काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसभित्रको क्रियाशील सदस्यता विवाद नौलो होइन । लामो समयदेखि समाधान हुन नसकेको विवादलाई सो पार्टीले चैतसम्ममा टुंगो लगाउने लक्ष्य लिएको छ । कांग्रेसको विधान अनुसार साधारण सदस्यता लिएको एक वर्षपछि क्रियाशील सदस्यता वितरण गर्ने व्यवस्था छ ।
तर पनि २०६७ सालदेखि नै क्रियाशील सदस्यताको विवाद मिल्न सकेको छैन । २०६७ असोजमा भएको १२ औं महाधिवेशनमा निस्केको विवादका कारण पुरानै क्रियाशील सदस्यबाट महाधिवेशन भएको थियो । त्यसबखत सुशील कोइराला सभापति चयन भएका थिए ।
त्यसपश्चात् २०७२ फागुनमा १३ औँ महाधिवेशन भएर पार्टी सभापति शेरबहादुर देउवा चयन भए । त्यसबेला पनि समाधान नभएको क्रियाशील सदस्यता विवाद पार्टीको १४ औँ महाधिवेशन सकिएर सभापति शेरबहादुर देउवाको कार्यकाल आधाभन्दा बढी भएपनि अहिलेसम्म हल हुन सकेको छैन । अहिले नेतृत्वले महाधिवेशनको तयारी गरिरहँदा क्रियाशील जस्तो महत्त्वपूर्ण विषयमा देखिएको विवाद हल गर्नका लागि प्रक्रिया अघि बढाइएको हो ।
२०७८ मंसिरमा भएको १४ औँ महाधिवेशनका बेला कांग्रेसमा ८ लाख ८२ हजार ८ सय १६ जना क्रियाशील सदस्य थिए। यतिबेला कांग्रेसभित्र १५ औँ महाधिवेशन केन्द्रित बहस र छलफल हुन थालिसकेको छ । घोषित तथा अघोषित रूपमा महाधिवेशनबाट नेतृत्वमा पुग्न चाहनेहरू दौडमा लागेका छन् । यहीबिचमा महाधिवेशनको प्रस्थानविन्दु मानिने सदस्यतासम्बन्धी विवाद निवारणका लागि भन्दै कांग्रेसले २०८१ चैत २९ गतेलाई सिमानै तोकेर तल्ला तहलाई पत्राचार गरेको हो ।
पार्टीमा महामन्त्री गगन थापा नेतृत्वमा सदस्यता व्यवस्थापन केन्द्रीय समिति रहेको छ । जसको सदस्यमा प्रकाश स्नेही रसाइली‚ सीता गुरुङ तथा योगेन्द्र चौधरी रहेका छन् । समिति सदस्य स्नेहीका अनुसार समितिले ७७ जिल्ला कार्यसमितिका सभापतिलाई बिहीबार परिपत्र गर्दै चैत २९ गते अपराह्न ३ बजेभित्र क्रियाशील सदस्यता नवीकरण विवरण केन्द्रीय कार्यालयमा पठाउन निर्देशन जारी गरिएको छ ।
कांग्रेस महामन्त्री गगनकुमार थापाले हस्ताक्षर गरेर पठाइएको परिपत्रमा क्रियाशील विवरण मात्र नभई अनिवार्य शुल्क समेत उठाएर केन्द्रीय बैंकको भौचरमा डिपोजिट गर्न भनिएको छ ।
समिति सदस्य प्रकाश स्नेही पार्टीले पहिले क्रियाशील सदस्यता नवीकरण सक्ने र त्यसपछि मात्रै नयाँ क्रियाशील सदस्यता वितरण गर्ने तयारी गरेको बताए ।
उनले नयाँ क्रियाशील सदस्यता वितरणका लागि वैज्ञानिक प्रक्रिया अवलम्बन गर्न जातजाति, जनसङ्ख्या, लिङ्ग, पार्टीले प्राप्त गरेको मतको प्रतिशत सन्तुलन हुने गरी प्राविधिक र विज्ञहरूको सहयोगमा समितिले अध्ययन गरी आवश्यक निर्णय लिने तयारीमा पार्टी रहेको जानकारी दिए।
के छ कार्य तालिकामा ?
