कोरोना नियन्त्रणमा सरकार भएको कांग्रेसको निष्कर्ष , केन्द्रदेखि सबै जिल्लाले सरकारलाई ज्ञापनपत्र बुझाउने

सफल खबर संवाददाता

सोमबार, २६ जेठ २०७७, २१ : २१
कोरोना नियन्त्रणमा सरकार भएको कांग्रेसको निष्कर्ष , केन्द्रदेखि सबै जिल्लाले सरकारलाई ज्ञापनपत्र बुझाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले कोरोना महामारीको रोकथाम र नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ । 

कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा कांग्रेसले सरकारको गल्ती कमजोरी औल्याउँदै लिनुपर्ने पहलकदमीबारे सरकारको ध्यानआकर्षण गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ । 

पर्याप्त स्वास्थ्य सामाग्री आपूर्ति गर्न नसक्नु, आपूर्ति भएका सामाग्रीमा भ्रष्टाचार हुनु, व्यवस्थित क्वारेन्टिन नहुनु, परीक्षण किटको अभाव हुनु लगायतले सरकारको असफलता उदांगो गरेको कांग्रेसले बताएको छ ।

केन्द्रदेखि सबै जिल्ला कार्यासमितिले पनि सरकारलाई ज्ञापनपत्र बुझाउने भएका छन् । केन्द्रीय सदस्य रमेश लेखकका अनुसार बैठकले सरकारको कमजोरी औल्याउँदै आगामी पहलकदमीबारे सरकारको ध्यानआकर्षण गराउन प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय समेत गरेको छ । 

पार्टीका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाउने छ । बैठकले सरकारले लकडाउन गर्ने बाहेकका कुनै पनि काम गर्न नसकेको ठहर गर्दै वरिष्ठ नेता पौडेलको नेतृत्वमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने भएको हो । यस्तै प्रत्येक जिल्लामा पार्टीका सभापतिहरुले प्रमुख जिल्ला अधिकारी मार्फत् ज्ञापन बुझाउने तय भएको लेखकले जानकारी दिए ।