नेपाल कम्युनिष्ट पार्टीद्वारा राजनीतिक कार्यदिशा सार्वजनिक (पूर्णपाठसहित)

सफल खबर संवाददाता

शुक्रबार, ०४ असोज २०८१, १६ : ०५
नेपाल कम्युनिष्ट पार्टीद्वारा राजनीतिक कार्यदिशा सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले पार्टीको राजनीतिक कार्यदिशा सार्वजनिक गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी नेकपाको राजनीतिक कार्यदिशा सार्वजनिक गरिएको हो ।

यस्तो छ पूर्णपाठ
हाम्रो पार्टी नेपालको समग्र कम्युनिस्ट आन्दोलनमा विद्यमान दक्षिणपन्थी नव संशोधनवादी, नव प्रतिक्रियावादी र बुर्जुवा संसदीय प्रवृत्ति विरुद्ध मालेमावाद र राष्ट्रिय मुक्ति क्रान्तिको विचारले गरेको ऐतिहासिक विद्रोहको जगमा उभिएको छ । यसलाई केवल क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र क। किरणसँगको विद्रोहको रुपमा बुझ्नु विद्रोहको खिलाफ हुन्छ । वास्तवमा यो विद्रोहले नेपालमा मालेमावादको विकासका लागि एक नयाँ चरणको प्रतिनिधित्व गर्दछ ।

नेपाली समाजः नेपाल मुख्यतः नव औपनिवेशिक मुलुक हो । यहाँ इन्डो अमेरिकी साम्राज्यवादको राजनीतिक र आर्थिक प्रभुत्व कायम छ । सामान्यतः सुगौली सन्धिदेखि घरेलु प्रतिक्रियावादले साम्राज्यवादको सेवा र चाकरी गर्दै आएको छ ।

आधारभूत अन्तरविरोध सम्बन्धिः विकासक्रमको विषेश कालखण्डमा कुनैपनि समाजको आधारभूत अन्तरविरोध एउटै किसिमको हुन्छ । यसबखत नेपालको सर्वहारा वर्ग एवं उत्पीडित राष्ट्र(समुदाय र साम्राज्यवाद तथा घरेलु प्रतिक्रियावाद बीचको आपसी अन्तरविरोध नै वर्तमान नेपाली समाजको प्रधान अन्तरविरोध बन्न पुगेको छ ।

नीति, कार्यक्रम र कार्यदिशा सम्बन्धि स्हाम्रो पार्टी पत्रकार एवं सम्पूर्ण प्रेस जगत मार्फत नेपाली जनताका बीचमा स्वाधीनता, सर्वहारा अधिनायकवाद र समाजवाद स्थापनाको दृढ संकल्प सहित राष्ट्रिय मुक्ति क्रान्तिको स–गौरव घोषणा गर्न चाहन्छ । राज्यसत्ताको वास्तविक मालिक कुनै इन्डो अमेरिकी दलाल हुन सक्दैन, केवल यहाँको सर्वहारा वर्ग, मजदुर किसान एवं उत्पीडित राष्ट्र र समुदायहरु हुन ।

राष्ट्रिय मुक्ति क्रान्तिको कार्यदिशा नेपालको धर्तीमा मालेमावादको प्रयोग र विकास हो । यो नेपालको कम्युनिस्ट आन्दोलन, कम्युनिस्ट पार्टी र जनताको सामूहिक अनुभव र ज्ञानको सघनिकरण हो । यो साम्राज्यवाद, दलाल तथा नोकरशाही पुँजीवाद र सामन्तवादका विरुद्ध जुध्न पार्टीले विकास गरेको क्रान्तिको नयाँ वैचारिक मार्ग र हतियार हो ।

राष्ट्रिय मुक्ति क्रान्तिले नेपाली जनता र राष्ट्रलाई नव औपनिवेशिक साम्राज्य राज्य र आन्तरिक उपनिवेशबाट पूर्णतः मुक्त गर्नेछ । नयाँ जनवादी कार्यभार पुरा गरी समाजवादी गणतन्त्र नेपालको स्थापना गर्नेछ । सर्वहारा अन्तर्राष्ट्रियतावादको रक्षा र विश्व क्रान्तिको सेवा गर्नेछ । राष्ट्रिय मुक्ति क्रान्तिले संघर्षका दुवै तरिकाहरु अवलम्बन गर्नेछ । क) जन संघर्ष, ख) छापामार संघर्ष ।

पार्टी नाम सम्बन्धिः कम्युनिस्ट आन्दोलन पुनर्गठनको दृढ संकल्प सहित नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन गरिएको छ । कम्युनिस्ट साइनबोर्ड झुन्डाएर साम्राज्यवाद, दलाल तथा नोकरशाही पुँजिवाद र सामन्तवादको सेवा गर्ने नव संशोधनवादी, नव प्रतिक्रियावादी र बुर्जुवा संसदवादी प्रवृत्तिहरुबाट कम्युनिस्ट आन्दोलनलाई मुक्त गरिनेछ ।