कांग्रेसले एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लाका हकमा जिल्ला सभापतिलाई माघ १२ गते अपराह्न ५ बजेसम्म अनिवार्य रूपमा फारम पठाइसक्न निर्देशन दिएको छ । यस्तै‚ एक मात्र प्रतिनिधि सभा क्षेत्र भएको जिल्लामा जिल्ला सभापतिलाई माघ १३ गते अपराह्न ५ बजेसम्म प्रदेश सभा क्षेत्रीय सभापतिलाई अनिवार्य रूपमा क्रियाशील सदस्यता फारम र नामावली बुझाइसक्न परिपत्रमा उल्लेख गरेको छ ।
परिपत्र अनुसार प्रदेश सभा क्षेत्रीय सभापतिले गाउँ तथा नगरका सभापतिलाई क्रियाशील नवीकरण फारम र सम्बन्धित गाउँ–नगरभित्रका क्रियाशीलको नामावली माघ १४ गते अपराह्न ५ बजेसम्म बुझाइसक्नुपर्ने स्नेहीले बताए । यस्तै गाउँ नगरका सभापतिले आफूले प्राप्त गरेको क्रियाशील सदस्यता नवीकरण फारम र सम्बन्धित वडाका क्रियाशील सदस्यको नामावली माघ १५ गते अपराह्न ५ बजेभित्र अनिवार्य रूपमा वडा कार्यसमितिका सभापतिलाई बुझाइसक्नुपर्ने छ ।
परिपत्रमै कांग्रेसले फारम पाएपश्चात् तहगत समितिले विवरण शुल्क सहित फिर्ता गर्नुपर्ने समयको सीमा पनि तोकेको छ । जसमा वडा सभापतिले क्रियाशील सदस्यता फारम पाएपछि माघ १५ गतेदेखि फागुन १ गतेभित्रमा वडा कार्यसमिति बैठक राखेर क्रियाशील सदस्यता नवीकरण गर्ने र नवीकरण शुल्क दुई सयका दरले लिने उल्लेख छ । यस्तै क्रियाशीलका विवरण र शुल्क गाउँ तथा नगरमा बुझाउने उल्लेख छ ।
यस्तै वडाबाट आएको क्रियाशील नवीकरण फारम र शुल्क फागुन १० भित्र प्रदेश सभा क्षेत्रीय कार्यसमितिमा बुझाउने तथा गाउँ तथा नगरबाट प्राप्त क्रियाशील सदस्यको नवीकरण फारम र सदस्यता शुल्क फागुन २० गतेभित्र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा बुझाउने समय सीमा तोकिएको छ ।
समिति सदस्य स्नेहीका अनुसार प्रदेश सभा क्षेत्रबाट प्राप्त क्रियाशील सदस्यता नवीकरण फारम र सदस्यता शुल्क फागुन मसान्तभित्र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिमा बुझाउने‚ एकभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्रदेश सभा कार्यसमितिबाट प्राप्त क्रियाशील र सदस्यता शुल्क चैत १५ गतेभित्र जिल्ला कार्यसमितिमा बुझाउने समय सीमामा उल्लेख छ ।
यसबाहेक नवीकरण भएका क्रियाशील सदस्यको नामावली विवरण र वडागत सङ्ख्यासहित सदस्यता शुल्क कांग्रेस केन्द्रीय कार्यालयको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा गरी भौचर चैत २९ गते अपराह्न ३ बजेभित्र केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा पठाउने उल्लेख छ ।
‘नवीकरण रकम, नामावली र वडागत सङ्ख्या विवरण केन्द्रमा प्राप्त भएपछि मात्र पार्टीको वेबसाइटमा नवीकरण डाटा इन्ट्री गर्नका लागि युजरनेम र पासवर्ड उपलब्ध गराइनेछ‚’ परिपत्रमा उल्लेख छ । स्मरण रहोस् कांग्रेसमा क्रियाशील सदस्यता नभएको व्यक्ति वडा देखि केन्द्रसम्मका पार्टी नेतृत्वमा जान नपाउने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ माघ २०८१, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मैले र गगनले कुलमान हटाउन हुँदैन भनेका थियौं: विश्वप्रकाश शर्मा
देउवा निवास बूढानीलकण्ठमा कांग्रेसको चियापान, शेखर पनि सहभागी
कांग्रेस नेताहरुको सामाजिक सन्जालमा मजाक लाग्दो रोइलो
काँग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० सदस्य मनोनीत
भ्रष्टाचारमा दोषी ठहरिएका जिल्ला सभापतिलाई बर्खास्तको माग गर्दै प्रदर्शन
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै