- चन्द्र गुरुङ
आतङ्कको एउटा डल्लो घाम
शिरहरूमाथि चर्को चर्किन्छ
गल्लीतिर हिंस्रक आकृतिहरू हिँड्छन्
निर्विरोध चलखेलका छाया सल्बलाउँछन्
कानहरूमा कर्कश भुकाई ठोक्किइरहन्छ
ओइलाउँछन् नयाँ बिहानको स्वागतमा
फुलेका कलिला कोपिलाहरू ।
निर्लज्जहरूको बेखौफ जात्रा छ
दिलदिमागमा त्रासका किटाणु उड्छन्
रुखहरूमा चराचुरुङ्गीको चिरबिर बिथोलिन्छ
घरआँगनमा खेलिरहेका बच्चाहरू तर्सिन्छन्
तीखा तीखा दाँतहरूले टोकिरहन्छन्
चम्काउँदै रौद्र आँखाहरू, लुछाचुँडी गरिरहन्छन्
चपाइरहन्छन् परेवाका पखेटाहरू ।
यस कुरुप समयमा
देखिन्छ भित्तामाथिको थोत्रो मानचित्रमा
झुन्डिएको छ हड्डीको टुक्रो ।
प्रतिक्रिया दिनुहोस