चोरीका मोटरसाइकल किन्दै प्रहरी

पत्रपत्रिकाबाट

मंगलबार, १५ फागुन २०७४, ०७ : ३८
चोरीका मोटरसाइकल किन्दै प्रहरी

सर्लाही । मोटरसाइकल हराउने घटना निरन्तर वेद्धि हुने तर चोरीमा संलग्न हुनेहरु पक्राउ नपरेपछि पछिल्लो समय हरिवन प्रहरीले नयाँ जुक्ति निकालेको छ ।

चोरीमा संलग्न हुनेलाई प्रमाणसहित नियन्त्रणमा लिनका लागि प्रहरीले त्यस्ता मोटरसाइकल किन्न सुरु गरेको हो । आजकोनागरिक दैनिकको पृष्ठ ५ मा यो खबर छ ।

केहि दिन अघि इलाका प्रहरी कार्यालय हरिवनको टोलीले रौतहट प्रहरीको सहयोगमा सर्लाहीको मिलनचोकस्थित जीवन गैरेको घरमा राखेको ना ४८ प ४३८३ नम्बरको पल्सर मोटरसाइकल किन्ने बहानामा नियन्त्रणमा लिएको थियो ।

उक्त मोटरसाइकल बेच्न खोजेका चन्द्रपुर नगरपालिका ८ बस्ने अनुकेशकुमार चौधरीलाई प्रहरीले किन्ने बहानामा नियन्त्रणमा लिएको थियो ।

'विशेष सुराकीका आधारमा चोरीको उक्त मोटरसाइकल रौतहटमा बिक्रीमा छ भन्ने थाहा पायौं ।' इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक रामकाजी थापाले भने, 'रौतहट प्रहरीको सहयोगमा सादा पोसाकको टोली खटाएर ५० हजार रुपैयाँ मूल्य राखिएको उक्त मोटरसाइकल १५ हजार बैना दिएर हरिवन ल्यायौं ।'

बाँकी रकम हरिवनमा दिने भन्दै अभियुक्त चौधरीलाई समेत सँगै ल्याई नियन्त्रणमा लिएर कानुनी कारबाही अगाडि बढाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस