सभापति देउवामाथि रामचन्द्र पौडेलको आरोपै आरोप- चुनाव हारमा सभापतिले कुनै नैतिक जिम्मेवारी लिनु पर्दैन ?

आइतबार, १३ फागुन २०७४, १८ : ०४
सभापति देउवामाथि रामचन्द्र पौडेलको आरोपै आरोप- चुनाव हारमा सभापतिले कुनै नैतिक जिम्मेवारी लिनु पर्दैन ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवालाई पार्टी सुधारका लागि आफूले दिएको सुझाव नमानेको भन्दै चुनावी हारको नैतिक जिम्मेवारी लिन चुनौति दिएका छन् ।  पौडेलले सभापति देउवामाथि आरोपै आरोप तेर्स्याउँदै पार्टी सुधारका विकल्प पेस गरेका छन् । आइतबार केन्द्रीय समितिको बैठकमा सभापति देउवालाई बुझाएको लिखित पत्रमा देउवाकै कार्यशैलीले पार्टी पराजित भएको बताएका छन् ।

“राजदुत  नियूक्तिमा मैले समयमै दिएका सुझावलाई तपाईले घोर उपेक्षा गर्नुभयो,” उनले लिखित विचारमा भनेका छन्, “आईजी काण्डमा त्यस्तै गर्नुभो महाअभियोग प्रकरणमा लोकले के भन्ला ? भन्ने कुरा वास्तै गर्नुभएन न्यायाधीश नियूक्तिमा अपारदर्शी शैलीको प्रयोगदेखि सबै रेकर्ड तोड्ने गरी औचित्य नै नभएका व्यक्तिहरु थुपारेर जम्बो मन्त्रिपरिषद गठनले पनि नागरिक समाजमा चरम वितृष्णा फैलायो । फिर्तै लिन वाध्य हुनुपर्ने नियूक्तिहरु, आफैलाई घाँडो वनेर लाचारीपूर्वक पछि हटनुपर्ने महाभियोग जस्ता प्रकरणले कांग्रेसको छवीनै ध्वस्त पारे अनि जनतामा हाम्रो लोकप्रियता कहाँ पुग्यो र हामीले चुनाव जित्ने कसरी ?”

पौडेलले  प्रचण्डलाई एमालेबाट किन ल्याएको र एमालेमै जाने बेला के प्रयत्न गर्नुभयो ? भनेर पनि प्रश्न गरेका छन् । “प्रचण्डलाई एमाले सरकारवाट छुटाएर ल्याएँ भनेर गर्व गर्नुभयो, फेरि छोडेर एमालेमा मिल्न पुग्दा के प्रयत्न गर्नु भो ? वाम गठवन्धन कसरी वन्यो ? प्रचण्डलाई यतै राख्न मैले सहयोग गरेकै थिएँ र गर्न चाहेकै थिएँ । मधेश आधारित दलहरुसँग एकता वार्ता गम्भीर रुपले हुँदै भएन, उनका नेताहरुलाई भने ठाउँ सुरक्षित गरिदिने, हामीले के  लियौं ? रा.प्र.पा सँगको गठबन्धनको औचित्य पुष्टि हुन नसकेको मात्र हैन हाम्रो हातमा उल्टो परिणाम आयो ।”

पौडेलले भनेका छन् – “नेपाली कांग्रेसको तेह्राैं महाधिवेशनवाट तपाई पार्टी सभापतिमा निर्वाचित भएपछि मैले तपाईसँग एकदिन भेटेरै भने –  देउवा जी, तपाईको सिंगो नेपाली कांग्रेसको सभापति बन्ने ईच्छा पूरा भएको छ, दलको नेता पनि चुनिनुभयो – प्रधानमन्त्री पनि सहजै बन्न सक्ने हुनुभाको छ । अब तपाईले चाहेको सबै पूरा भयो । तसर्थ अब तपाईँ सानो समुहको संरक्षक बन्नपट्टि नलागेर सिङ्गो कांग्रेसको नेता बन्न लाग्नुहोस । योग्यता र योगदानको आधारमा सवै साथिहरुलाई समानरुपले मुल्याङ्कन गर्न थाल्नुहोस, म तपाईलाई पूरापूर सहयोग गर्छु– कांग्रेस एक बनाएर लैजाऔं । गूटवन्दी र भागवण्डाको अवस्थानै मेटिदिऊँ, सवैको भलो हुन्छ । नत्र भने तपाईले केही मान्छेलाई मात्र काखी च्याप्दा त्यसभन्दा वाहिर परेकाहरुलाई कसैले संरक्षण दिन पर्यो नि । अनि त्यस पछि गूटवन्दी कसरी मेटिन्छ ? तर तपाई तयार हुनुभएन । परिणाम आज के भयो ? कांग्रेसले कांग्रेसलाई हराएर आनन्द मान्ने ठाँउमा पुग्यौं । ”
आज पार्टीका सबै निकाय, सबै भातृ, शुभेच्छुक संस्था अस्तव्यस्त छन् । तपाईले के गर्नुभयो ? एउटा काम तपाईले गर्नुभयो – आफ्नो गुटको भरणपोषण । हो तपाईले आप्नो गुट मजवुत बन्यो होला, तर विचरा कांग्रेस झन् झन् दुर्बल बन्यो । उठ्नै गाह्रो हुने गरी लथालिङ्ग हालतमा, दुःख पाएका निष्ठावान कार्यकर्ता आम रुपमा उपेक्षित र कुण्ठित । सुदूर पश्चिमदेखि पूर्वसम्म तपाईको जयजयकार गर्नेबाहेक अरु मर्माहत ।
“पार्टी हारेको होईन उमेदवार हारेका हुन् !” यो कस्तो कुर्तक ?,” पौडेलको प्रश्न छ, “निर्वाचन पार्टीले लड्ने हो उमेदवार त्यसका प्रतीक हुन् भन्ने कुरा पनि तपाईलाई हेक्का रहेनछ ।  सात सात वटा प्रदेशमध्ये एउटा प्रदेशमा पनि आज कांग्रेसले खुट्टा राख्ने ठाम छैन । कस्तो नहारेको कांग्रेस हगि ! त्यहाँ तपाईले शेरबहादुर जिन्दावाद भनेर सिकाउनुभयो – कांग्रेस जिन्दावाद सिकाउनुभाको रैनछ– आज समयले त्यो देखायो । परिणाम त्यस्तो आयो । त्यसैले अब तपाईँ पार्टीप्रति चिन्ता गर्नुहुन्छ भने दोहर्याई तेहर्याई पद ओगटने काममा नलाग्नोस् । संसदीय दलको नेता अरु कसैलाई बन्न दिनोस् । आफ्नो स्वार्थको लागि पार्टी र प्रजातन्त्रलाई जोखिममा राख्ने हैन पार्टी, प्रजातन्त्र र राष्ट्रका लागि आफुलाई जोखिममा राख्ने नै निष्ठावान व्यक्ति हो । केन्द्रिय समितिका निर्णयलाई उपहास तुल्याउने  र उल्टयाउने काम बारम्बार भएको छ । अनि कसरी पार्टीमा संस्थागत विकास हुन्छ ?”
 

प्रतिक्रिया दिनुहोस