पार्टीको संगठनात्मक प्रणाली र केन्द्रीय पार्टी संगठनः
पार्टी भनेको अवलम्बन गरेको नीति, कार्यक्रम, कार्यदिशा र विधान एवं जनवादी केन्द्रीयताको सिद्धान्तमा संगठित विपरितहरुको एकत्व हो । पार्टीको नेतृत्वदायी निकायहरू एकमा तीनको सिद्धान्त अनुसार वृद्ध, प्रौढ र युवाहरूको वैज्ञानिक प्रतिनिधित्वका आधारमा उच्च जनवादी छलफल र निर्वाचनद्वारा चयन हुनेछन । एकता(संघर्ष ( रुपान्तरणको भौतिकवादी द्वन्द्ववादको विधिद्वारा पार्टीलाई उन्नत र अभेद्य गरिनेछ । केन्द्रीय पार्टी संगठनमा संयोजक, सह(संयोजक, कार्यालय, सचिवालय र केन्द्रीय समितिको गठन गरिएको छ । सिङ्गो देशलाई विभिन्न भौगोलिक कमान्डले नेतृत्व गर्नेछन । पार्टीका आवाजहरु द्रुत सम्प्रेषणका निम्ति पार्टी प्रवक्ताको चयन गरिएको छ ।

संयुक्त मोर्चा सम्बन्धिः मजदुर, किसान, उत्पीडित राष्ट्र, समुदाय, बुद्धिजीवी, व्यापारी, जनवादी(समाजवादी र देशभक्त शक्तिहरुका बीच बृहत राष्ट्रिय एकता कायम गर्ने महान उद्देश्यका साथ राष्ट्रिय क्रान्तिकारी संयुक्त मोर्चाको गठन गरिएको छ ।

राष्ट्रिय मुक्ति मार्च सञ्चालन सम्बन्धिः पार्टीको सुदृढ नेतृत्वमा अविलम्ब राष्ट्रिय मुक्ति मार्च सञ्चालन गरिनेछ । पार्टीले स्थानीय सत्ताको अभ्यास सहित स्वाधीनता, सर्वहारा अधिनायकवाद र समाजवाद स्थापनाको संघर्षमा जनता र राष्ट्रको नेतृत्व गर्नेछ ।

संघर्ष सम्बन्धिः नेपाल कम्युनिस्ट पार्टीले भूमि व्यवस्था पुनर्गठनको माग सहित सामन्ती लालपूर्जा खारेज र सम्पूर्ण सार्वजनिक अतिक्रमित भूमि जफत गरी राष्ट्रियकरण गर्ने संघर्षको नेतृत्व गर्नेछ । साम्राज्यवादी प्रतिक्रियावादी संसदवादी गुट, दलाल तथा नोकरशाह, अभिजात सामन्त र बहुराष्ट्रिय कम्पनीको प्रभुत्वमा रहेको सम्पूर्ण पुँजी जफत र राष्ट्रियकरण गर्ने संघर्षको देशव्यापी नेतृत्व गर्नेछ । जनताको आवास, उत्पादन, स्वास्थ्य, शिक्षा र सुरक्षा आधारभूत र पूर्णतः राज्यप्रदत्त गर्ने संघर्षको देशव्यापी नेतृत्व गर्नेछ । मिटरब्याज, लघुवित्त र बैंकिङ शोषणका विरुद्ध जन प्रतिरोध संघर्षको देशव्यापी नेतृत्व गर्नेछ । दलाल, भ्रष्ट र तस्करहरुका अखडाहरुमा छापामार अप्रेसनको नेतृत्व गर्नेछ ।

विदेशी मदिरा, शृङ्गार र ५० लाखभन्दा माथिका यातायातका साधनहरुको आयातमा प्रतिबन्ध गर्ने लगायतका संघर्षको नेतृत्व गर्नेछ । सामूहिक कृषि प्रणाली र उत्पादनमा विशेष जोड सहित किसानहरूका लागि जमिन, बिज, मल, सिप, उपकरण र बजार सुनिश्चितता गर्ने संघर्षको नेतृत्व गर्नेछ । राष्ट्रिय तथा प्रगतिशील पुँजीपति वर्गको उद्योग, वाणिज्यको रक्षा र विकास गर्ने संघर्षलाई नेतृत्व प्रदान गर्नेछ । दलित, जनजाति, मधेसी, मुस्लिम, अन्य समुदाय र सम्पूर्ण उत्पीडित राष्ट्रहरुको मुक्तिको संघर्षलाई नेतृत्व प्रदान गर्नेछ । साम्राज्यवादी सेना फिर्ताको संघर्ष, गोर्खा भर्ती केन्द्र खारेजीको संघर्ष, राष्ट्रिय स्वाधीनताको संघर्षलाई नेतृत्व प्रदान गर्नेछ । स्वाधीनता, सर्वहारा अधिनायकवाद र समाजवाद स्थापनाको लागि राष्ट्रिय मुक्ति क्रान्ति र छापामार संघर्षको नेतृत्व गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस