देउवा सरकारको सिफारिश अनुमोदन नगर्नु असंवैधानिक

आइतबार, १३ फागुन २०७४, १७ : ४१
देउवा सरकारको सिफारिश अनुमोदन नगर्नु असंवैधानिक

बैतडी । नेपाली काँग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधिले देउवा सरकारले मनोनित गरेका राष्ट्रियसभा सदस्यलाई राष्ट्रपतिले अनुमोदन नगर्नु असंवैधानिक कदम भएको टिप्पणी गर्नुभएको छ ।

प्रेस युनियन बैतडीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी देउवा सरकारको भएकाले तीन जना सांसद मनोनित गर्ने जिम्मेवारी पनि सोही सरकारको मात्र भएको जिकिर गर्नुभयो ।

काँगे्रसकै नेतृत्वमा शान्ति सम्झौता, संविधान जारी र तीनवटै तहको निर्वाचन सम्पन्न हुनु देश संघीयतामा जानु महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै उहाँले भन्नुभयोे, “पार्टीले घाटा व्यहोरे पनि प्राप्त उपलब्धि संस्थागत गर्न सफल भएको छ ।”

समानुपातिकतर्फको मतपरिणामअनुसार काँग्रेस सम्मानजनक स्थानमा आए पनि प्रत्यक्षमा हार व्यहोर्नु निर्वाचनमा समय दिन नसक्नु रहेको उल्लेख गर्दै नेता निधिले पार्टीले स्थानीय तहदेखि नै समीक्षा गर्न थालेको जानकारी दिनुभयो ।

काँग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाको बिकल्प नभएको उहाँको भनाइ थियो ।  रासस

प्रतिक्रिया दिनुहोस