कविता : प्रदुषित हावा

शनिबार, ०६ असार २०७७, १२ : ५९
कविता : प्रदुषित हावा


– विवेकी

बेलाबखत किन चल्छ 
प्रदुषित हावा यो शहरमा ?
र, कुरीकुरी गर्छ 
सुधा मनहरुलाई ?
प्रदुषित हावाले
दिन सक्दैन
कुनै ताजा स्फूर्ती
फैलाउन सक्दैन
कुनै आकस्मिक सामथ्र्य लहर
र गिजोल्न सक्दैन
कुनै अभिजात चेतना
बस्
बिथोल्छ अलिअलि
निम्छरो तहको दैनिकी ।
यसबखत
अचम्मित छ सारा जगत
प्रदुषित हावाको आत्मरति
त्याग्न पटक्कै जाँगर नदेखाएकोमा
ताजा र स्वस्थ हावाको स्पर्श लिएर
जीवनमार्गमा जुध्न नसकेकोमा
मानौँ, यसबखत
अनौठो स्पर्धा चल्दैछ
सफल कलाकारमा दरिनुको

आह्लादित छ एउटा तप्का
कलात्मक टाटु विज्ञापित गराउनुमा ।
प्रदुषित हावा
अचाक्ली बढ्न थालेपछि
दुर्लभ भएको छ रायोको स्वाद
सुलभ भएको छ हिटरको ताप
जतिसुकै बिझाओस् पौरख–पसिना
जतिसुकै चहराओस् पाखुरी–सपना
बेवास्ता गर्दै सारा जीवन
अझै प्रतिवद्ध छन् केही क्लाइन्टहरु
प्रदुषित हावा सञ्चिती गर्न
प्रदुषित हावाको गीत गाउन ।

प्रतिक्रिया दिनुहोस