कविता : मर्छस् बिनाओखती

मंगलबार, २० जेठ २०७७, ११ : ५७
कविता : मर्छस् बिनाओखती

साङ्केतिक फोटो


- प्रकाश चापागाईं

मैले सुन्दर फूल भित्र गहिरो सौन्दर्य खोज्दै थिएँ
नेपाली शिरमा तथा वदनमा सृङ्गार पोत्दै थिएँ
चाँदी टल्टल टल्किएसरि सधैँ यी वृक्ष बुट्यानमा  
देखी भावविभोर भै प्रकृतिमा नाच्दै थियो यो मन

पानी कल्कल नित्य बग्दछ यहाँ पग्लेर धौलागिरि
सेतो वस्त्र सजाउँदै सडकमा नाची हिँडे झैँ परी
यो सम्मोहित दृस्य मिल्दछ कहाँ खै मोहिनी छिन् कहाँ
छैनन् अन्त कतै कुनै मुलुकमा मात्रै छ नेपालमा

देखी सुन्दरता मनोरम छटा रे रे छिमेकी यता
गिद्धे दृष्टि लगाउँदै दिनदिनै लुट्दैछ यो अस्मिता
छोटे भाइ भनेर हेप्दछ सधैँ औकात आफ्नो भुली
छोटो गर्दछ दम्भ बुझ्छ कहिले बुझ्दैन आँखा खुली

कैले लुट्दछ पूर्वको जमिन यो कैले उता पश्चिम
लुट्ने दाउ ढुकेर बस्दछ सधैँ कैले यता दक्षिण
बुन्दै जाल अनेक नाटक गरी यो देश निल्ने सुर
काढ्दै (याल चुहाउँदै मुख मिठो पार्दैछ भस्मासुर

हामी हौँ बलभद्रका रगतका सन्तानका धुक्धुकी
हामी बीर पराक्रमी अमरका हौँ वीजका सन्तति
आफ्नो देश दुख्यो भने रगतको खोलो बगाइदिने
जाओस् प्राण प्रवाह कत्ति नगरीआगो बनी दन्किने

तेरा सैनिक सिंहका अघि परे खोज्दै दुला पस्दछन्
गोर्खा सैनिक उल्टिदै समरमा मोर्चा कसी बस्दछन्
उम्रन्छन् जब प्वाँख मर्न कमिला थाल्छन भरे त्यै  गति
गिन्तीका दिन थालिए अब छिटै मर्छस् बिनाओखती ।

प्रतिक्रिया दिनुहोस