मेरो नाम सोनिया खातुन (नाम परिवर्तन) हो । म २५ वर्षकी भएँ । मेरो घर रौतहट जिल्लाको इश्नाथ नगरपालिका वडा नम्बर ५ मा पर्छ । मेरो पाँचजना छोराछोरी छन् । जसमा चारजना छोरी एउटा छोरा रहेक छन् । छोरीहरु ७, ५, ४ र ३ वर्षका भए । छोरो १८ महिनाको भयो।
गत बैसाख २ गते मेरो श्रीमान भारतबाट आउनुभयो । उहाँ भारतमा ज्यालादारी मजदुरी गर्नुहुन्थ्यो । कोरोनाको डर भएपछि साहुले घर पठाईदियो । १४ दिन क्वारेन्टाइनमा राख्यो । क्वारेन्टाइनमा रहँदा हरेक साँझ र बिहान म खाना पुर्याउन जान्थे । उहाँ घर फर्केर आएपछि म धेरै खुशीभए, छर छिमेकमा भएको पसलेले भने सामान दिन पनि डराउँथे, कोरोन छ कि ? भन्ने उनीहरुको आशंका थियो । बैशाख २० गते महिना पुगेको पनि महिनावारी भएको थिएन। मलाई निकै डर लाग्यो । घरमा पहिले नै ५ जना सन्तान छन् । मलाई अरु सन्तान को इच्छा छैन। घरमा बुढी सासु ससुरा हुनुहुन्छ । हाम्रो ९ जनाको परिवारको खर्च धान्न हामीलाई निकै मुश्किल पर्छ। त्यसमाथि अर्को सन्तान भयो भने झन हालत कस्तो होला ?
अरु नमाज पढीरहँदा म भने अल्लाह मेरो गर्भ नरहोस् भनी प्रार्थना गर्थे। अल्लाहले मेरो प्रार्थना स्वीकार गर्नुभयो । बैशाख २५ गते मेरो महिनावारी भयो । मेरो यो कुरा मैले एकजना नर्स बहिनीसँग गरेकी थिएँ । उहाँले मलाई परिवार नियोजनको अस्थायी साधनका बारेमा भन्नुभयो। हाम्रो इस्लाम धर्ममा कपर टी प्रयोग गर्न हुन्न भनेको सुनेको छु । परिवार नियोजनका साधनहरु प्रयोग गर्न बर्जित किन हो ? मलाई यसबारे थाहा छैन । मेरो श्रीमान पनि त्यस्ता साधन प्रयोग गर्नुहुन्न । त्यसै कारणले २५ वर्षको उमेरमा पाँच सन्तानको आमा भइसकेको छु । अब म कुनै पनि हालतमा अर्को बच्चा जन्माउन र हुर्काउने सोचमा छैन तर मलाई थाहा छ मैले सोचेको जस्तो हुनेछैन ।
त्यसैले मैले हिम्मत लिएर ती चिनजानकी नर्सको सल्लाहमा इम्प्लान्ट भन्ने पाँचवर्ष काम गर्ने साधन लगाउने आँट गरेर नजिकैको लक्ष्मीपुर हेल्थ पोस्टमा गएँ । बाटोभरी अल्लाहले मेरो पुकार सुन्नुभयो, भरेदेखि त म निर्धक्क भएर बस्छु, गर्भ रहला भन्ने त्रासमा बाँच्नु पर्दैन भनेर म निकै प्रफुल्लित भएर हेल्थ पोस्ट पुगे।
त्यहाँ पुग्दा स्थिति भने अर्कै रहेछ । सेतो रेनकोट जस्तो लुगा लगाएको स्वास्थ्यकर्मीलाई इम्प्लान्ट लगाइ दिन आग्रह गरेँ तर उहाँले गाली गर्नुभयो। यस्तो कोरोनाको बिगबिगी भएको बेलामा किन हेल्थ पोस्ट अकोरु कोरोना गएपछि आउनु भनेर मलाई फर्काउनुभयो । म निराश भएर फर्किएँ।
अर्कोदिन ती नर्ससँग भेट भएको बेला आफ्नो कुरा भने । उहाँले हेल्थपोस्टको इन्चार्जलाई फोन गरिदिनुु भयो तर उल्टो इन्चार्जले उहाँलाई ।गाली गर्नुभएछ । यस्तो बेला परिवार नियोजनको लागि मान्छे पठाउने हो ? भनेर झर्कनु भएछ । गाउँको स्वयम् सेविका दिदीलाई भेट्न ती नर्स बहिनीले सल्लाह दिनुभयो, उहासँग गर्भ नरहने चक्की छ कि भनेर। भेट्न पनि गएँ । आजकल स्वास्थ्य संस्थालाई नै पुग्दैन भन्नुभयो । उहाँले पिल्स छैन, केही कन्डोम लानुस् भन्नु भयो। तर मलाई कन्डोम काम छैन, किनकी त्यो प्रयोग गर्न मेरो श्रीमान मान्नु हुन्न।
कोरोना आउँदा गर्भ रहँदैन र ? यो कुरा मैले बुझ्न सकेको छैन । कोरोनाकै कारणले मेरो मात्रै गाउँमा ७ जना मर्दहरु घर फर्किएका छन । अंशु, मेरो साथी पनि बच्चा हुने डरमा छिन् । बुढाँसँग जहिले झगडा हुन्छ भन्थिन् । म त छोरा पाउँदा झन्डै मरिन, शरीरमा खून निकै कम भएको थियो। अस्ति चैतमा पनि खून कम भएर निकै बिरामी भएँ।
अरुलाई त बाहिर हिँड्दा मात्र डर छ कोरोरना लाग्ला भनेर, मलाई चाँहि घरभित्रै बस्दा पनि त्यो भन्दा ठूलो डर छ गर्भवती हुन्छु कि ? भनेर । अब गर्भ रह्यो भने त खून बगेर म मर्छु होला भन्ने डर लाग्छ । श्रीमानसँग सधैभर झगडा गर्न पनि सकिँदैन । म निकै पीडामा छु ।
प्रतिक्रिया दिनुहोस