्रश्नमा शाहीले भने, “शुरूमा हामीले टियर ग्याँसको प्रयोग गरेका थिएनौं । भीड नियन्त्रण गर्नै नसक्ने अवस्थामा पुगेपछि टियर ग्याँस प्रयोग गरिएको हो ।” शाहीले प्रहरीले न्यूनतम बलको सिद्धान्त अनुसार नै त्यस दिन पनि भीड नियन्त्रण गरेको बताए ।

१२ जेठ २०७७ मा खोज पत्रकारिता केन्द्रले १० वर्षअघि म्याद सकिएका ‘टियर ग्याँस’ अझै प्रयोगमाः जनस्वास्थ्यमा गम्भीर खेलबाड शीर्षकमा समाचार प्रकाशित गरेको थियो । समाचारमा भीड नियन्त्रणको लागि टियर ग्याँस प्रयोग गर्नु मानव स्वास्थ्य माथि गम्भीर खेलबाड भएको उल्लेख थियो ।

अमेरिकामा हालै मात्र अश्वेत नागरिक जर्ज फ्लोइड हत्या विरुद्ध भड्किएको प्रदर्शनलाई नियन्त्रण गर्न टियर ग्याँसको प्रयोग गरिएको थियो । टियर ग्याँस प्रयोगको विरोध गर्दै १९ जेठ २०७७ मा अमेरिकी पूर्व राष्ट्रपति विल क्लिन्टनका श्रम सचिव तथा अर्थविद् रोबर्ट रिचले ‘तपाईंहरूलाई थाहा होला टियर ग्याँस युद्धकालमा नै प्रतिबन्धित रासायनिक हतियार हो’ भनेका छन् । नागरिक अधिकारका लागि सडकमा आएकाहरुमाथि टियर ग्याँस प्रयोग गरेकोले अमेरिकी सरकारको आलोचना भएको छ ।

अमेरिकी पत्रिका युएसए टुडेको समाचार अनुसार रोबर्ट रिचले सामाजिक संजालमा शेयर गरेको उक्त धारणामा टिप्पणी गर्दै एक व्यक्तिले ट्विट गरेका छन्, “नागरिकहरु फोक्सोमा संक्रमण गर्ने कोरोनाभाइरसविरुद्ध लडिरहेका बेला फेरि त्यही फोक्सोलाई नै थप क्षति गर्ने रासायनिक हतियारको प्रयोग भैरहेको छ ।”

समाचारका अनुसार उनको भनाइपछि धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले कोरोना महामारीको बेला यस्तो ग्याँस प्रयोग गर्नु नागरिकको स्वास्थ्यमाथि खेलबाड भएको बताएका छन् । यसबारे युएसए टुडे ले ‘फ्याक्ट चेक’ समेत गरी टियर ग्याँसले मानव स्वास्थ्यमा खासगरी व्यक्तिको फोक्सो, आँखा छाला तथा घाँटी र मुखको भित्री भागमा समेत विभिन्न असर पर्ने निक्र्यौल गरेको छ ।

पत्रिकाले डाक्टर रोबर्ट ग्लैटरलाई उद्धृत गर्दै अश्रुग्याँस ‘ग्याँस’ मात्र नभई खास किसिमको पाउडरलाई तताएर घोलकमा मिसएर बनाइने एक प्रकारको झोल हो जुन हावामा मिसिएपछि ग्याँस बन्दछ र यसले मानव स्वास्थ्यमा असहज हुने मात्र हैन आँखा, घाँटी, फोक्सो, छालामा समेत गहिरो चोट पु¥याउने बताएका छन् । टियर ग्याँसले आँखाको मांसपेशीलाई गम्भीर असर पार्ने उनको दाबी छ ।

टियर ग्याँसले श्वासप्रश्वासमा समस्या गराउने र अक्सिजन लिन नसक्दा अचेत भई मृत्युसमेत हुनसक्ने भनी पत्रिकाले लेखेको छ ।

नेशनल क्यापिटल पोइजन सेन्टरका मेडिकल निर्देशक डा. केली जोनस आर्बरले युएसए टुडेलाई बताए अनुसार, ‘टियर ग्याँसको खोका छुँदा पोलेर घाउँ समेत हुन सक्छ ’ भन्ने समाचार छापिएको छ ।

संयुक्त राष्ट्र संघको १९२५ को जेनेभा प्रोटोकलले टियर ग्याँसलाई रासायनिक हतियारको सूचिमा राखेकोे र पहिलो विश्वयुद्धपछि यसको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । तीन बर्षपछि अर्थात् १९२८ मा संयुक्त राष्ट्र संघको सम्मेलनले उक्त प्रोटोकल अनुमोदन गरेको कुरा संयुक्त राष्ट्र संघको वेभसाइटलाई उद्धृत गर्दै पत्रिकाले लेखेको छ ।

खोपकेले टियर ग्याँसको प्रयोग मानव स्वास्थ्य माथि गम्भीर खेलबाड भएको रिपोर्ट प्रकाशित गरेपछि प्रहरीले टियर ग्याँसको प्रयोग बारे आफ्नो संगठनभित्र छलफल शुरू गरेको बुझिन्छ । प्रहरी प्रवक्ता निरजबहादुर शाहीले भने, “त्यो समाचार पढेपछि मैले सम्बन्धित निकायमा कुरा राखेको छु । टियर ग्याँस प्रयोग सम्बन्धमा तत्कालै अध्ययन हुन्छ । अध्ययनको निचोड अनुसार यसको प्रयोग बारे एउटा निक्र्योलमा पुग्छौं ।”

प्रतिक्रिया दिनुहोस