काठमाडौं । सरकारले आगामी पाँच वर्षभित्र २५ लाखभन्दा बढी विदेशी पर्यटकको नेपाल भ्रमण गराउने लक्ष्य लिएको छ । अर्थमन्त्री डा युवराज खतिवटाले आज संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण २०७६÷७७ मा सन् २०२५ सम्म २५ लाख विदेशी पर्यटक भित्र्याएर आठ लाख ९८ हजार रोजगारीको सिर्जना गर्ने लक्ष्य लिएको हो ।
सन् २०२० लाख नेपाल भ्रमण वर्षको घोषणा गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेकामा कोभिड–१९ को महामारीको कारण भ्रमण वर्ष स्थगन भइसकेको छ । नेपालका प्राकृतिक, सांस्कृतिक, जैविक एवं मानव निर्मित सम्पदाहरुको संरक्षण तथा प्रवद्र्धन गर्दै नेपाललाई विश्व मानचित्रमा आकर्षक, रमणीय र सुरक्षित गन्तव्यस्थलको रुपमा विकास गर्ने दीर्घकालीन दृष्टिकोण लिई पर्यटकको सङ्ख्या बढाउने लक्ष्य लिइएको हो ।
अद्वितीय प्राकृतिक एवं समृद्ध सांस्कृतिक सम्पदाको कारण नेपालको तुलनात्मक लाभको क्षेत्रको रुपमा पर्यटन रहेको छ । कोभिडबाट नराम्ररी असर परेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन आन्तरिक पर्यटन प्रवद्र्धन गरी अन्तरराष्ट्रिय पर्यटक ल्याउने आधार तयार गर्नुपर्ने अपरिहार्य रहेको व्यवसायी बताउँछन् ।
सन् २०१९ मा ११ लाख ९१ हजार १९१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०१८ मा ११ लाख ७३ हजार पर्यटन आएका थिए । सन् २०१७ मा १० लाख हाराहारी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । विगत १० वर्षको अवधिमा आव २०७२÷७३ मा नेपालमा पर्यटन आगमनमा केही कमी आएको थियो । पछिल्लो समय पर्यटन आगमनको सङ्ख्या बढ्दो दरमा रहेको छ । आव २०७५ पुसदेखि २०७६ पुससम्मको अवधिमा प्रति पर्यटकको सरदर बसाई अवधि १३ दिन रहेको छ ।
सन् २०१९ मा कूल पर्यटक आगमनको सङ्ख्या देशगत रुपमा सबैभन्दा बढी पर्यटक आउने पाँच मुलुकहरुमा क्रमशः भारत २१.२ प्रतिशत, चीन १४.२ प्रतिशत, अमेरिका ७.८ प्रतिशत, बेलायत ५.१ प्रतिशत र श्रीलङ्काको ४.७ प्रतिशत रहेका छन् । यी देशहरुबाट आएका पर्यटकको सङ्ख्या कूल पर्यटक आगमनको करिब ५३ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १३ जेठ २०७७, १८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरमा खसेका विदेशी पर्यटकको प्रहरीले गर्यो उद्धार
सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक
जुनमा भित्रिए ७६ हजारभन्दा बढी विदेशी पर्यटक, सबैभन्दा बढी भारतीय